close

एलन मस्ककी आमा भन्छिन्ः मार्क जुकरबर्गसँगको कुस्ती रद्द गरिदिएँ

टेकपाना टेकपाना

असार १३, २०८० १०:५६

एलन मस्ककी आमा भन्छिन्ः मार्क जुकरबर्गसँगको कुस्ती रद्द गरिदिएँ

काठमाडौं । टेस्ला तथा ट्वीटरका मालिक एलन मस्ककी आमा मेइ मस्कले मार्क जुकरबर्गसँगको केज फाइट रद्द भएको बताएकी छिन् । 

शुक्रबार एक ट्वीट गर्दै मेइले उनीहरूबीच हुने भनिएको लडाई रद्द भइसकेको दाबी गरेकी हुन् । मार्क जुकरबर्गले मस्कसँग कहाँ लडाइँ गर्ने भनेर ठाउँ सोधेका थिए । जसको जवाफका रूपमा मस्कले भेगस अक्टागनको एड्रेस दिएका थिए । 

उक्त रिप्लाई रिट्वीट गर्दै मस्ककी आमाले बरु शब्दको लडाइँ लड, जो रमाइलो मान्छे छ उसैले जित्छ भनेकी थिइन् । 

त्यसलगत्तै फ्रुदि (froothie) का संस्थापक मारियो नवफलले मस्क र जुकरबर्गको लडाइँबारे गरेको ट्वीट शेयर गर्दै मस्ककी आमाले लेखिन, “अहिले लडाइँ रद्द भइसकेको छ । ठूलो राहत मिल्यो।” नवफल तिनै व्यक्ति हुन जसले मस्क र जुकरबर्गबीच मध्यस्थकर्ताको रूपमा काम गरिरहेका थिए ।

मेइले राखेको उक्त ट्वीटमा नट जेरेम पावेल (Not Joreme Powell -जोरेम पोवेलको आधिकारिक प्यारोडी ट्वीटर ह्यान्डल) ले हर्ट ईमोजी रिप्लाई दिएको थियो । उक्त रिप्लाई रिट्वीट गर्दै मेइ लेख्छिन्, “वास्तवमा, मैँले लडाइ रद्द गरेँ ।

अहिलेसम्म यसबारे मैले उनीहरूलाई भनेको छैन ।” मस्कले आफ्नी आमाले गरेको सो ट्वीटमा हाँसेको इमोजी रिप्लाई गरेका छन् । जसलाई केही विश्लेषकहरूले मस्कले लडाइँ रद्द भएको स्वीकारेको अनुमान लगाएका छन् । 

मस्ककी आमाले अन्य ट्वीट गर्दै उनीहरू बीचको लडाइँ प्रोत्साहन नगर्न अनुरोध समेत गरेकी छिन् । मस्क र जुकरबर्गले भने आधिकारिक रूपमा लडाइँ सुरु गरिहाल्ने वा रद्द भइहालेको जानकारी दिएका छैनन् । उनीहरूले यस्तो किन गरे भन्ने कुरा पनि बाहिरिएको छैन ।

पछिल्लो अध्यावधिक: असार १३, २०८० १०:५६