close

के हो एफपीएस, अनि कसरी बन्छ ‘स्लोमो’ र ‘टाइम ल्याप्स’ भिडिओ ? यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

फागुन २८, २०७९ १६:१९

के हो एफपीएस, अनि कसरी बन्छ ‘स्लोमो’ र ‘टाइम ल्याप्स’ भिडिओ ? यसरी बुझ्नुहोस्

काठमाडौं । एफपीएस (FPS) अर्थात् फ्रेम पर सेकेन्डबारे बुझ्नु अगाडि भिडिओ कसरी बन्छ भन्नेबारे जान्न जरुरी छ । जब तस्वीरहरू एकपछि अर्को यति छिटो देखाइन्छ कि जहाँ आखाँले एकपटकमा हरेक चित्रमा ध्यान दिन सक्दैन ।

तर त्यो चित्र अर्थात् तस्वीर भने चलेको जस्तो देखिन्छ, त्यसैले त त्यसलाई चलचित्र भनिन्छ । यसरी एक सेकेन्डमा देखाइएका सम्पूर्ण तस्वीरको सङ्ख्यालाई नै फ्रेम पर सेकेन्ड अर्थात् एफपीएस भनिन्छ ।

एक सेकेन्डमा कति ओटा तस्वीर देखाउँदा भिडियो बन्छ त ? सन् १८८० को दशकतिर हेर्ने हो भने फोटोहरू रिलमा खिच्ने गरिन्थ्यो र त्यसरी खिचिएका चित्रहरूमा साउन्ड नआउने र भिडिओ मात्रै चल्ने गर्दथ्यो । त्यस समय उपलब्ध रहेको प्रविधिले एक सेकेन्डमा १६ ओटासम्म फ्रेम अर्थात चित्र खिच्न सक्थ्यो ।

हलमा देखाउँदा भने प्रति सेकेन्ड २२ देखि २६ एफपीएसमा हुने गर्दथ्यो । जसको नतिजा स्वरूप भिडिओहरू निकै छिटो चल्ने गर्दथे । भिडिओ छिटो भएकैले त्यो प्रविधि कमेडी भिडिओ बनाउनका लागि प्रयोग भयो ।

नेपालमा पनि कुनै कुरालाई हास्यास्पद तरिकाले देखाउनु परे अहिले पनि फास्ट-मोसन बनाएर देखाउने गरिन्छ । अनि मान्छेहरूलाई साउण्ड पनि चाहियो ।

तर त्यसबेला साउण्ड र भिडिओ भने दुई ओटा फरक उपकरण प्रयोग हुन्थ्यो । साउण्ड र भिडियोको स्पिड एउटै हुन आवश्यक थियो । किनभने फिल्म हेर्दा भिडिओ र साउण्ड एकैपटक आउनु पर्ने हुन्थ्यो ।

त्यसका लागि तत्कालीन इन्जिनियर वा प्राविधिकले ४६ एफपीएस सुझाएका थिए । तर रिलको प्रयोग हुने त्यो समयमा एक सेकेन्डमा ४६ ओटा रिलको फ्रेम प्रयोग गर्दा अलिकति महँगो पर्न जान्थ्यो ।

त्यसैले, यस्तो फ्रेम पर सेकेन्ड छानियो, जुन हेर्दा आँखालाई पनि सहजै होस् र रिल पनि धेरै नखाओस् । यसरी २४ एफपीएस (फ्रेम पर सेकेन्ड) एउटा स्ट्यान्डर्ड नै बन्यो ।

त्यही मापदण्डमा रहेर सबैले फिल्महरू खिच्न थाले र हलहरूमा पनि २४ एफपीएसमै चलचित्र प्रदर्शन सुरु भयो । यसरी सबै जनालाई २४ एफपीएस चलचित्र हेर्ने बानि भएपछि २४ फ्रेम पर सेकेन्डलाई सिनेम्याटिक लुक समेत भन्ने गरिन्छ ।

सुरुमा साइलेन्ट अर्थात् आवाज विहीन चलचित्रहरू १६ एफपीएसमा हेर्ने गरिन्थ्यो । त्यसपछि २४ एफपीएस हुँदै अहिले आएर केही फिल्म त्यसभन्दा धेरै एफपीएसमा खिचिएका छन् ।

उदाहरणको लागि ‘द होबिट’ ४८ एफपीएसमा खिचिएको छ भने ‘जेमिनी म्यान’ १२८ एफपीएसमा बनेको छ । भोलिका दिनमा कति एफपीएसलाई सिनेम्याटिक मान्ने भन्ने कुरा यकिन छैन । 

एफपीएसलाई अझ सजिलो गरी बुझ्न २४ एफपीएसको एउटा टाइमलाइन लिएर हेरौँ । जसमा एक सेकेन्डमा २४ ओटा फ्रेम प्ले हुन्छ । यसरी २४ फ्रेम पर सेकेन्डमा खिचेको फुटेज २४ फ्रेम पर सेकेन्डमै देखिन्छ भने त्यो समान्य मोसन वा चालमा देखिन्छ ।

