close

एसएलसीको रिजल्ट मोबाइलमै दिने स्प्यारो एसएमएस १४ औँ वर्षमा प्रवेश

टेकपाना टेकपाना

चैत ६, २०७९ १०:३९

एसएलसीको रिजल्ट मोबाइलमै दिने स्प्यारो एसएमएस १४ औँ वर्षमा प्रवेश

काठमाडौं । एसएलसीको रिजल्ट आएपछि आफ्नो नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका खरिद गर्नुपर्ने दिनहरू के तपाईँलाई याद छ ? तर आजको दिनमा यो अवस्था परिवर्तन भइसकेको छ । अब तपाईँले आफ्नो मोबाइलमा नै एसएमएसमार्फत घरमै बसेर आरामले आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ । 

यो कामको थालनी गर्ने संस्था हो, स्प्यारो एसएमएस । स्प्यारो एसएमएसले एसएमएसमार्फत रिजल्ट दिने लगायत हाल अन्य धेरै काम गरिरहेको छ । यही कम्पनीले आज आफ्नो १३ वर्ष पूरा गरेको छ । 

जानकी टेक्नोलोजी प्रालिद्वारा सन् २०१० मा स्थापना भएको स्प्यारो एसएमएसले "पावर अफ टेक्स्ट" नारासहित एसएमएस सेवा दिँदै आइरहेको छ ।

कम्पनीले हाल एकैपटक धेरै संख्याका एसएमएस पठाउने काम साथै राकुटेन भाइबरसँग साझेदारी गरेर नेपाली व्यवसायहरूलाई भाइबर बिजनेस मेसेजिङ प्लेटफर्म पनि उपलब्ध गराउँदै आएको छ । 

यसले गर्दा अन्य देशहरूमा व्यवसाय प्रवर्द्धन गर्न सहज हुने कम्पनीको भनाइ छ । कम्पनीले भ्वाइस ब्रोडकास्टिङ र मिसकल मार्केटिङ सेवा पनि प्रदान गर्दै आएको छ । यसका साथै कम्पनीले 'मेक इन नेपाल स्वदेशी' सँग पनि सहकार्य गर्दै आएको छ । 

आफ्नो सेवाका लागि विश्वस्तरीय सभर्रको प्रयोग गर्नुका साथै डेटा सुरक्षा र  गोपनीयतामा सधैं प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।  

१३औं वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले कम्पनीका ग्राहक तथा साझेदारप्रति कृतज्ञता व्यक्त गर्दै यो विगत १३ वर्षमा अविश्वसनीय यात्रा भएको र आफ्ना ग्राहक र साझेदारहरूको सहयोग बिना यो गर्न नसक्ने बताए । 

"हाम्रो लक्ष्य सधैं व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा उत्कृष्ट एसएमएस सेवाहरू उपलब्ध गराउनु रहेको छ, र हामी त्यो लक्ष्य हासिल गर्न सफल भएका छौँ भन्न पाउँदा गर्व महसुस भएको छ," उनले भने । 

कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न अफरहरू पनि ल्याएको छ । यस अफरअन्तर्गत प्रयोगकर्ताले १३०० रुपैयाँमा नै १३०० ओटा एसएमएस एकै पटक पठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ १३:२२