close

पब्जी मोबाइल प्रो लिगमा पहिलो साताका खेल सम्पन्न, यस्तो छ नेपाली टिमको प्रदर्शन

टेकपाना टेकपाना

चैत १३, २०७९ १५:३३

पब्जी मोबाइल प्रो लिगमा पहिलो साताका खेल सम्पन्न, यस्तो छ नेपाली टिमको प्रदर्शन

काठमाडाैं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ को लिग चरण अन्तर्गत पहिलो साताका सबै खेल सम्पन्न भएको छ ।

कूल २० टिम सहभागी प्रतियोगितामा नेपालबाट १० टिम खेलिरहेका छन् । पहिलो साताको खेल सकिँदा मङ्गोलियाको ‘फोरमेरिकल भाइब्स’ १६३ एलिमिनेसन पोइन्ट र पाँच चिकेन डिनरसहित कूल २५३  पोइन्ट ल्याएर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

त्यस्तै मङ्गोलियाको अर्को टिम स्टालवार्ट ई-स्पोर्ट्स १३६ एलिमिनेसन पोइन्ट र दुई चिकेन डिनरसहित कुल २०५ पोइन्टका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

त्यस्तै नेपाली टिम डीआरएस गेमिङ १५८ पोइन्ट ल्याएर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा राम्रो सुरुवात गर्न नसकेपनि डीआरएस गेमिङ उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थानमा पुग्न सफल भएको हो ।

अन्य नेपाली टिमको कुरा गर्ने हो भने हाई भोल्टेज ई-स्पोर्ट्स १५१ पोइन्टको साथ अङ्क तालिकाको चौंथो स्थानमा रहेको छ । यसैगरी लियो ई-स्पोर्ट्स,स्काइलाइट गेमिङ, एब्रप्ट स्लेयर र ट्रेन टु किल (टीटूके) अङ्क तालिकामा क्रमश: छैटौँ, आठौँ, नवौँ र १०औँ स्थानमा छन् ।

केही नेपाली टिमले भने १०० पोइन्ट आँकडा पनि पार गर्न सकेका छैनन् । याे सूचीमा इलिमेन्ट्रिक्स, डेडआइज गाइज, रअ अफिसियल र इलुमिनेट क्रु रहेका छन् ।

पीएमपीएल लिग चरणको दोस्रो साताका खेल मंगलबारदेखि सञ्चालन हुनेछन् ।

लिग चरणको खेल अप्रिल ९ मा सकिने छ । अन्तिम चरण अर्थात् फाइनलका खेल भने १४ अप्रिल देखि १६ अप्रिलसम्म हुनेछ ।

यो प्रतियोगिताको कूल पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड चार लाख ६५ हजार रुपैयाँ) राखिएको छ, जसमध्ये प्रतियोगिताको विजेताले नौ हजार ५०० डलर (करिब १२ लाख ५५ हजार रुपैयाँ), उपविजेताले छ हजार ५०० डलर डलर (करिब आठ लाख ५९ हजार रुपैयाँ) र तेस्रो स्थानमा रहन सफल टिमले पाँच हजार ५०० डलर डलर (करिब सात लाख २६ हजार रुपैयाँ) हात पार्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १७:१