तर अर्को फुटेज १२० फ्रेम पर सेकेन्डमा खिचिएको छ र त्यो फुटेजलाई तन्काएर १ सेकेन्डमा २४ वटा फ्रेममात्रै देखिने गरि चलाउने हो भने त्यो फुटेज स्लो मोसनमा देखिन्छ । अनि जति धेरै फ्रेम एक सेकेन्डमा खुम्च्याउन सकियो त्यति नै स्लो मोसन तयार हुन्छ ।

अर्को फुटेज १२ एफपीएसमा खिचेको छ र त्यो फुटेजलाई एक सेकेन्डमा २४ वटा फ्रेम देखिने गरि गतिमा चलाइयो भने त्यो फास्ट मोसन जस्तो देखिन्छ । टाइम ल्याप्स र हाइपर ल्याप्सको अवधारणा पनि यसैबाट आएको हो ।

एक सेकेन्डको फुटेजमा २४ ओटा फ्रेम हुन्छ भने २४ ओटा फ्रेम खिच्न हामीले २४ मिनेट लगायौँ भने त्यो २४ ओटा फ्रेमलाई एक सेकेन्डमा प्ले गर्दा २४ मिनेटको समय एक सेकेन्डमै बितेको जस्तो देखिन्छ । अब यसैगरी २४० फ्रेम २४० मिनेट लगाएर खिचेर त्यसलाई १० सेकेन्डमा देखाउन मिल्छ ।

पहिला यसैगरी हिसाब गरेर चलचित्रका विभिन्न फुटेजहरू खिच्ने गरिन्थ्यो । तर हालको अवस्थामा सबै सफ्टवेयरले नै हिसाब गरेर क्यामेरामा अटोमेटिक खिचिरहेको हुन्छ । उदाहरणका लागि बादलको फुटेज लिन सकिन्छ । 

बादल हेर्दा चलिरहेको जस्तो देखिँदैन । तर फास्ट मोसन अर्थात टाइम ल्याप्स प्रविधिमा भिडिओ खिच्ने हो भने त्यो बादल निकै नै छिट्टो हिँडेको जस्तो देखिन्छ । अब भने ६० एफपीएसमा भिडिओ खिचिएको छ र त्यसलाई सामान्य गतिमा देखाउनु पर्ने छ भने ६० एफपीएसमै भिडिओ प्ले गर्नुपर्ने हुन्छ ।

यस्तो प्रकारको भिडिओ स्पोर्ट्स, गेमिङ र डकुमेन्ट्री देखाउँदा काम लाग्छ । मोसनलाई नरम तरिकाले देखाउन यसले सहयोग गर्छ । तर आजकल १२० एफपीएसको भिडियो खिच्दापनि हामीले २४ एफपीएसकै टाइमलाइनमा राख्दा त्यो भिडिओ पनि सामान्य स्पिडमा देखाउन सकिन्छ ।

किनभने, सफ्टवेरले १२० लाई २४ ले भाग गर्दा ५ हुन आउँछ र प्रत्येक ५ औँ स्थानमा रहेको फ्रेमलाई देखाइन्छ । यसक्रममा अन्य फ्रेमलाई स्किप वा छोड्दै जान्छ । त्यसैले यस्तो भिडिओ फुटेज स्मुथ नदेखिन सक्छ ।

सामान्यतयाः कोही व्यक्ति बोलिरहेको छ भने त्यसको भिडिओको स्पिड स्लो गर्न आवश्यक गर्न हुँदैन । त्यस्तो भिडिओ सुरुमै २४ एफपीएसमा लिइएको हुन्छ ।

त्यसैगरी यदि कसैको भिडिओमा इमोसनको फुटेज लिनुपर्ने छ भने धेरै एफपीएसमा खिचिरहेको हुन्छ । यदि एउटा फुटेजलाई १२० एफपीएसमा खिच्ने हो भने त्यसलाई कतिसम्म स्लो गर्न सकिन्छ भनेर सजिलो हिसाब गर्न सकिन्छ ।

यदि तपाईँको टाइमलाइन २४ एफपीएसको रहेको छ र फुटेज १२० एफपीएसमा छ भने २४ लाई १२० ले भाग गरेर पुनः १०० ले गुणा गर्न सक्नुहुन्छ । यसरी हिसाब गरेर आएको नम्बर आफूले एडिट गर्ने सफ्टवेयरमा राखेर भिडिओ स्लो गर्न सकिन्छ ।

यदि त्यसलाई भन्दा स्लो भिडिओ फुटेज बनाइयो भने, भिडिओ अड्कने, ढिला चल्ने अथवा नचल्ने जस्तो समस्या आउन सक्छ । सफ्टवेयरको प्रयोग गरेर भिडिओलाई अझ स्लो पार्न त सकिन्छ, तर प्राकृतिक भने देखिँदैन । 

 

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ १६:१९