close

चलचित्र निर्माणमा वार्षिक १ खर्ब लगानी गर्दै एप्पल

टेकपाना टेकपाना

चैत १३, २०७९ २३:२८

चलचित्र निर्माणमा वार्षिक १ खर्ब लगानी गर्दै एप्पल

काठमाडौं । एप्पलले चलचित्र निर्माणमा वार्षिक एक अर्ब डलर (करिब एक खर्ब ३१ अर्ब‍ रुपैयाँ) खर्चने भएको छ । सो रकमबाट निर्माण गरिने चलचित्रहरू सिनेमा हल र अनलाइन स्ट्रमिङ प्लेटफर्ममा प्रदर्शन गर्ने एप्पलको योजना रहेको छ ।

हलिउडमा समेत कम्पनीको नाम चम्काउन एप्पलले मोटो रकम खर्चन लागेको बताइएको छ । यसका लागि एप्पलले केही स्टुडियोहरूसँग चलचित्र निर्माण र प्रदर्शनीका लागि कुरा गरिरहेको ब्लुम्बर्गकाे समाचारमा उल्लेख छ ।

‘किलर्स अफ द फ्लावर मुन’, ‘अर्गायल’ जस्ता केही चलचित्र एप्पलले प्रदर्शनीमा ल्याउने चर्चा भएपनि हालसम्म वास्तविकता भने बाहिरिएको छैन । त्यस्तै वितरकबारे पनि कुनै कुरा खुलाइएको छैन ।

एप्पलले आफूसँग चलचित्र वितरणका कर्मचारीहरू नभएका कारण तेस्राे पक्ष वितरकहरूसँग सहकार्य अघि बढाइरहेको बुझिएको छ । 

एप्पलले सनडान्स फिल्म फेस्टिभलमा किनेको चलचित्र ‘कोडा’ले एकेडेमी अर्वाडमा ‘बेस्ट पिक्चर फर २०२१’ जितेपछि चलचित्र निर्माणमा एप्पल हौसिएको बुझिएको छ । हुन त ‘एप्पल टिभी प्लस’ मार्फत एप्पलले विभिन्न चलचित्र निर्माण गर्दै आएको छ ।

एप्पलले बनाएका केही चलचित्र सीमित हलहरूमा प्रदर्शनसमेत भएका छन् । तर अब भने एप्पलले चलचित्र निर्माणको बजेट विस्तार गर्ने भएको हो । 

योसँगै आफ्ना चलचित्रहरू सिनेमा हलमा प्रदर्शन गर्न समेत एप्पल तयार भएको हो । ‍यस कुराले ‘एप्पल टिभी प्लस’ का सब्सक्राइबर बढाउन पनि सहयोग पुग्ने एप्पलले अपेक्षा गरेको छ । नेटफ्लिक्स, डिज्नी प्लसको तुलनामा एप्पल टिभी प्लसमा निकै कम सब्सक्राइबर छन् । 

पछिल्लो समय एप्पल र अमेजनजस्ता प्रविधिका ठूला कम्पनीहरूले कर्मचारी कटौती गरेपनि मनोरञ्जनमा खर्च बढाइरहेका छन् । अमेजनले पनि वार्षिक १२ देखि १५ ओटा चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ २३:२८