close

ईमेल, सामाजिक सञ्जाल वा मेसेञ्जरमा आउने लिङ्क सुरक्षित छ कि छैन ? क्लिक गर्नु अघि यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

चैत ९, २०७९ १४:५०

ईमेल, सामाजिक सञ्जाल वा मेसेञ्जरमा आउने लिङ्क सुरक्षित छ कि छैन ? क्लिक गर्नु अघि यसरी चेक गर्नुहोस्

काठमाडौं । के ईमेलम आएको लिङ्क वैधानिक छ ? साथी वा अपरिचित व्यक्तिले पठाएको कुनै पनि चिजमा रहेको लिङ्कले कहाँ पुर्‍याउँछ भन्ने कुरा थाहा नपाई त्यसमा क्लिक गर्नु बुद्धिमानी हुँदैन ।

हालका दिनहरूमा एकदमै तीव्र रुपमा बढ्दै गइरहेको साइबर सुरक्षा चुनौतीहरू मध्ये र्‍यानसमवेयर एउटा हो । जुन मानिसहरूले थाहै नपाई ईमेल, सामाजिक सञ्जाल, मेसेञ्जर वा अन्य कोल्याब्रेसन टुलमा आएका खतरनाक लिङ्कमा क्लिक गर्दा फैलिइरहेका हुन्छन् ।

मालवेयर र फिशिङ साइट पनि मुख्य जोखिममा विषय हुन् । यदि तपाईं सानो सहयोग लिएर आफ्ना अनलाइन गतिविधिहरू बारे सतर्क र सजग हुनु भयो भने त्यस्ता जोखिमबाट जोगिन सक्नु हुन्छ ।

आज हामी तपाईंलाई इन्टरनेटमा आउने कुनै पनि लिङ्क सुरक्षित छ कि छैन भन्ने कुरा कसरी चेकजाँच गर्ने भन्ने बारेमा बताउँदै छौँ । 

 

लिङ्क चेकरले कसरी गर्छ काम ? 

विशेषगरी दुई किसिमका यूआरएल हुने गर्छन् । एउटा स्ट्यान्डर्ड लम्बाई भएको यूआरएल, जुन डब्लूडब्लूडब्लू (www) बाट सुरु हुन्छ, त्यसपछि वेबसाइटको नाम आउँछ र डटकम (.com) अथवा अन्य शीर्ष स्तरका डोमेनको साथमा अन्त्य हुन्छ ।

अर्को प्रकार भनेको सर्टन्ड अर्थात छोट्याइएको यूआरएल हो । उदाहरणको लागि 'bit.ly/3FJu91g' (यो छोट्याइएको एउटा लिङ्कको उदाहरण हो, जसमा क्लिक गर्दा तपाईं हाम्रो वेबसाइटमा पुग्नु हुनेछ) ।

तपाईंले प्राप्त गरेको लिङ्क स्ट्यान्डर्ड यूआरएल हो वा छोट्याइएको हो भन्ने कुराले खासै अर्थ राख्दैन । यदि त्यस्तो लिङ्क कुनै हिसाबले खतरनाक छ भने तपाईंलाई लिङ्क चेकिङ टुलहरूले तपाईँलाई सावधान गराउन सक्छन् ।

यदि उक्त लिङ्कले तपाईँलाई कम्प्रोमाइज अर्थात सुरक्षाका हिसाबले खतरनाक वेबसाइटमा लगिरहेको छ भने यस्ता लिङ्क चेकरले त्यस्तो कुरा तत्कालै हाइलाइट गर्छन् । त्यस्तै यी टुलहरूले मालवेयर, र्‍यानसमवेयर अथवा अन्य जोखिमपूर्ण स्थानमा पुर्‍याउने लिङ्कहरूको बारेमा समेत जानकारी दिन्छन् ।

तल उल्लेख गरिएका सुरक्षित लिङ्क चेक गर्ने साइटहरूले तपाईंलाई सन्देहास्पद लिङ्कहरूको वास्तविकता पत्ता लगाउन सघाउनेछन् । कुनै एउटा टुलमा भर पर्ने भन्दा दुई वा दुईभन्दा बढी साइटहरूको सहयोग लिएर लिङ्क चेक गर्नु भयो भने तपाईंले राम्रो नतिजा पाउनु हुनेछ । 

 

१. कसरी प्रयोग गर्ने नोर्टन सेफ वेब ?

