close

फोटोको भरमा वेबसाइट तयार पारिदिने ‘जीपीटी-फोर’, अरु के के गर्न सक्छ ?

टेकपाना टेकपाना

चैत १०, २०७९ १९:२३

फोटोको भरमा वेबसाइट तयार पारिदिने ‘जीपीटी-फोर’, अरु के के गर्न सक्छ ?

काठमाडौं । गत नोभेम्बरमा सार्वजनिक भएपछि च्याटजीपीटीमा धेरै अपडेट आएका छन् । यीमध्ये सबैभन्दा उत्कृष्ट अपडेट जीपीटी-फोर हाे ।

यसअघिसम्म च्याटजीपीटीको जीपीटी-३.५ अपडेट थियो । पुराना अपडेटभन्दा जीपीटी-फोर फरक र कयौं गुणा उत्कृष्ट भएको कम्पनीको दाबी  छ । ओपनएआईले माइक्रोसफ्टसँगको सहकार्यमा यो अपडेट हालै सार्वजनिक गरेको हो ।

के हो जीपीटी-फोर ?

यदि तपाईँलाई च्याटजीपीटीको विषयमा धेरै जानकारी छैन भने सामान्य भाषामा बुझ्दा च्याटजीपीटी एउटा यस्तो एआई प्रविधि हो, जसले तपाईँले सोधेका हरेक प्रश्नहरूको जवाफ दिन सक्छ ।

यसको शाब्दिक अर्थ बुझ्नुपर्दा च्याट (chat) भन्ने वित्तिकै हामीले गरिने कुराकानी हो भने जीपीटी (GPT) जेनेरेटिभ प्रि-ट्रेन्ड ट्रान्सफर्मरको छोटो रुप हो ।

यो गुगल ट्रान्सफर्मर आर्किटेक्चरमा तयार गरिएको एउटा च्याटबट हो, जसलाई ठूलो डेटासम्बन्धी तालिम दिइएको छ । यसर्थ, यसको अर्थ पहिले नै तालिम दिइएको एउटा च्याटबट, जसले आफ्नो ज्ञानको आधारमा आफै नयाँ वाक्यहरू बनाउन सक्छ । यसरी तपाईँले सोध्नुभएका कुनै पनि कुराको जवाफ च्याटजीपीटीले दिनसक्छ । 

अब कुरा गरौँ च्याटजीपीटीको नयाँ संस्करण जीपीटी-फोरको विषयमा । जीपीटी-फोर हालै सार्वजनिक भएको नयाँ अपडेट हो । अपडेट नयाँ भएपनि सबै प्रयोगकर्ताका लागि यो अपडेट निःशुल्क उपलब्ध छैन । यदि तपाईँले च्याटजीपीटीको सशुल्क सब्सक्रिप्सन लिनुभएको छ भने नयाँ अपडेट प्रयोग गर्न सक्नुहुन्छ । 

जीपीटी-३.५ र जीपीटी-फोरमा के फरक छ ?

क्षमता र विश्वसनीयता

एक सामूहिक परीक्षामा सोधिएको प्रश्नहरूमा उत्तर दिनेमा जीपीटी-फोर शीर्ष स्थानमा रहेको १० प्रतिशत परीक्षार्थीहरूको सूचीमा थियो भने सोही प्रश्नको जवाफ दिँदा जीपीटी-३.५ उक्त १० प्रतिशत परीक्षार्थीहरूको सूचीमा पर्न सकेन ।

फोटोको प्रयोग

जीपीटी-फोर मल्टिमोडेल टुल हो । अर्थात् यसले च्याटजीपीटी जस्तो अक्षरमा मात्र नभइ फोटो, भिडिओ र अडियोमा पनि जवाफ फर्काउन सक्छ । जसले गर्दा जीपीटी-फोरमा फोटो, ग्राफ र इन्फोग्राफिक्सहरू अपलोड गरेर पनि आफ्नो प्रश्न सोध्न सकिन्छ ।

