सूचना प्रविधि क्षेत्र जुन हिसाबले विकास भइरहेको छ, त्यस अनुरुप आम उपभोक्तालाई सन्तुष्ट पार्नेगरी सेवा प्रवाह गर्नु प्रदायकहरूका लागि चुनौतीको रूपमा रहेको छ । विशेषतः सेवा महँगो भयो, गुणस्तरहीन भयो, आम उपलब्धता छैन, जस्ता आम जनगुनासाहरू आइरहेका हुन्छन् ।
उपभोक्ताको चाहना अनुरूप गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाह गर्न सेवा प्रदायकलाई मेरो आग्रह छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को हकमा सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने कार्यका साथै सरकारले महत्त्व दिएर अगाडि बढाएको डिजिटल नेपालको अवधारणा पूरा गर्ने चुनौती पनि थपिएको छ ।
सूचना प्रविधि महामार्ग विस्तार गरी डिजिटल नेपालको परिकल्पना साकार पार्न ग्रामीण दुरसञ्चार विकास कोषको प्रयोग गरी नेपाल सरकारले प्रदेश एक, मधेस प्रदेश र बाग्मति प्रदेशका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) निर्माण गर्ने जिम्मा दिएको छ । तर कम्पनीले त्यसमा आफ्नो पूरा ध्यान दिने कुरामा चुकेको जस्तो लाग्छ । परियोजना निर्माणमा भइरहेको ढिलाइले यो कुराको पुष्टि गर्छ ।
यस कुरालाई गम्भीर ध्यान दिएर समयमा नै परियोजना सम्पन्न गर्न समेत नेपाल टेलिकमलाई अनुरोध गर्छु । नेपाल टेलिकमले यो परियोजनालाई तीन ओटा प्याकेजमा विभाजन गरेको छ । जस अन्तर्गत बागमती प्रदेशको काम अहिलेसम्म सुरु हुनै सकेको छैन । किन हुन सकेन ? दुई वर्षसम्ममा काम हुन सक्दैन ? ठेकेदारहरूलाई कारबाही गर्न किन सकिएन ? प्राधिकरणले म्याद थप गर्दिनँ भनेर लेखेर पठाएको छ । म्याद थप गर्नुपर्ने कारण के हो ? त्यसको जवाफ दिन टेलिकमले उचित ठानेको छैन । यसको जवाफ दिनु पर्छ कि पर्दैन ? के हामी दुई वर्षसम्म डिजिटल नेपालको अवधारणाको काम पूरा नगराइकन ठेकेदारलाई पैसा दिने हो ?
यसमा टेलिकमका कर्मचारीहरू गम्भीर हुन आवश्यक छ । सुदूरपश्चिमको परियोजना दिएका छौँ । प्रत्येक जिल्ला सदरमुकाममा फाइबरको सञ्जाल विस्तार गर्नुपर्ने छ । यतातर्फ कम्पनीको व्यवस्थापनलाई गम्भीर हुन आग्रह गर्छु ।
फोरजी नेटवर्क विस्तारको कार्ययोजना अनुसार नेपाल टेलिकमले ७३९ स्थानीय तहमा फोरजी सेवा पुगेको जनाएको छ । तर काठमाडौँको रिङ रोड भित्रका सबै ठाउँमा के फोरजी सेवा छ भनेर कम्पनीले भनिदिन सक्छ ? त्यहाँ केही वरपर मात्र गयो भने पनि फोरजीको साटो ‘ई’ (टुजी) देखाउँछ । हामी गुणस्तरीय सेवामा कता चुकिरहेका छौँ ? कम्पनीले वैज्ञानिक तरिकाले अध्ययन गर्नुपर्ने भएको छ । ‘यो क्षेत्रमा फोरजी भएन भन्ने गुनासो आयो भने यति दिन भित्र सुधार गर्छौँ’ भनेर कम्पनीले गर्वका साथ दाबी प्रस्तुत गरोस् । यो कार्य प्रमुख सहरमा गर्नुपर्ने हुन्छ, जुन अपरिहार्य पनि छ ।
फाइभजीका लागि नेपाल सरकारले निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको छ । त्यस्तै प्राधिकरणले पटक पटक सोधेको पनि छ । आज टेलिकमको वार्षिकोत्सवको अवसरमा फाइभजी उद्घाटन हुन्छ भन्ने आशामा थिएँ । आज भएको भए प्रयोगकर्ताले समेत फाइभजीको अनुभव गर्न पाउँथे । तर विभिन्न मिडिया हाउसहरूले परीक्षण मात्र हुने उल्लेख गरेका छन् । फाइभजी टेलिकमको प्राविधिक परीक्षणको विषय मात्र हो र ? फाइभजीका लागि उद्याेग तयार छ वा छैन ? हामी उपभोक्ताहरूले फाइभजी अनुभव कसरी गर्छौँ ? यता तिर गम्भीर हुन आवश्यक छ ।
