close

विवाद बढेपछि तालिवान नेताको ट्वीटर अकाउन्टबाट ब्लु टिक गायब

टेकपाना टेकपाना

माघ ४, २०७९ २०:२

विवाद बढेपछि तालिवान नेताको ट्वीटर अकाउन्टबाट ब्लु टिक गायब

काठमाडौं । तालिवान नेताहरूले खरिद गरेको ट्वीटर ब्लु टिक एकाएक गायब भएको छ । सामाजिक सञ्जालमा चर्को विवाद भएपछि ट्वीटरले तालिवान नेताहरूको अकाउन्टबाट ब्लु टिक हटाएको आशंका गरिएको छ ।

यसअघि आधिकारिक व्यक्ति वा संस्थालाई मात्र निःशुल्क ब्लु टिक उपलब्ध हुँदै आएको थियो । ट्वीटरको नेतृत्व एलन मस्कले लिएसँगै जाेसुकैले पैसा तिरेर भेरिफाइड ब्याज खरिद गर्नसक्ने व्यवस्था ल्याए ।

यसअन्तर्गत आईफोन प्रयोगकर्ताले मासिक ११ डलर र एन्ड्रोइड तथा वेब भर्सन प्रयोगकर्ताले मासिक ८ डलर तिरेर उक्त ब्लु टिक खरिद गर्न मिल्छ ।

यही फिचरको भरपुर फाइदा तालिवान नेताहरूले उठाइरहेकाे खबर बीबीसीले प्रकाशित गरेकाे थियाे । तालिवानले ट्वीटर भेरिफिकेसन ब्याज लिएकाे खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा ट्वीटर नीतिबारे थुप्रै आलोचना हुन थाल्यो ।

बीबीसीले अफगानिस्तानका कम्तीमा दुई तालिवान अधिकारी र चार प्रमुख समर्थकले चेकमार्क प्रयोग गरेको उल्लेख गरेको थियो ।

यसअन्तर्गत तालिवानका सूचना विभागका हेदायतुल्लाह हेदायत र अब्दुल हक हम्मादले ब्लु टिक पाएकाे बीबीसीले जनायाे । उनीहरूले ब्लु टिक खरिद गरेको विषय बाहिरिएसँगै मंगलबार अकाउन्टबाट ब्लु टिक हटेको छ । 

बीबीसीका अनुसार तालिवानले मानव अधिकार उल्लङ्घन गरेको र आतङ्कवादी सङ्गठनसँग सम्बन्धित भएको भन्दै त्यसको विरोधमा प्रयोगकर्ताले आक्रोश पोखेका थिए ।

तालिवान नेताहरूकाे ट्वीटर ह्यान्डलबाट ब्लु टिक हटेपनि यसबारे ट्वीटरले कुनै जानकारी भने दिएकाे छैन । 

तालिवानले लामो समयदेखि आफ्ना गतिविधिबारे जानकारी दिन ट्वीटर प्रयोग गरिरहेका छन् । तर, कम्पनीले उनीहरूलाई ब्लु टिक उपलब्ध गराएको थिएन ।

ट्वीटरले आफ्नो नयाँ नीतिअन्तर्गत कम्पनीहरूलाई गोल्डेन टिक, सरकारी संस्था वा व्यक्तिलाई ग्रे टिक र सेलिब्रेटी तथा सर्वसाधारणलाई ब्लु टिक उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ २०:२