close

सीसीटिभी फुटेजको सहयोगमा यसरी पक्राउ परे लुटपाट गर्दै हिँड्ने भिम बहादुर

टेकपाना टेकपाना

चैत १७, २०७९ १७:३९

सीसीटिभी फुटेजको सहयोगमा यसरी पक्राउ परे लुटपाट गर्दै हिँड्ने भिम बहादुर

काठमाडौं । लुटपाट गर्दै हिँड्ने एक व्यक्ति सीसीटिभी फुटेजको सहयोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २८ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लुटपाट गर्ने नियतले भिम काठमाडौंका ठूला पर्यटक होटेल तथा रेस्टुरेन्टमा जान्थे । त्यहाँ गइसकेपछि पैसा सटही गरिदिने भन्दै विभिन्न व्यक्तिहरूसँग कुरा गर्थे ।

साथै होटेलको रजिस्टरमा पर्यटकले राखेको फोन नम्बरमा सम्पर्क गर्थे । फोन सम्पर्क गरी कमभन्दा कम शुल्कमा डलर साटिदिने प्रलोभन दिन्थे ।

"होटेलको रजिस्टरबाट नम्बर लगिसकेपछि उनीहरू (पीडित)लाई फोन सम्पर्क गर्ने रहेछ," कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले टेकपानासँग भने, "उनीहरूलाई बजारमा चलेकोभन्दा आधा सस्तो दरमा डलर साट्ने भन्दै प्रलोभनमा पार्थे र एउटा ठाउँमा भेट्न बोलाउँथे । पैसा लिएर गएको मान्छेलाई तामाङसहित अन्य व्यक्ति मिलेर लुटपाट गर्थे ।"

होटेलबाट प्राप्त सीसीटिभी फुटेजको सहायताले तामाङ पक्राउ परेको एसपी राठौरले जनाएका छन् । पक्राउ परेका तामाङमाथि ३० लाख यो हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । बालकोट बसपार्कबाट पक्राउ गरेका तामाङमाथि थप अनुसन्धान तथा कारबाही गर्न प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १७:३९