कुनै लिङ्कमा भाइरस वा मालवेयर छ कि छैन भन्ने कुरा चेकजाँच गर्नका लागि अनलाइन सुरक्षाको दिग्गज कम्पनी नोर्टनले तयार पारेको टुलको नाम हो, नोर्टन सेफ वेब । माल्वेयरका लागि लिङ्क स्क्यान गर्न यूआरएललाई सामान्य तवरमा चेकिङ बक्समा पेस्ट गर्नुहोस् र सर्च आइकनमा दबाउनुहोस् ।

नोर्टन सेफ वेबले उक्त वेबसाइटको बारेमा रेटिङ देखाउनेछ र कम्युनिटी रिभ्यु समेत उपलब्ध गराउनेछ । यदि तपाईं आफू पनि यसमा आफ्नो कुरा राख्न चाहनु हुन्छ भने एउटा अकाउन्ट बनाएर लिङ्क चेकर कम्युनिटीमा आवद्ध बन्न सक्नु हुन्छ ।

ब्राउजरमा आधारित लिङ्क चेकरका साथै नोर्टन सेफ वेबले अन्य दुई ओटा टुल समेत उपलब्ध गराएको छ । जसमध्ये एउटा हो नोर्टन सेफ सर्च एक्स्टेन्सन, जसले तपाईंको वेब ब्राउजरको एड्रेस बारमा छरितो सुरक्षित सर्च सुविधा उपलब्ध गराउँछ ।

अर्को हो, नोर्टन होम पेज एक्स्टेन्सन, यसले तपाईंका सबै सर्च इन्जिन रिजल्टहरूमा सुरक्षित सर्चको विकल्प ल्याउँछ । यी दुवै विकल्पले लिङ्कमा क्लिक गर्नु अघि त्यो सुरक्षित छ कि छैन भन्ने कुरा चेक गर्छन् र  वेबमा सुरक्षित ब्राउजिङका लागि राम्रो मानिन्छन् । 

 

२. स्क्यान यूआरएल 

अर्को लिङ्क चेक गर्ने टुलको रुपमा स्क्यान यूआरएललाई समेत लिन सकिन्छ । यो एक स्वतन्त्र वेबसाइट हो, जसले तपाईंको लिङ्क सम्बन्धि जिज्ञासालाई गम्भीरताका साथ सुरक्षित एचटीटीपीएस कनेक्सनमार्फत लैजान्छ ।

यद्यपि यो स्पाम लिङ्क चेकर विज्ञापनयुक्त छ, तर यसले दिने नतिजा भने राम्रो छ । यसमा तपाईंले त्यस्तो लिङ्क कहाँ देख्नु भएको थियो भन्ने कुराको जानकारी समेत दिन सक्नु हुन्छ, जसले अन्य प्रयोगकर्तालाई उक्त लिङ्क बेवास्ता गर्न सहज बनाउँछ ।

स्क्यानयूआरएलले गुगलको सेफ ब्राउजिङ डायग्नस्टिक, फिशट्याङ्क र वेब अफ ट्रस्टमा रहेको जानकारी खिचेर हुइज रेकर्डको आधारमा सोधिएको वेबसाइटको बारेमा जानकारी दिन्छ ।

यसबाट प्राप्त हुने सुझाव सहितको रिजल्टको आधारमा तपाईं उक्त साइटमा जाने कि के गर्ने भन्ने विषयमा निर्क्यौल गर्न सक्नु हुन्छ । यदि त्यसमा देखिएको नतिजा सूची खतरनाक इङ्गित गरिएको छ भने त्यस्तो वेबसाइट बेवास्ता गर्नुहोस् । 

 

३. फिशिङ लिङ्क चेक गर्नका लागि फिशट्याङ्क

मालवेयरमा केन्द्रित हुनुको साटो फिशट्याङ्कले कुनै लिङ्क सुरक्षित छ अथवा यसले तपाईंलाई कुनै फिशिङ साइटमा पुर्‍याउँछ भन्ने कुराको जानकारी दिन्छ । यसमा तपाईंले कुनै लिङ्क राखिसकेपछि, फिशट्याङ्कले त्यसलाई चेक गर्न थाल्छ ।

यदि उक्त लिङ्क त्यस अघि नै 'ट्याङ्क भित्र' रहेछ भने तपाईंले तत्कालै नतिजा प्राप्त गर्नु हुनेछ । अन्यथा यो साइटले तपाईंलाई एउटा ट्रयाकिङ नम्बर उपलब्ध गराउनेछ ।

दुःखको कुरा के छ भने कुनै मालवेयर लिङ्क स्वचालित रुपमा चेक गरे जस्तै सजिलो फिशिङ लिङ्क चेक गर्नु हुँदैन । आफ्नो व्यक्तिगत डेटा थुत्नसक्ने कुनै वेबसाइटको बारेमा चिन्तित हुनुहुन्छ ?