यसका लागि अक्षर नै टाइप गर्नुपर्छ भन्ने हुँदैन । सबैभन्दा रोचक कुरा त के भने तपाईंले पेपरमा कुनै चित्र बनाएर वा वेबसाइटको डिजाइन बनाएर त्यसलाई कोडिङ गर्न भन्नुभयो भने यसले क्षणभरमै कोडिङ गरेर वेबसाइट तयार पार्न सकिन्छ ।

जेन खान नामका एक एआई इन्जिनियरले पेपरमा एउटा वेबसाइटको डिजाइन बनाउँछन् । उक्त डिजाइनको फोटो खिचेर सो फोटो जीपीटी फोरमा अपलोड गरेपछि उक्त टुलले क्षणरभरमै आकर्षक वेबसाइट तयार पारेको देख्न सकिन्छ ।

यसरी आफ्नो विचारलाई पेपरमा उतारेर त्यसलाई वास्तविकतामा ल्याउन जीपीटी-फोरले सघाउँछ ।  

धेरै शब्द प्रयोग गर्न सकिन्छ

जीपीटी-फोरमा २५ हजार शब्द लेख्न सकिन्छ । यसको अर्थ हो, तपाईँले लेख्नुभएको अथवा सोध्नुभएको २५ हजार शब्दको कुरालाई जीपीटी-फोरले राम्रोसँग समिक्षा गर्छ । यसका माध्यमबाट कुनै धेरै शब्द भएका पुस्तकको समीक्षा पनि केही मिनेटमै पाउन सकिन्छ ।

थोरै समयमा नै जीपीटी-फोरमा तपाईँको लामो लेखलाई बुझेर जवाफ दिने क्षमता छ । यो भन्दा अगाडि च्याटजीपीटीमा ४,०९६ शब्द मात्र लेख्न सकिन्थ्यो ।

तर्कपूर्ण जवाफ

ओपनएआईका अनुसार जीपीटी-फोरले ४० प्रतिशतभन्दा बढी तथ्य सहितको तार्किक जवाफ दिनसक्छ ।

सिर्जनात्मक कुराकानी

जीपीटी-फोर पहिलेको भन्दा बढी सिर्जनात्मक भएको कम्पनीको भनाइ छ । यसले कुनै प्रश्न अनुसार सिधैँ जवाफ दिने हो अथवा उक्त जवाफको विषयमा सुरुमा केही सिकाएर मात्र जवाफ दिने हो भन्ने विषयमा आफैले सोचेर जवाफ दिनसक्छ ।

जस्तो कि यदि तपाईँले कुनै गणितको विषयमा प्रश्न गर्नुभयो भने यसले तपाईँलाई पहिलेको जस्तो सोझैँ जवाफ दिदैँन । बरु यसले तपाईँलाई सो जवाफ कसरी आयो र कसरी उत्तर निकाल्न सकिन्छ भन्ने प्रशक्षिण सहितको जवाफ दिन्छ ।

यी परिवर्तन सुन्दा सामान्य लाग्नसक्छ । तर वास्तवमा नै पहिलेको भन्दा जीपीटी-फोर निकै शक्तिशाली भएको छ ।

च्याटजीपीटीमा कसरी प्रयोग गर्ने जीपीटी-फोर ?

जीपीटी-फोर सबैको लागि उपलब्ध भइसकेको छ । यसलाई हाल निःशुल्क रुपमा भने प्रयोग गर्न सक्नुहुन्न । यदि तपाईँले मासिक २० डलर तिरेर च्याटजीपीटीको प्लस भर्सन खरिद गर्नुभएको छ भने मात्र तपाईँले जीपीटी-फोर प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाईँ आफ्नो निःशुल्क सेवालाई सशुल्कमा अपग्रेड गर्न चाहनुहुन्छ भने तल लेखिएको प्रक्रिया अपनाउन सक्नुहुन्छ:

- च्याटजीपीटीमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस्

- स्क्रिनको बायाँतिर तलपट्टि भएको 'अपग्रेड प्लान' बटनमा क्लिक गर्नुहोस्

- त्यहाँ दिइएको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाउँदै जानुहोस्

