close

स्टारलिंकलाई टक्कर दिन १३ हजार स्याटलाइट प्रक्षेपण गर्ने तयारीमा चीन

टेकपाना टेकपाना

फागुन १६, २०७९ १२:२६

स्टारलिंकलाई टक्कर दिन १३ हजार स्याटलाइट प्रक्षेपण गर्ने तयारीमा चीन

काठमाडौं । संसारभरका प्रयोगकर्तालाई इन्टरनेट सेवा प्रदान गर्न र एलन मस्कको स्टारलिंकलाई चुनौती दिन चीनले पृथ्वीको बाहिरी कक्षमा करिब १३ हजार भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । गोप्य रहेको यो परियोजनाको नाम अँग्रेजी शब्द ‘जीडब्लु’ (GW) रहेको बताइएको छ ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित लेखका अनुसार ई बेइजिङ स्थित पिपुल्स लिबरेसन आर्मी (पीएलए) स्पेस इन्जिनियरिङ युनिभर्सिटीका सहप्राध्यापक सु क्यानले नेतृत्व गरिरहेका छन् । यद्यपि ती अक्षरको पूरा रुप के छ भन्ने कुरा खुलाइएको छैन ।

उक्त जीडब्लु परियोजनामा चिनियाँ भूउपग्रह नेटवर्क कम्पनी ‘को’ अन्तर्गत रहेका १२ हजार ९९२ भूउपग्रहहरु समावेश गरिनेबारे सहप्राध्यापक सु र उनका सहकर्मीहरूले चिनियाँ जर्नल कमाण्ड कन्ट्रोल एण्ड सिमुलेसनमा उल्लेख गरेका छन्। 

त्यसै जर्नलमा उनले मस्कको कम्पनी स्टारलिंकले अन्तरिक्ष ट्राफिक सुरक्षा सम्बन्धी नियम तोडेको आरोप पनि लगाएका छन् । 

सो परियोजना अन्तर्गत रहने भूउपग्रहको प्रक्षेपण गर्ने मिति गोप्य राखिएको छ । तर सन् २०२७ सम्ममा स्टारलिंकसँग भएका भूउपग्रहहरुकै हाराहारीमा पुग्ने जनाइएको छ । 

त्यस्तै सहप्राध्यापक सुका समूहले आफ्नो भूउपग्रह स्टारलिंकको भन्दा कम समयमा प्रक्षेपण हुने दाबी गरेका छन् । यसरी चाँडै भूउपग्रह प्रक्षेपण गर्नुमा पृथ्वीको तल्लो कक्षमा चीनको उपस्थिति बढाउन र स्टारलिंकको एकलौटि कदम रोक्न रहेको जनाइएको छ । 

साथै उनको समूहले हालसम्म स्टारलिंक नपुगेको कक्षमा समेत आफ्नो भूउपग्रह पुर्याउने दाबी गरेका छन् । 

हाल स्टारलिंकले पृथ्वीको तल्लो कक्षमा तीन हजार बढी भूउपग्रह प्रक्षेपण गरिसकेको छ । त्यस्तै कम्पनीले ४० हजार बढी भूउपग्रह प्रक्षेपण गर्ने योजना राखेको छ । 

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ १२:२६