close

युट्युबलाई पछि पार्ने टिकटकको दाउ, अब ल्यान्डस्केप मोडमा पनि भिडिओ हेर्न मिल्ने

टेकपाना टेकपाना

पुस ३०, २०७९ १३:२२

युट्युबलाई पछि पार्ने टिकटकको दाउ, अब ल्यान्डस्केप मोडमा पनि भिडिओ हेर्न मिल्ने

काठमाडौं । छोटो भिडिओ स्ट्रिमिङ प्लेटफर्मको रूपमा स्थापित टिकटकले फुलस्क्रिन ल्यान्डस्केप भिडिओ फिचर सार्वजनिक गरेको छ । यसअघि परीक्षणको रूपमा ल्याइएको यो फिचर अहिले प्रयोगकर्ताको 'फर योर पेज'मा देखिन थालेको हो ।

गत वर्ष मात्र मासिक एक अर्ब सक्रिय प्रयोगकर्ताको आँकडा पार गरेको टिकटकले नयाँ फिचर बारे प्रष्ट जानकारी दिँदै आएको छ । फेसबुकका लागि सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिएको टिकटक अहिले युट्युबलाई पछि पार्ने दाउमा छ ।

जसअनुरूप कम्पनीले प्रयोगकर्तालाई होरिजेन्टल अर्थात स्क्रिन रोटेट गरेर भिडिओ हेर्न सकिने सुविधा ल्याएको हो । यसको माध्यमबाट प्रयोगकर्ताले लामो भिडिओ तेर्सो बनाएर हेर्न सक्छन् ।

 

होरिजरेन्टल मोडमा कसरी हेर्ने टिकटक भिडिओ ?

टिकटकमा सबै भिडिओ होरिजेन्टल मोड अथवा तेर्सो बनाएर हेर्न सकिन्छ भन्ने छैन । टिकटकमा अधिकांश भिडिओ भर्टिकल अर्थात ठाडो क्रममा राखिएका हुन्छन् ।

यस्ता भिडिओ तेर्सो मोडमा हेर्न सकिँदैन । तर, जुन भिडिओ १६:९ अनुपातमा अपलोड गरिएका हुन्छन्, त्यस्ता भिडिओ भने होरिजेन्टल मोड अर्थात् तेर्सोमा हेर्न सकिन्छ ।

होरिजेन्टल मोडमा हेर्न सकिने भिडिओको तल 'फुल स्क्रिन'को अप्सन देख्न सकिन्छ । उक्त अप्सनमा ट्याप गर्दा भिडिओ तेर्सो मोडमा देखिन थाल्छ ।

क्रियटरले आफ्नो भिडिओ होरिजेन्टल रेसियोका लागि तयार पारेको हुनुपर्छ । त्यस्ता भिडिओ मात्र तेर्सो पारेर हेर्न सकिने कम्पनीको भनाई छ ।

क्रियटरले होरिजेन्टल रेसियोका लागि तयार पारेका भिडिओ राख्नुअघि त्यसमा 'टर्न योर फोन' भन्ने मेसेज राखेर पनि अडियन्सलाई जानकारी दिन सक्छन् । जसले गर्दा अडियन्सलाई उक्त भिडिओ ल्यान्डस्केप मोडमा हेर्न सकिने जानकारी होस् ।

युट्युबको फर्म्याटमा बानी परेका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न कम्पनीले यो फिचर ल्याएको कतिपयको विश्लेषण छ । पछिल्ला रिपोर्ट अनुसार अधिकांश किशोरकिशोरी अहिले युट्युबभन्दा टिकटकमा बढी सक्रिय छन् ।

छोटा भिडिओ अपलोड गर्ने प्लेटफर्मका रूपमा चर्चा पाएको टिकटकले पछिल्लो समय करिब १० मिनेटसम्मका भिडिओ अपलोड गर्ने फिचर ल्याएको छ । 

पछिल्लो अध्यावधिक: पुस ३०, २०७९ १३:२२