close

हाम्रो पात्रोको डिजिटल वालेट 'हाम्रो पे'

टेकपाना टेकपाना

फागुन ६, २०७९ १३:२०

काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले आफ्नो नयाँ डिजिटल वालेट 'हाम्रो पे' सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रो इंकले डिजिटल वालेट सार्वजनिक गरेको हो ।

यससँगै प्रयोगकर्ताले गुगल प्ले स्टोर र एप्पल आईओएस एपस्टोरबाट हाम्रोपात्रो एप अपडेट गरी त्यसैबाट हाम्रो पे प्रयोग गर्न सक्नेछन् । यसको छुट्टै मोबाइल एप भने हुने छैन । यसै वर्ष १२ वर्ष पूरा गरेको हाम्रोपात्रोका एक करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

हाम्रोपात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा हाम्रो पे ल्याइएको कम्पनीकी निर्देशक सुदिना गौतमले बताइन् ।

हाम्रो पेमा प्रयोगकर्ताले अन्य डिजिटल वालेटमा रहेका फिचरका साथै मौलिक फिचरसमेत रहेका छन्, जसमा कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउने खर्च ट्र्याक, मिलेर बिल तिर्ने (स्प्लिटएन्ड पे) लगायतका आकर्षक फिचर छन् ।

प्रयोगकर्ताको सहायताका लागि 'लाइभ च्याट' र स्थानीयसहित छ ओटा भाषामा यो एप प्रयोग गर्न सकिन्छ । हाम्रो पेलाई आगामी दिनमा हाम्रोपात्रोमा उपलब्ध हुने मिनी एपबाट खरिद गर्दासमेत प्रयोग गर्न सकिने बताइएकाे छ ।

साथै प्रयोगकर्ता र मर्चेन्टबीच सोझै च्याट गर्न मिल्ने फिचर, अफलाइन पेमेन्ट, कर्पोरेटका लागि तलब भुक्तानी, हाम्रोपात्रो रेमिटसँग आबद्ध गर्न योजनासमेत रहेको हाम्रो पेका सीईओ शिशिर पोखरेलले जानकारी दिए ।

हाम्रोपात्रोमा हाल हाम्रो ज्योतिष, टेलिहेल्थ (हाम्रोपात्रो हेल्थ), ईकमर्स (हाम्रो गिफ्ट), रेमिट्यान्स लगायतका सेवा उपलब्ध छन् ।

 

पछिल्लो अध्यावधिक: फागुन ६, २०७९ १३:२०