close

पैसा नतिर्ने ट्वीटर प्रयोगकर्ताको ‘ब्लू चेकमार्क’ अप्रिल १ पछि खोसिने

टेकपाना टेकपाना

चैत १२, २०७९ ११:१८

पैसा नतिर्ने ट्वीटर प्रयोगकर्ताको ‘ब्लू चेकमार्क’ अप्रिल १ पछि खोसिने

काठमाडौं । पैसा नतिर्ने ट्वीटर प्रयोगकर्ताको निलो चेकमार्क (ब्लु चेकमार्क) हट्ने भएको छ । एक पोस्टमार्फत कम्पनीले १ अप्रिलमा पैसा नतिर्ने प्रयोगकर्ताको चेकमार्क हटाउन लागिएको जानकारी दिएको हो । 

ट्वीटरको निलो (ब्लु) ‘भेरिफाइड’ चेकमार्क वास्तवमा गलतबाट सही अकाउन्ट छुट्याउनका लागि थियो । एलन मस्कले ट्वीटर किनेपछि भने उक्त चेकमार्क हैसियत जनाउने सङ्केत बन्यो, जसका लागि प्रयोगकर्ताले मासिक आठ अमेरिकि डलर तिरेर ‘ट्वीटर ब्लु’ नामक सब्सक्रिप्सन लिनुपर्ने हुन्छ । 

यद्यपि निलो सही चिन्ह (ब्लु चेकमार्क) प्राप्त गर्नका लागि तपाईंले ट्वीटरको योग्यताको सीमा भने पूरा गर्नुपर्ने हुन्छ ।  जसमा नाम र प्रोफाइल तस्वीरका साथै अकाउन्ट खोलेको ९० दिन पूरा भएको हुनुपर्ने, भ्रामक  नरहेको सङ्केत दिनुपर्ने हुन्छ । 

ट्वीटर ब्लु सार्वजनिक भएपश्चात समेत पहिले नै प्राप्त गरिसकेका प्रयोगकर्तालाई हालसम्म चेकमार्क प्रयोग गर्न दिइएको छ । तर कम्पनीले भविष्यमा त्यो फिर्ता लिइने बताएको थियो ।  

यद्यपि यसमा केही अपवाद लागू हुनेछन् । उदाहरणका लागि एलन मस्कले भनेका छन् कि भेरिफाइड संस्थासँग सम्बद्ध व्यक्तिहरूको अकाउन्ट स्वतः भेरिफाइड हुनेछ । 

अधिकांश प्रयोगकर्ताका लागि भने कि ट्वीटर ब्लुका लागि पैसा तिर्नुपर्नेछ कि त चेकमार्क विहीन बस्नुपर्नेछ । ट्वीटर ब्लुमा थप अन्य सुविधाहरू पनि जोडिएका छन् । जसमा लामालामा ट्वीट लेख्न तथा सम्पादन गर्न सकिनुका साथै र १०८० पी गुणस्तरमा भिडिओ अपलोड गर्न पनि सकिने छ ।

तर वास्तवमा पहिचान प्रमाणित गर्ने चेकमार्क राखिरहन पैसा तिर्नुपर्ने यो व्यवस्था प्रति ट्वीटरका धेरैजसो प्रयोगकर्तामा नराम्रो छाप छोडेको छ । जुन तपाईंले कम्पनीको पोस्टमा गरिएका रिप्लाईमा समेत देख्न सक्नु हुन्छ । 

 

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ ११:१८