close

च्याटजीपीटीका संस्थापक साम अल्टम्यान, जसले ८ वर्षमै सिकेका थिए कोडिङ

टेकपाना टेकपाना

चैत ८, २०७९ १८:३७

काठमाडौं । सूचना प्रविधि क्षेत्रका लागि साम अल्टम्यान परिचित व्यक्ति हुन् । ३८ वर्षअघि अमेरिकाको सिकागो सहरमा जन्मिएका अल्टम्यान सानै उमेरमा विभिन्न भूमिकामा देखिए । अहिले उनी उद्यमी, लगानीकर्ता र प्राेग्रामरका रुपमा बढी चिनिन्छन् । अहिलेको चर्चित आर्टिफिसियल इन्टेलिजेन्स टुल (च्याटबट) च्याटजीपीटी अल्टम्यानकै नेतृत्वमा तयार भएको हो । 

पछिल्ला उपलब्धिले थप सफलता चिनाए पनि उनको विगत उस्तै रोचक छ । आठ वर्षकै उमेरमा उनकाे हातमा कम्प्युटर पर्‍याे । त्यतिबेला देखि नै काेडिङ सिक्न थाले । उनले त्यही समयदेखि वेब डिजाइनिङ लगायत अन्य परियोजनाका लागि उपयुक्त हुने प्रोग्रामिङ सिकेका थिए ।

१६ वर्षको हुँदा अल्टम्यान आफ्ना अभिभावकसँग अध्ययनको सिलसिलामा न्यू योर्क गए । गज्जबको संयोग त के छ भने त्यस समयमा जोन बुरोज स्कुलमा अध्ययनका क्रममा उनले त्यहीँ अध्ययन गर्ने ज्याक डोर्सीलाई भेटेका थिए । ​डोर्सी तिनै हुन्, जाे पछि सामाजिक सञ्जाल ट्वीटरको सह-संस्थापक बने ।

हाई स्कुलकाे पढाइ सकेपछि अल्टम्यान कम्प्युटर साइन्स अध्ययन गर्न स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भए । स्ट्यानफोर्डमा पढ्दा अल्टम्यानको रुचि उद्यमशीलतामा बढ्न थाल्यो । अनि आफ्नो रुचि अनुसार उनी विभिन्न परियोजनामा काम गर्न थाले ।

सबैभन्दा पहिले अल्टम्यानले लुप्ट (loopt) नामक सामाजिक सञ्जालमा काम गरेका थियो । लोकेसनमा आधारित यो सामाजिक सञ्जाल उनले आफ्ना साथीहरूसँग मिलेर सञ्चालन गरेका थिए ।

लुप्टमा पूरा समय काम गर्न उनले सन् २००५ मा स्ट्यानफोर्ड छोडे । वाई कम्बिनेटरबाट ६ हजार डलर लगानी पाएको स्टार्टअपमध्ये लुप्ट ​पनि एक थियाे । वाई कम्बिनेटर पल ग्राहमद्वारा सञ्चालित एक प्रतिष्ठित एक्सिलेरेटर कार्यक्रम थियो । जसले स्टार्टअप प्रवर्द्धन तथा विकास गर्न सहयोग गर्थ्यो । सन् २०१२ मा ग्रीन डट कर्पोरेसनले ४३.४ मिलियन डलरमा लुप्ट अधिग्रहण गर्‍यो ।

लुप्ट बिक्री गरिसकेपछि  अल्टम्यान एयरबीएनबी (Airbnb), स्ट्राइप (Stripe), रेडइट (Reddit), आसना (Asana), जेनपेरोल (ZenPayroll), इन्स्टाकार्ट (Instacart) लगायत थुप्रै स्टार्टअपका लागि एन्जलर इन्भेस्टर र सल्लाहकार बने ।

सन् २०१४ मा २८ वर्षीय अल्टम्यान पार्ट टाइम पार्टनरका रूपमा वाई कम्बिनेटरमा पनि सामेल भए । उक्त कम्पनीमा ग्राहमले पद त्याग गरेपछि सोही वर्ष अल्टम्यान वाई कम्बिनेटरको अध्यक्ष बने ।

यसरी विभिन्न कम्पनीमा काम गर्दै जाँदा उनी सम्पत्ति पनि जम्मा गर्दै गइरहेका थिए । जसको फलस्वरूप सन् २०१५ मा अल्टम्यान फोर्ब्सको  '३० अन्डर ३० लिस्ट' मा समावेश भए । त्यसबेला उनको उमेर जम्मा २९ वर्ष थियो ।

वाई कम्बिनेटरको अध्यक्षका रुपमा अल्टम्यानले आफ्नो पोर्टफोलियोलाई दुई हजारभन्दा बढी कम्पनीहरूमा विस्तार गर्न सफल भए । जसको संयुक्त मूल्य ३०० अर्ब डलर बढी थियो ।

उनको नेतृत्वमा वाई कम्बिनेटरमार्फत गएका केही उल्लेखनीय कम्पनीहरूमा ड्रपबक्स, एयरबीएनबी, कोइनबेस, ट्विच, डोरड्यास र च्याटजीपीटी समावेश छन् ।

