close

अब ट्वीटरमा पनि विज्ञापनबाट आम्दानी गर्न सक्ने

टेकपाना टेकपाना

माघ २२, २०७९ ८:२०

अब ट्वीटरमा पनि विज्ञापनबाट आम्दानी गर्न सक्ने

काठमाडौँ । ट्वीटरका क्रियटरले पनि अब आफ्ना ट्वीटमा देखिने विज्ञापनबाट आम्दानी गर्न सक्ने भएका छन् । कम्पनीका मालिक एलन मस्कले शुक्रबार एक ट्वीट गर्दै क्रियटरको ट्वीटर थ्रेडमा देखिने जतिपनि विज्ञापन हुन्छन् त्यसबाट क्रियटरले पनि आम्दानी गर्न सक्ने बताएका छन् ।

तर, ट्वीटरबाट यसरी आम्दानी गर्नका लागि ट्वीटर ब्लु सब्स्क्रिप्सन लिएको हुनुपर्नेछ । जसका लागि प्रयोगकर्ताले मासिक तिर्नुपर्ने हुन्छ ।

यो सेवा लागू गरेसँगै ट्वीटरले रिप्लाईको सेक्सनमा थप विज्ञापन समावेश गर्नेछ । र, क्रियटरले प्रयोगकर्तालाई आफ्ना ट्वीटमा जति समय सक्रिय बनाउन सक्यो त्यति नै बढी आम्दानी गर्न सक्ने बताइएको छ ।

ट्वीटर ब्लुको सब्स्क्रिप्सन खरिद गर्ने प्रयोगकर्ताले त्यसबाहेक थप प्रिमियम फिचर पनि प्रयोग गर्न सक्नेछन् । विशेषगरी ट्वीटर ह्यान्डलमा ब्लु टिक, ट्वीटर फिडमा कम विज्ञापन, रिप्लाईमा प्राथमिकता जस्ता विशेषता ट्वीटर ब्लुमा रहेका छन् ।

क्रियटरलाई आकर्षित गर्न कम्पनीले यस्तो रणनीति अपनाएको बताइएको छ । यसअघि पनि कम्पनीले क्रियटरको आम्दानीका लागि सुपर फलो, स्पेस जस्ता फिचरहरू ल्याइसकेको छ ।

तर, यसरी आम्दानी गर्न क्रियटरलाई उनीहरूका फलोअरले शुल्क बुझाउनुपर्ने हुन्छ । उदाहरणका लागि तपाईँ राम्रा ट्वीट लेख्नुहुन्छ । र, तपाईँका ट्वीट शुल्क तिरेर पढ्न चाहनेहरू छन् भने तपाईँका लागि ट्वीटरको उक्त फिचर उपयोगी हुन्छ । तर, मस्कले क्रिटयरलाई प्रत्यक्ष रूपमा विज्ञापनबाट आम्दानी गर्न सक्ने फिचरलाई जोड दिइरहेका छन् ।

युट्युबले भने आफ्ना क्रियटरका लागि सुरुवातबाट नै यो मोडल लागू गर्दै आईरहेको छ । युट्युबले क्रियटरलाई उनीहरूको कन्टेन्टमा देखिएको विज्ञापनबाट भएको आम्दानीको ५५ प्रतिशत रकम उपलब्ध गराउँछ । हालसालै युट्युबले युट्युब शर्टबाट पनि आम्दानी गर्न सकिने फिचर ल्याएको छ ।

यसैगरी मेटाले पनि विस्तारै यस्ता मोनिटाइजेसन मोडेलहरूलाई अगाडि बढाइरहेको छ । अहिलेको प्रख्यात छोटा भिडिओ शेयर गर्ने प्लेटफर्म टिकटकले पनि यसरी आम्दानी गर्न सकिने घोषणा गरेको छ । तर, टिकटकबाट त्यसरी आम्दानी गर्न प्रयोगकर्ताको अकाउन्टमा एक लाख बढी फलोअर हुनुपर्ने हुन्छ ।

मस्कले पछिल्लो समय आम्दानीको विषयलाई लिएर गरेको ट्वीटले विशेषगरी युट्युबसँग प्रतिस्पर्धा गर्न खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको तर्क छ ।

वास्तवमा यस्तो एड रेभेन्यु मोडेलमा ट्वीटर कसरी काम गर्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर अहिलेसम्म ट्वीटरमा क्रियटरले टिकेट (आफ्ना विशेष कन्टेन्ट देखाउन फलोअरलाई बिक्री गरिने टिकेट) बाट प्रत्यक्ष रूपमा आम्दानी गरिरहेका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ ८:२१