यदि तपाईंलाई आफ्नो परिचय चोरी भएको कुनै जानकारी छ भने, विभिन्न खाले फिशिङ आक्रमणका कारण त्यस्तो हुन्छ भन्ने कुरा थाहा पाउनु हुनेछ । गिक स्क्वाड स्क्याम एउटा त्यस्तै कुख्यात घटना हो ।

फिशट्याङ्क कुनै लिङ्क सुरक्षित छ कि छैन भन्ने कुरा चेक गर्नका लागि सधैँ उपयोगी हुन सक्छ । फिशट्याङ्क ओपन डीएनएसमार्फत सञ्चालित छ । यो साइटलाई जोसुकैले योगदान दिन सक्छन् र अन्य प्रयोगकर्ताले सबमिट गरेको आधारमा लिङ्क प्रमाणीकरण गर्न सकिन्छ । 

 

४. गुगल ट्रान्सपरेन्सी रिपोर्ट

गुगलले समेत एउटा उपयोगी लिङ्क चेक गर्ने सेवा दिने गर्छ । ट्रान्सपरेन्सी रिपोर्ट सेवाले एउटा स्ट्यान्डर्ड भाग दिन्छ, जसमा तपाईंलाई लागेको कुनै लिङ्क राख्न सक्नु हुन्छ ।

केही सेकेन्डपश्चात् गुगलको वेब क्रोलर्सले खिचेका नतिजाको आधारमा उक्त साइटमा विश्वास गर्न सकिन्छ कि सकिँदैन भन्ने बारे बताउँछ । मालवेयरका साथै गुगल ट्रान्सपरेन्सी रिपोर्टले तपाईंलाई फिशिङ जोखिमको बारेमा समेत सावधान गराउँछ ।

झुक्किएर आफ्नो व्यक्तिगत सूचना दिएको विषयमा तपाईं चिन्तित हुनुहुन्छ ? त्यसो हो भने यस्तोमा मालवेयरभन्दा पनि फिशिङको सम्भावना बढी हुन्छ । त्यसैले भिजिट गर्न चाहेको वेबसाइटले आफ्नो सूचना चोरी गर्छ कि गर्दैन भन्ने कुरामा सचेत हुन जरुरी छ । 

 

५. भाइरसटोटल यूआरएल चेकर

भाइरसटोटल हिस्पासेक सिस्टमाज नामक साइबर सुरक्षा कम्पनीले बनाएको साइट हो । जुन पछिल्लो समय गुगलको स्वामित्वमा छ । यसले ब्राउजरमा आधारित बहुउपयोगी स्क्यानिङ टुल उपलब्ध गराउँछ ।

जसको सहयोगमा भाइरस टोटलले सन्देहास्पद फाइल तथा यूआरएलको विश्लेषण गरी कस्तो प्रकारको मालवेयर हो भन्ने कुरा पत्ता लगाउँछ । यसरी स्क्यान गरिएका रिजल्ट उक्त अनलाइन सेक्युरिटी कम्पनीसँग शेयर गरिन्छ ।

यसका लागि सामान्य किसिमले भाइरसटोटलको साइटमा जानुहोस् र यूआरएल ट्याबमा क्लिक गर्नुहोस् । त्यसपछि शङ्का लागेको लिङ्क पेस्ट गरेर सर्चमा थिच्नुहोस् । यो एउटा सामान्य टुलले तपाईंलाई तत्काल नतिजा दिनेछ ।

भाइरसटोटलको एन्ड्रोइड र विन्डोज एपमा समेत लिङ्कको सुरक्षा चेक जाँच गर्न सकिन्छ । डेभलपरका लागि समेत भाइरसटोटलले पब्लिक तथा प्राइभेट एपीआईहरू उपलब्ध गराउँछ ।

यदि गैरनाफामूखी परियोजना हो भने तपाईंले आफ्नो वेबसाइटमा फाइल तथा लिङ्क स्क्यान गर्ने टुल तयार पार्न पनि सक्नु हुन्छ ।

 

६. पीसेफ डिफेन्डर ल्याब

पीसेफ सुरक्षा र गोपनीयताको मामिलामा विशेषज्ञ कम्पनी हो । पीसेफको डिफेन्डर ल्याब टुलले तपाईंलाई सुरक्षाका लागि एउटै क्लिकमा लिङ्क चेक गर्ने सुविधा दिन्छ ।

