close

साइबर सुरक्षाका लागि अपनाउनुहोस् यस्ता बानी

टेकपाना टेकपाना

फागुन ७, २०७९ ८:५७

साइबर सुरक्षाका लागि अपनाउनुहोस् यस्ता बानी

काठमाडौं । अनलाइन माध्यमबाट हुने कुनै पनि प्रकारको आक्रमणलाई साइबर सुरक्षा भनेर बुझिन्छ । मानिसहरूको दैनिकी डिजिटल बन्दै जाँदा साइबर आक्रमणहरूको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ । 

हरेक पटक फरक-फरक रुपमा हुने साइबर आक्रमणबाट बच्ने पहिलो उपाय भनेको आफू सचेत हुनु हो । आफूले राम्रोसँग आफ्ना अनलाइन अकाउन्टहरू सुरक्षित राख्ने, आफ्नो डिभाइसहरूलाई सुरक्षित राख्ने र आफूले अनलाइनमा हेर्ने तथा प्राप्त गर्ने सामग्रीहरूमा ध्यान दिने हो भने पनि विभिन्न प्रकारका साइबर आक्रमणबाट जोगिन सकिन्छ । 

हालै नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि अपनाउनु पर्ने दश मुख्य असल बानीहरू अपनाउन आग्रह गर्दै एक सूचना जारी गरेको छ । 

उक्त सूचनामा उल्लेख भएका असल बानीहरू निम्न रहेका छन्:
१. आफ्नो उपकरणहरू जस्तै मोबाइल, ट्याब्लेट, ल्यापटप/डेस्कटप कम्प्युटरलाई सकेसम्म बेवारिसे नछोड्ने, छोड्नै परेमा लक गरेर राख्ने । 
२. बलियो पासवर्ड (अङ्क, अक्षर, चिन्ह सहितको १० अक्षरहरूभन्दा बढी भएको) राख्ने र पासवर्डलाई नियमित परिवर्तन गरिरहने । 
३. आफ्नो पासवर्ड, ओटीपी, पिन कोड कसैसँग शेयर नगर्ने । साथै पासवर्ड, ओटीपी, पिन कोडलाई सुरक्षित साथ राख्ने । 
४. आफ्नो खाता (ईमेल अकान्ट, सामाजिक सञ्जाल, फेसबुक, मोबाइल बैंकिङ एप आदि) हरूमा पासवर्डका अतिरिक्त कम्तिमा थप एउटा अथेन्टिकेसन गर्ने माध्यम जस्तै मोबाइल नम्बर, आफ्नो ईमेल, फिंगर प्रिन्ट जस्ता मल्टि-फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने । 
५. शंकास्पद लिङ्कहरूमा क्लिक नगर्ने । साथै असुरक्षित वेबसाइटहरूको भिजिट नगर्ने र फ्रिवेयर/पाइरेट गरिएको सामग्री/सफ्टवेयरहरू डाउनलोड तथा इन्स्टल नगर्ने ।
६. अपेरेटिङ सिस्टम/एप्लिकेसन सफ्टवेयर/एन्टिभाइरसहरूलाई नियमित अद्यावधिक गर्ने । साथै, आफ्नो उपकरणहरूलाई नियमित स्क्यान गर्ने । 
७. सार्वजनिक वाइफाइ तथा सार्वजनिक कम्प्युटरको प्रयोग गरी आर्थिक कारोबार नगर्ने 
८. आफ्ना महत्त्वपूर्ण तथा संवेदनशील डेटाहरू नियमित रुपमा ब्याकअप गर्ने । 
९. वेवारिस रुपमा भेटिएका यूएसबी ड्राइभ/पेनड्राइभ आदिलाई स्क्यान नगरि आफ्नो कम्प्युटरमा प्रयोग नगर्ने । 
१०. आफ्नो पुरानो कम्प्युटर, मोबाइल, पेनड्राइभ आदिबाट आफ्नो डेटा मेटिएको सुनिश्चित गरेर मात्र डिस्पोज गर्ने ।  

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ ८:५७