close

स्मार्ट टेलिकमले दिएन लाइसेन्स नवीकरणको निवेदन, थपियो ३ अर्ब जरिवाना

टेकपाना टेकपाना

माघ १, २०७९ १७:३९

स्मार्ट टेलिकमले दिएन लाइसेन्स नवीकरणको निवेदन, थपियो ३ अर्ब जरिवाना

काठमाडौं । देशकाे तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स नवीकरणका लागि निर्धारित समयसीमा भित्र आवेदन नदिएको पाइएको छ । आउँदो चैत मसान्तमा लाइसेन्सको म्याद सकिने अवस्थामा रहेको कम्पनीले तीन महिना अगावै अर्थात् पुस मसान्तभित्र नियामक समक्ष नवीकरणको निवेदन दिनुपर्ने थियो ।

स्मार्ट टेलिकमबाट शुक्रबारसम्म लाइसेन्स नवीकरणका लागि आवेदन प्राप्त नभएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले जानकारी दिए । लाइसेन्स जोगाउन स्मार्टले फागुन मसान्तअघि नवीकरण दस्तुर र बक्यौता भुक्तानी गरी प्राधिकरण समक्ष नवीकरणका लागि निवेदन दिनुपर्ने थियो ।

तर कम्पनीबाट नवीकरण गराउने भन्दै जानकारी मात्रै दिएको छ । यद्यपि कम्पनीसँग अब अन्तिम मौका भने बाँकी छ ।

“यद्यपि स्मार्ट टेलिकमले अझै पनि जरिवाना सहित आफ्नो लाइसेन्स नवीकरणका लागि निवेदन दिन सक्छ,” ती अधिकारीले भने, “तर त्यसका लागि नवीकरणको २० अर्ब रुपैयाँ र त्यसको १५ प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ जरिवाना बुझाउनु पर्ने हुन्छ ।”

नवीकरण दस्तुर, जरिवाना र बक्यौता रकम भुक्तानीसँगै नवीकरणको आवेदन नदिएको खण्डमा आउँदो चैत मसान्तपछि कम्पनीको लाइसेन्स स्वतः खारेज हुनेछ । 

अहिलेसम्म स्मार्ट टेलिकमले किस्ता स्वरूप बुझाउनुपर्ने कूल २० अर्ब नवीकरण दस्तुरमध्ये करिब एक अर्ब रुपैयाँ मात्र चुक्ता गरेको छ । यस हिसाबले स्मार्ट टेलिकमलाई लाइसेन्स नवीकरणका लागि १९ अर्ब भुक्तानी गर्नुपर्ने थियो ।

तर निर्धारित अवधिमा नवीकरण दस्तुर तिर्न नसक्दा अब चैतसम्ममा थप करिब तीन अर्ब रुपैयाँसहित निवेदन दिनुपर्ने हुन्छ । त्यो मौका समेत गुमाएको खण्डमा स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण हुन नसकेर स्वतः खारेज हुनेछ ।

नवीकरण दस्तुरबाहेक स्मार्ट टेलिकमले फ्रिक्वेन्सी, ग्रामीण दूरसञ्चार विकास कोष, रोयल्टी र जरिवाना गरी थप करिब पाँच अर्ब रुपैयाँ बक्यौता समेत बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ १, २०७९ १७:३९