सन् २०१५ मा अल्टम्यानले टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कसँग मिलेर ओपन एआईको विकास गरे । उनीहरूको मुख्य उद्देश्य भनेको त्यस्ताे आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी स्थापना गर्नु थियो, जुन नाफामा कम र मानवतामा बढी केन्द्रित होस् ।

त्यही समयमा पिटर थाइल, रिड होफम्यान, मार्क बेनिओफ र म्याक्स लेभचिन पनि ओपन एआईमा सहसंस्थापकका रूपमा जोडिएका थिए । त्यसपछि अल्टम्यान ओपन एआईमार्फत विभिन्न परियोजनामा अनुसन्धान गर्न थाले ।

ओपन एआईलाई बढी प्राथमिकता दिइरहेका अल्टम्यानले सन् २०१९ मा वाई कम्बिनेटरको अध्यक्षका रूपमा राजीनामा दिए । त्यसबेलासम्म पनि ओपन एआईलाई कसरी नाफामुखी कम्पनीका रूपमा अगाडि बढाउने भन्ने अल्टम्यानसँग कुनै योजना थिएन ।

सन् २०१९ मा अल्टम्यान आफैं कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भए । त्यसपछि कम्पनीलाई फाइदामा पुर्‍याउनेतर्फ केन्द्रित भए । उनले त्यही समयमा माइक्रोसफ्टका सीईओ सत्य नडेलासँग भेटघाट गरे र आफ्ना महत्त्वपूर्ण परियोजनाका बारेमा छलफल गरे ।

उनका परियोजनाबाट प्रभावित सत्यले माइक्रोसफ्टले एक अर्ब डलर लगानी गर्ने प्रतिबद्धता दिए र लगानी गरे ।

लगानी भित्र्याएपछि कम्पनी नेचुरल ल्याङ्गेज प्रोसेसिङमा केन्द्रित हुन थाल्यो । र, २१ अक्टोबर २०२१ मा अल्टम्यान र उनका अन्य सहसंस्थाक एलेक्स ब्लानिया र म्याक्स नोभेन्डेस्ट्रेनले वर्ल्ड क्वाइन नामक क्रिप्टोकरेन्सी परियोजना सार्वजनिक गरेका थिए ।

आफ्नो कार्यकालमा अल्टम्यानले ड्याली जस्तो महत्त्वपूर्ण परियोजना सार्वजनिक गरे । यो एउटा त्यस्तो प्लेटफर्म हो जसका माध्यमबाट शब्दकै भरमा आकर्षक तस्वीर तयार पार्न सकिन्छ ।

त्यसपछि आन्तरिक रूपमा अल्टम्यान महत्त्वपूर्ण परियोजना 'जीपीटी थ्री' मा केन्द्रित हुन थाले । उनीसँगै कम्पनीको सीटीओ मिरा मुराती, इल्या सट्सकेभर, ओपन एआईका अध्यक्ष ग्रेक ब्रोकम्यान, ओपन एआईका सीओओ ब्राड लाइटक्याप संलग्न थिए ।

आन्तरिक रूपमा विभिन्न परीक्षण गरेर सन् २०२२ नोभेम्बर ३० मा च्याटजीपीटी सार्वजनिक भयो ।

च्याटजीपीटी एउटा नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ सिस्टम हो, जसले केही इनपुट दिएकै भरमा मानिसकै शैलीमा प्रश्नका जवाफ दिन सक्छ । जुनसुकै विषयमा पोख्त यो टुलबाट हरेक किसिमका सहयोग लिन सकिन्छ । विशेषगरी कोडिङ गर्नेहरूको रोजाइमा परेको यो टुल त्यसबाहेक अन्य थुप्रै काममा प्रयोग हुन्छ ।

उनकै नेतृत्व र परिकल्पनामा तयार भएको च्याटजीपीटीको दुरुपयोग पनि बढ्न थालेको छ । यसबारे एक पोडकास्टमा बोल्दै अल्टम्यानले च्याटजीपीटीको प्रभावबारे चिन्ता व्यक्त गरेका छन् ।

अल्टम्यान व्यापक रूपमा सिलिकन भ्याली र बाहिरका सबैभन्दा प्रभावशाली व्यक्तिहरू मध्ये एक मानिन्छन् । उनी टाइम्सको सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा (२०१५), फर्च्युनको ४० अन्डर ४० (२०१६), फोर्ब्सको मिडास सूची (२०१७-२०२०) र भ्यानिटी फेयरको नयाँ स्थापना सूची (२०१७-२०२०) ५२३ जस्ता विभिन्न सूचीमा परेका छन् ।

अल्टम्यान हाल अविवाहित छन् । तर, एलन मस्क जस्तै उनको अफयेरबारे विभिन्न चर्चा आइरहन्छ । विशेषगरी जेसिका लिभिङ्स्टन (वाई कम्बिनेटरका सह-संस्थापक), एलेक्सा भोन टोबेल (लर्नवेस्टका संस्थापक) र टेसा थम्पसन (अभिनेत्री) लगायतका व्यक्तिसँग उनको नाम जोडिएर आउँछ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १८:३७