close

सहकारीमा साइबर सुरक्षा जोखिम व्यवस्थापन गर्न महासंघ र भैरव टेक्नोलोजीबीच सम्झौता

टेकपाना टेकपाना

बैशाख ११, २०८० ११:३५

सहकारीमा साइबर सुरक्षा जोखिम व्यवस्थापन गर्न महासंघ र भैरव टेक्नोलोजीबीच सम्झौता

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संघसंस्थामा साइबर सुरक्षाको जोखिम व्यवस्थापन गर्न भैरव टेक्नोलोजीसँग सहकार्य गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महासंघ र भैरव टेक्नोलोजीबीच सहकार्यका लागि सम्झौता भएको हो । 

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र भैरव टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लिम्बु सेनिहाङले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

सहकारीमा बलियो साइबर सुरक्षा फ्रेमवर्क तयार गर्न र साइबर जोखिमहरू पहिचान गर्न यो सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने सीईओ लिम्बुले विश्वास व्यक्त गरे । 

समझदारी पत्रमा हस्ताक्षर गर्दै भैरब टेक्नोलोजीका सिइओ लिम्बुले सहकारी क्षेत्र आम जनसमुदायसँग जोडिएको क्षेत्र भएकाले यसको साइबर सुरक्षा गर्ने दायित्व आफ्नो पनि भएको बताएका छन् । 

"सहकारीमा साइबर सुरक्षाको नीति, प्रविधि र प्रक्रियाका विषयमा महासंघ र भैरव टेक्नोलोजीले मिलेर काम गर्ने छ," लिम्बुले भने ।

त्यस्तै सहकारीमा हुने विभिन्न साइबर सुरक्षाका जोखिमलाई न्यूनीकरण गरी सुरक्षाका नीतिहरू लागू गर्न सहकारी संघसंस्थालाई मद्दत गर्ने उद्देश्यले यो सहकार्य भएको महासंघका महाप्रबन्धक सुब्बाको भनाइ छ । 

"साइबर सुरक्षाको विषयमा चेतना जगाउने कार्यलाई महासंघले अब तीव्र रूपमा लैजाने छ," सुब्बाले समझदारी पत्रमा हस्ताक्षर गर्दै भनिन् ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० ११:३५