close

के हो मोबाइलको रिफ्रेश रेट ? यसको आवश्यकता किन पर्छ ?

टेकपाना टेकपाना

फागुन २६, २०७९ १८:४

के हो मोबाइलको रिफ्रेश रेट ? यसको आवश्यकता किन पर्छ ?

काठमाडौं । तपाईँ स्मार्टफोन प्रयोगतकर्ता हो भने पक्कै पनि 'रिफ्रेश रेट' भन्ने शब्द सुन्नुभएको होला । तपाईँले यो शब्दबारे खासै ध्यान नदिए पनि यसले फोनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

मोबाइल निर्माता कम्पनीले रिफ्रेश रेटलाई नै युनिक सेलिङ पोइन्ट बनाइरहेका हुन्छन् । आखिर रिफ्रेश रेट भनेको के हो ? डिभाइसमा रिफ्रेश रेट बढी हुँदा के फाइदा हुन्छ ? आज हामी यिनै विषयमा जानकारी दिँदैछौं ।

तपाईँले ख्याल नै गर्नुभएको होला केही फोन चलाउँदा स्क्रिनमा छोएजस्तो पनि लाग्दैन भने केही फोनमा जति टच गर्दा पनि स्क्रिनमा एउटा पेजबाट अर्को पेजमा जान समय लागिरहेको हुन्छ । 

त्यस्तै कतिपय मोबाइल प्रयोग गरिरहँदा फास्ट चलेको अनुभव हुन्छ भने हरेक पेज खुल्दा नयाँ पेज खुलेको थाहै हुँदैन । तर, केही फोन प्रयोग गरिरहँदा स्लो चलिरहेको अनुभव हुन्छ । स्क्रिनमा अर्को पेज देखिसकेको हुन्छ तर, पेज ढिलो लोड भइरहेको हुन्छ । 

त्यस्तै स्क्रिन स्वाइप गर्दा पनि पेज परिवर्तन भएको प्रस्ट थाहा हुन्छ । यो सबै रिफ्रेशरेटको काम हो ।

रिफ्रेश रेटको अर्थ तपाईँको फोनको डिस्पेले स्क्रिनमा प्रति सेकेन्ड कति ओटा इमेज अपडेट वा रिफ्रेश गर्छ भन्ने हो । 

उदाहरणका लागि कुनै डिभाइसमा ६० हर्ज रिफ्रेश रेट छ भने यसको अर्थ उक्त डिभाइसको स्क्रिनमा प्रति सेकेन्ड ६० पटक इमेज अपडेट भएको हुन्छ ।

फोनको स्क्रिनमा इमेज कति प्रस्ट देखिन्छ भन्ने कुरा पनि रिफ्रेशरेटमा निर्भर हुन्छ । जति धेरै रिफ्रेशरेट भयो फोन त्यति नै धेरै स्मुथ हुन्छ । रिफ्रेस रेटको महत्त्व फोनमा भिडिओ गेम खेल्नेहरूलाई बढी हुन्छ । रिफ्रेशरेट बढी भएको डिभाइसमा भिडिओ गेम खेल्दा वास्तविक गेम खेलिरहेको अनुभव हुन्छ । तर, त्यही गेम कम रिफ्रेशरेट भएको डिभाइसमा खेल्दा त्यही अनलाइन गेम कार्टुन जस्तो लाग्छ ।

रिफ्रेशरेटले छिटो मुभ हुने सिनको मोसन ब्लरलाई पनि प्रभावित पार्छ । जति धेरै रिफ्रेशरेट भयो इमेज त्यति नै प्रस्ट देखिन्छ र ब्लरको मात्रा कम हुन्छ । यो गेमिङमा महत्त्वपूर्ण हुनु अर्को कारण भनेको जति ढिलो इमेज रिफ्रेश भयो त्यसले त्यति नै धेरै ब्लरको मात्रा बढाउँछ । जसले गर्दा गेमिङ अनुभव खराब हुन्छ । 

तपाईँको डिभाइसले कति हर्ज रिफ्रेशरेट सपोर्ट गर्छ भन्ने कुरा फोनको हार्डवेयर र सफ्टवेयरमा निर्भर हुन्छ । विभिन्न आधुनिक डिभाइस जस्तै मनिटर, टेलिभिजन र स्मार्टफोनमा रिफ्रेशरेट तलमाथि गर्ने अप्सन हुन्छ । विन्डोज पीसीमा भने तपाईँ डिस्प्ले सेटिङमा गएर एड्भान्स डिस्प्ले सेटिङमार्फत रिफ्रेशरेट घटाउन वा बढाउन सक्नुहुन्छ ।

यसमा ध्यान दिनुपर्ने कुरा भनेको सबै अवस्थामा रिफ्रेश रेट महत्त्वपूर्ण हुँदैन । उदाहरणका लागि तपाईँ युट्युब भिडिओ हेर्दै हुनुहुन्छ भने त्यसमा प्रति सेकेन्ड २४ देखि ६० फ्रेममा कन्टेन्ट चलिरहेको हुन्छ । यसको अर्थ फोनमा १२० हर्ज रिफ्रेशरेट हुँदा पनि युट्युबको कन्टेन्ट त्यस्तै देखिन्छ जस्तो ६० हर्ज रिफ्रेश रेट देखिन्छ ।

समग्रमा भन्नुपर्दा रिफ्रेशरेट डिभाइसको डिस्प्लेका लागि महत्त्वपूर्ण पक्ष मानिन्छ । किनभने रिफ्रेशरेट बढी हुँदा डिभाइसमा स्तरीय इमेजको अनुभव पाउन सकिन्छ । उच्च रिफ्रेशरेट हुनुले डिभाइसमा गेमिङ वा फास्ट मुभिङ कन्टेन्टलाई बढी प्रस्ट र स्मुथ बनाउँछ ।

यसो त बजारमा २४० हर्ज रिफ्रेशरेट भएको डिभाइस आइसककेको छ । शार्प अक्वाओस जेरो टु (Sharp Aquos Zero 2) मा २४० हर्ज रिफ्रेशरेट पाउन सकिन्छ ।

रिफ्रेशरेट बढी भएको फोन खरिद गर्दा ब्याट्री बढी खपत हुन्छ । त्यसैले तपाईँले आफ्नो आवश्यकता अनुसार कत्तिको रिफ्रेशरेट आवश्यक पर्छ भन्ने यकिन गरेर खरिद गर्न सक्नुहुन्छ । आजका दिनमा सामान्यतः ९० हर्जको रिफ्रेशरेट हुनुलाई राम्रो मान्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १८:१०