यसका लागि केवल तपाईंले ईमेल, वेब पेज, मेसेज आदि जहाँ छ, त्यहाँबाट लिङ्क कपी गरेर सर्च टुलमा पेस्ट गर्नुपर्ने हुन्छ । चेक यूआरएलमा क्लिक गरेपछि नतिजा देखिन्छ ।

यदि उक्त वेबसाइट डिफेन्डर ल्याबको डेटाबेसमा फेला परेको खण्डमा त्यसमा भर पर्ने कि नपर्ने भन्ने कुरा देखिन्छ । यदि उक्त साइट फेला परेन भने तपाईंलाई सावधानीका लागि अभ्यास गर्न प्रेरित गरिन्छ, 'यदि तपाईं यूआरएल वा वेबसाइटमा शतप्रतिशत ढुक्क हुनुहुन्न भने त्यसमा क्लिक नगर्नु होला ।' ("If you are not 100% confident in the URL or website, you should not click on it.")

अन्य लिङ्क चेकरभन्दा भिन्न तरिकाले डिफेन्डर ल्याब सम्भावित असुरक्षित यूआरएल पहिचान गर्न मसिन लर्निङमा भर पर्छ । यसका साथै सन्देहास्पद यूआरएलका लागि अन्य स्रोतहरूबाट क्रशः रेफ्रेन्स लिने काम समेत लिने गर्छ । 

 

७. यूआरएलभोइड

यूआरएलभोइड एउटा त्यस्तो टुल हो< जसले तपाईंलाई सम्भावित खतरनाक वेबसाइट पहिचान गर्न सघाउँछ । यूआरएलभोइड इटालीको आईटी कम्पनी नोभाइरसथ्याङ्सले उपलब्ध गराएको निःशुल्क सेवा हो ।

अन्य टुलले जस्तै यसमा पनि शङ्कास्पद यूआरएल राखेर चेक गर्न सकिन्छ । त्यस आधारमा तपाईंले उक्त यूआरएलको बारेको, त्यसको इतिहास, त्यसमा भएको कालो कर्तुत र उक्त साइट सार्वजनिक गरिएका सूचनामा आधारित छ कि छैन भन्ने कुरा थाहा पाउन सक्नु हुन्छ ।

यूआरएलभोइडले रिजल्ट निकाल्न प्रयोग गरेका सेवाहरूको सूची समेत त्यहाँ देख्न सकिन्छ, जसमा अभिरा, बिटडिफेन्डर र फिशट्याङ्क लगायतका चर्चित नामहरू समेत हुन्छन् ।

यदि तपाईंलाई कुनै आईपी एड्रेस स्क्यान गर्नुपर्ने छ भने पनि यूआरएलभोइडले त्यस्तै अर्को सेवा आईपीभोइड समेत ल्याएको छ । डेभलपरका लागि आफ्नै लिङ्क सेफ्टी चेकर तयार पार्न यूआरएलभोइडले एपीभोइड समेत उपलब्ध गराउँछ । 

 

८. साइटचेक

डोमेन रजिस्ट्रार गोड्याडीको स्वामित्वमा रहेको सुकिरी वेबसाइटको सुरक्षामा विशेषज्ञ कम्पनी हो । साइटचेक कुनै लिङ्क सुरक्षित छ कि छैन भन्ने कुरा थाहा पाउन सुकिरीले उपलब्ध गराएको निःशुल्क टूल हो ।

साइटचेकले मालवेयर, भाइरस र अन्य खतरनाक कोडहरू जस्ता सेक्युरिटी सम्बन्धी समस्या पहिचानका लागि स्क्यान गर्छ । यसमा पनि तपाईंले सामान्य किसिमले लिङ्कको एड्रेस कपी गरेर साइटचेकको यूआरएल भागमा पेस्ट गर्नुपर्ने हुन्छ ।

सबमिट गरेपछि साइटचेकले नतिजा निकाल्छ । न्यून अर्थात कम सुरक्षा जोखिम भएको भन्नुको अर्थ उक्त लिङ्क सुरक्षित छ भन्ने बुझ्नुपर्ने हुन्छ । साइटचेकले गुगल सेफ ब्राउजिङ, म्याकफी र ईसेट जस्ता विश्वसनीय माध्यमबाट जानकारी लिएर कुनै डोमेन ब्ल्याक लिस्टमा परेको छ कि छैन भन्ने कुरा समेत चेक गर्छ । 

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ १४:५०