- तपाईँले च्याटजीपीटी प्लस खरिद गरिसक्नुभएपछि स्क्रिनमा नयाँ अप्सन आउँछ त्यहाँ गएर'जीपीटी-फोर मोडेल' मा क्लिक गर्नुहोस् ।

कम्पनीले केही समयपछि निःशुल्क प्रयोगकर्ताको लागि पनि जीपीटी-फोर उपलब्ध गराउने तयारी गरिरहेको छ । यद्यपि यो कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी आइसकेको छैन ।

त्यसोभए निःशुल्क रुपमा जीपीटी-फोरको अनुभव कसरी लिने त ? यसको लागि माइक्रोसफ्टले केही सुविधा उपलब्ध गराएको छ । जीपीटी-फोर सार्वजनिक गर्ने क्रममा नै कम्पनीले बिङ च्याटमा जीपीटी-फोर पनि प्रयोग गरिएको विषयमा बताएका छन् । यसको अर्थ हो, तपाईँले जीपीटी-फोर नै प्रयोग नगरेपनि यसको सुविधा बिङ च्याटमा पाउन सक्नुहुन्छ ।

अन्य कुन कुन एपमा छ जीपीटी-फोर ?

जीपीटी फोर च्याटजीपीटी बाहेक अन्य केही एपहरुमा पनि पाउन सकिन्छ । शैक्षिक क्षेत्रदेखि व्यापारसम्मको प्रयोगको लागि जीपीटी-फोर उपयुक्त छ । सोहि अनुरूप अन्य विभिन्न एपमा पनि जीपीटी-फोरको अनुभव लिन सकिन्छ । जीपीटी-फोर उपलब्ध भएका एपहरू:

- माइक्रोसफ्ट अफिस ३६५: जीपीटी-फोर सार्वजनिक हुने वित्तिकै माइक्रोसफ्टले अफिस ३६५ मा पनि यो सेवा उपलब्ध गराउने घोषणा गरिसकेको छ । कोपिलट नाम दिइएको उक्त फिचर चाडैँ नै पावरपोइन्ट, वर्ड, एक्सेल लगायतमा उपलब्ध हुनेछ ।

- डुओलिङ्गो म्याक्स: यदि तपाईँ अन्य कोही व्यक्तिको सहाराबिना नै नयाँ भाषा सिक्न चाहनुहुन्छ भने डुओलिङ्गोले तपाईँको लागि नयाँ सशुल्क योजना ल्याएको छ । उक्त योजनामा तपाईँले जीपीटी-फोरको सहयोगमा नयाँ भाषा सिक्न सक्नुहुन्छ । यसमा च्याटबटले तपाईँलाई नयाँ भाषा सिकाउनुका साथै तपाईँले गर्नुपर्ने सुधारको विषयमा सल्लाह पनि दिनेछ ।

- स्ट्राइप: भुक्तानी व्यवस्थापक एप स्ट्राइपले जीपीटी-फोरमा आधारित १४ नयाँ सफ्टवेयरहरू विकास गरेको छ । कम्पनीका अनुसार यो नयाँ मोडलहरू सफ्टवेयर विकास, व्यवसाय व्यवस्थापन र ठूला डेटाहरू व्यवस्थापन गर्नको लागि सहयोग गर्नेछ ।

- खान एकेडेमी: गैरनाफामूलक शैक्षिक वेबसाइट खान एकेडेमीले खानमिगो नामक च्याटबटको निर्माण गरिरहेको छ । खानमिगो जीपीटी-फोरमा आधारित च्याटबट हो ।

यो च्याटबटले प्रयोगकर्तालाई कुनै लेख लेख्न सहयोग गर्नेछ भने नयाँ शब्दहरूको प्रयोग गर्न प्रशिक्षण पनि दिनेछ । साथै यसले वादविवादका लागि विपक्षीको रुपमा तपाईँसँग विवाद पनि गर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १९:२३