close

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वीर अस्पतालमा टेलिमेडिसिन सेवा

टेकपाना टेकपाना

चैत ११, २०७९ ८:५६

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वीर अस्पतालमा टेलिमेडिसिन सेवा

काठमाडौं । वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ । वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल र बोर्डका निर्देशक राजन पौडेलले उक्त सम्झौतापत्रमा हप्ताक्षर गरे । बोर्डसँगको सम्झौताअनुसार अस्पतालले नियमित रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउनेछ। अस्पतालका निर्देशक डा. पौडेलले हप्ताको दुई दिन शनिबार र आइतबार एमबीबीएस चिकित्सकको रेफरका आधारमा विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिन सेवा दिने बताए ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौला, मुटुसम्बन्धी रोग बढ्दो छ । डा. पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा दिनका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटिनेछन् ।

टेलिमेडिसिनका क्रममा हप्तामा दुई दिन शनिबार र आइतबार विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिन सेवा उपलब्ध हुनेछ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रहँदा वीर अस्पतालमा कोभिडका बिरामीलाई सेवा दिने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा टेलिमेडिसिन सेवा सञ्चालमा रहेको थियो ।

कोभिड–१९ महामारी कम भएपछि टेलिमेडिसिन सेवा प्रभावित भएको थियो । डा. पौडेलले वीर अस्पतालले टेलिमेडिसिन सेवा उपलब्ध गराएबापत बोर्डले वैदेशिक रोजगार कोषमार्फत एक जना मेडिकल अधिकृत र हेल्थ असिस्टेन्टका लागि तलब वीर अस्पताललाई उपलब्ध गराउनेछ । त्यसबाहेक बिरामी हेर्ने विशेषज्ञ चिकित्सकलाई भत्ता पनि उपलब्ध गराउनेछ । 

-गोरखापत्र

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ ८:५६