close

के हुन्छ कम्प्युटरभित्र ?

टेकपाना टेकपाना

माघ २०, २०७९ १७:२५

काठमाडौँ । पर्सनल कम्प्युटर (पीसी) हामी धेरैले प्रयोग गरेका हुन सक्छौँ । सबै पीसी बाहिरबाट हेर्दा उस्तै देखिन्छन् । तर त्यस्तो हुँदैन । पीसीभित्र बजेट अनुसारका कम्पोनेन्ट राखिएका हुन्छन्, जसको क्षमता पीसीको बाहिरी आवरण हेरेर थाहा पाउन सकिँदैन ।

नेपालमा ८-१० हजारदेखि ९-१० लाख रुपैयाँसम्मको पीसी निर्माण गर्न सकिन्छ । तीनमा क्षमता फरक-फरक भएपनि कम्पोनोट भने उस्तै हुन्छ । तर ती कम्पोनेन्टहरू पनि बजेट अनुसार फरक-फरक क्षमताका हुने गर्छन् ।

कम्प्युटरको सबैभन्दा महत्त्वपूर्ण कम्पोनेन्ट सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) हो । यसलाई  हामी प्रोसेसर भनेर पनि चिन्छौँ । प्रोसेसर चयन गर्दा आफ्नो कामलाई हेर्नुपर्ने हुन्छ । पीडीएफ तयार पार्ने, ईमेल पठाउने, डक्स फाइल तयार गर्ने अथवा ब्राउजिङको काम गर्ने जस्ता सामान्य काम गर्ने हो भने सामान्य प्रोसेसर प्रयोग गर्न सकिन्छ ।

बजारमा पाइने साधारण प्रोसेसरहरू इन्टेलको आई थ्री, एमाडिमा राइजन थ्री आदि हुन् । आजभोलि यीभन्दा पुराना प्रोसेसरसमेत ग्रे मार्केटमा पाइन्छ । जस्तो; इन्टेलको कोरटुडुओ, पेन्टिएम आदि । तर यी आउटडेडेट भइसकेका प्रोसेसर हुन् ।

सीपीयूपछि मदरबोर्ड महत्त्वपूर्ण कम्पोनेन्ट हो । यसको काम भनेको पीसीमा भएका छ ओटा कम्पोनेन्टलाई संयोजन गर्ने र तीनमा सञ्चार गर्नु हाे । हामीले पीसी तयार गर्दा राम्रो र स्तरीय मदर बोर्ड जडान गरे भविष्यमा अपग्रेड गर्नसमेत धेरै सजिलो पुग्छ ।

पीसी तयार गर्दै स्तरीय मदर बोर्ड प्रयोग गर्यौं भने कम बजेटमा पनि अपग्रेड गर्न सकिन्छ । तेस्रो कम्पोनेन्ट र्‍याम र चौंथो कम्पोनेन्ट स्टोरेज (भण्डारण क्षमता) हुन् । धेरैलाई यी दुई कम्पोनेन्ट एउटै हुन् भन्ने लाग्न सक्छ । तर यी पूर्ण रूपमा भिन्न छन् ।

र्‍याम र स्टोरेजको आ-आफ्नै काम हुन्छ । कम्प्युटरमा तत्काल गरिरहेको काम र्‍याममा भण्डार भएर बसेको हुन्छ । एकै समयमा धेरै सफ्टवेयर खोलेर काम गर्दा धेरै र्‍याम चाहिन्छ ।

त्यस्तै एकपटक एउटामात्र सफ्टवेयर चलाउँदा थोरै र्‍याम भए पुग्छ । आफ्नो आवश्यकता अथवा कामका आधारमा स्टोरेज राख्नुपर्ने हुन्छ । धेरै फाइल छन् भने धेरै स्टोरेज क्षमता भएको ड्राइभ लिनुपर्छ ।

पाँचौं कम्पोनेन्टको रुपमा पावर सप्लाई रहेको छ । यसलाई 'पीएसओ' भनेर पनि चिनिन्छ । पावर सप्लाईको काम भनेको कम्प्युटरका हरेक कम्पोनेन्टलाई  पावर दिने हो ।

पावर सप्लाई सिधै एसी करेन्टसँग जोडिएको हुन्छ । त्यसपछि मदरबोर्ड, प्रोसेसर, र्‍याम र स्टोरेजलाई कति पावर चाहिन्छ भन्ने कुरा निर्क्यौल गरी ती कम्पोनेन्टलाई पावर सप्लाई गर्छ ।

पावर सप्लाई पनि विभिन्न क्षमताको हुने गर्छ । जस्तो; २०० वाट,  ४०० वाट । त्यस्तै यसको गुणस्तर परीक्षण स्केल पनि हुने गर्छ, जसलाई एट्टी प्लस ब्रोन्ज, एट्टी प्लस गोल्ड, एट्टी प्लस प्लाटिनम भनिन्छ ।

यिनीहरुको आ-आफ्नै अर्थ हुने गर्छ । जस्तो: एट्टी प्लस गोल्ड र ब्रोन्ज भनेको कुनै पनि मसिन १०० प्रतिशत एफिसियन्ट हुँदैनन् । त्यस्तै एट्टी प्लस प्लाटिनमको अर्थ यो पावर सप्लाईले ८० प्रतिशत चैं ग्यारेन्टी काम गर्छ । तर बजेट पीसी बनाउँदा यी कुराले खासै फरक पार्दैन ।

छैटौं र अन्तिम कम्पोनेन्ट भनेको कम्प्युटर केस हो । यो विभिन्न आकारमा उपलब्ध हुने गर्छ । आवश्यकता अनुसार यसको आकार चयन गर्न सकिन्छ । तर कम्प्युटरको काम गर्ने क्षमतामा यसले खासै फरक पार्दैन ।

पीसी कहाँ, कस्तो ठाउँमा राख्ने त्यही अनुसार कम्प्युटर केस चयन गर्ने गरिन्छ । 

यी छ वटा कम्पोनेन्टहरु मिलेर पीसी तयार हुन्छ । तर यीसँगै अरु डिभाइस पनि आवश्यक पर्छन्, जस्तो; मोनिटर, किबोर्ड, माउस ।

मोनिटर आफ्नो आवश्यकता अनुसार लिन सकिन्छ । बजारमा १२, १४, १७, २२ लगायत विभिन्न आकारका मोनिटर पाइन्छ । अधिकांश बिक्रेताले पीसी किन्दा माउस र किबोर्ड नि:शुल्क दिने गर्छन् ।

तर ती मन परेनन् भने बजारमा उपलब्ध स्तरीय किबोर्ड र माउस किन्न सकिन्छ ।

(विगत छ वर्षदेखि पीसी तयार पार्दै पाएका अलिटेकका लक्ष्मण रावलसँगको कुराकानीमा आधारित)

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १७:५०