पछिल्लो समय टेलिकमको नेटवर्कमा पटकपटक समस्या आइरहेको छ । यस संस्थाको प्रतिको आम जनविश्वासमा ह्रास आइरहेको छ । नियामक निकायको प्रमुखको रुपमा मैले पनि यो कुरा महसुस गरेको छु । विशेषत: भेन्डरसँग गरिने सम्झौताको प्रावधानहरू हेरेँ । जब टेलिकमको सेवा अवरुद्ध हुन्छ, टेलिकमको टिमसँग बसेर हेरेँ । ती सम्झौताका प्रावधानहरू टेलिकमले हेरेको छ ? नेपालमा टेलिकमको सेवा कति समय/दिन अवरुद्ध हुन पाउँछ ? त्यस्ता प्रावधानहरूमा तत्काल कम्पनीको ध्यानाकर्षण गराउन चाहन्छु ।
पछिल्लो पटकको सेवामा त अझ सेवा पूर्ण क्षमतामा सञ्चालन हुन कयौँ घण्टाको समय दिइएको छ । त्यस्ता कम्पनीलाई जिम्मेवार बनाउनु पर्ने होइन ? जसले सेवा दियो, उसलाई जरिवाना र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्छ कि पर्दैन ? त्यतातिर पनि कम्पनी चुकेको महसुस मैले गरेको छु ।
तसर्थ, उपभोक्ताको यो विश्वसनीयता, नियामक निकायले गरेको भरोसा, सरकारले टेलिकमलाई गरेको विश्वास कायम गर्न सके मात्र आगामी दिनमा संस्थाको भविष्य उज्ज्वल हुनेछ । नाफा वृद्धि गर्न सकिने पर्याप्त सम्भावना छन् । निर्वाध रुपमा यस्ता विषयमा व्यवस्थापनले ध्यान दिनुपर्ने जरुरी देखेको छु ।
पूर्वाधार सम्बन्धी कानून बमोजिम पूर्वाधारको सहप्रयोग गर्ने कार्यमा नेपाल दूरसञ्चार कम्पनीले ध्यान दिएको देखिँदैन । कम्पनीको आम्दानी भने घटिरहेको छ । नेटवर्क विस्तारको काम भइरहेको छ । ग्राहकहरू बढिरहेका छन् । डेटा प्रयोगकर्ता बढेकै छन् । खर्च गर्ने क्षमता पनि बढिरहेकै छ । प्रविधिमा हाम्रो निर्भर्ता बढेकै छ । तर आम्दानी भने घटिरहेको छ । यो खोजीको विषय हो । आम्दानीका अन्य स्रोत केके हुन सक्छन् ? खोज्न आवश्यक छ ।
सरकारले ब्याकबोन नेटवर्क टेलिकमलाई जिम्मा लगाएको छ । नेटवर्क बनाएर शेयर नगर्ने गरी जिम्मा लगाएको होइन । त्यो नेटवर्क शेयर गरेर आम्दानी बढाउन सकिन्छ । त्यस्तै सहरमा भएका अव्यवस्थित रुपमा रहेका तारहरू व्यवस्थित गरेर आम्दानीका नयाँ स्रोत सिर्जना गर्न सक्छ ।
विकसित दूरसञ्चार प्रविधिको प्रयोग तथा आफ्नो साधान स्रोत तथा जनशक्तिको अधिकतम प्रयोगबाट भोलिका दिनमा अन्य प्रतिस्पर्धी सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता नेपाल टेलिकमलाई छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो छवीलाई अझ उच्च राख्न नेपाल टेलिकमलाई प्रेरणा मिलोस् । नियामक निकाय टेलिकमको साथमा छ, त्यो पूर्वाधार विकासमा प्रयोग होस् । स्पेक्ट्रमका लागि होस् । किनकि टेलिकम अन्य प्रतिस्पर्धी भन्दा पूर्वाधारमा अगाडि छ । स्रोत साधन बढी छ । स्पेक्ट्रम बढी छ । तर आम्दानी मात्र घटी छ । टेलिकमले यी कुरामा ध्यान दिन आवश्यक छ ।
(नेपाल टेलिकमको १९ औं वार्षिक उत्सवको अवसरमा नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिएको मन्तव्यको अनुवादित अंश )