close

तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्यायो निःशुल्क वाई-फाई सेवा, टिकटक भने नचल्ने

टेकपाना टेकपाना

बैशाख ११, २०८० १७:४८

तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्यायो निःशुल्क वाई-फाई सेवा, टिकटक भने नचल्ने

रुपन्देही । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको १३ किलोमिटर क्षेत्रमा निःशुल्क वाई-फाई उपलब्ध गराएको छ । नगरपालिकाले कार्यालयको गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले सोमबारदेखि सेवा सुरु गरेको हो ।

निःशुल्क उपलब्ध हुने उक्त वाई-फाई कनेक्ट गर्दा प्रयोगकर्ताले केही मिनेटको विज्ञापन हेर्नुपर्ने हुन्छ । उक्त विज्ञापनमा पालिकाका विभिन्न सामग्री समावेश गरिने जनाइएकाे छ ।

टेकपानासँग कुरा गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले भने, "नगरपालिकालाई पूर्ण रूपमा डिजिटलाइज बनाउने अभियानमा हामी अघि बढिरहेका छौं । यसअन्तर्गत जनतालाई सूचनाको पहुँच दिन निःशुल्क इन्टरनेट सुरु गरेका छौं ।"

यसका लागि कार्यालयले आफ्नै फाइबर बिछ्याएको छ । देशका प्रमुख सेवा प्रदायकबाट ब्यान्डविथ खरिद गरी नगरपालिकाले आफ्नै पूर्वाधारमार्फत इन्टरनेट उपलब्ध गराउन सुरु गरेको छ ।

"हामीले नगरपालिकामा धेरै इन्टरनेट सेवा प्रदायकको इन्टरनेट जडान गरेका छौँ," नगरपालिकाका आईटी प्रमुख सुदीप ढकालले भने, "इन्टरनेट उपलब्ध गराउन आफ्नै आईएसपी जसरी मेस नेटवर्क तयार पारेका छौँ ।"

जसरी मोबाइलमा राखिएको सिमले आफ्नो नजिकको टावरसँग जोडिएको हुन्छ, त्यसरी नै वाई-फाईको नेटवर्क विभिन्न डिभाइसहरूसँग जोडिएको उनले बताए । यसले गर्दा सम्पूर्ण प्रणाली नगरपालिकाको कार्यालयबाट नियन्त्रित हुने उनकाे भनाइ छ ।

''यसरी सम्पूर्ण नियन्त्रण नगरपालिकासँग भएकाले सरकारले प्रतिबन्ध लगाएका साइटलाई ब्लक गरिएको छ । त्यस्तै नगरपालिकाले उक्त इन्टरनेटको माध्यमबाट टिकटक ब्लक गरेको छ,'' उनले भने ।

ढकालका अनुसार टिकटकले बढी ब्यान्डविथ खपत गर्ने र सूचनाका लागि भरपर्दाे माध्यम नभएकाले यसलाई ब्लक गरिएको हो ।

"हाम्रो मुख्य लक्ष भनेको जनतालाई सूचना दिनु हो," ढकालले अगाडि भने, "यो अभियान फ्रि वाई-वाईफाई जोनभन्दा पनि सूचना राजमार्गका रूपमा अगाडि बढाइएको अभियान हो । सूचनाका लागि टिकटक त्यति भरपर्दो माध्यम होइन । त्यसैले हामीले टिकटक ब्लक गरेका हौं ।"

पछिल्लो समय नगरपालिकाले आफ्ना १७ ओटै वडा तथा स्वास्थ्य चौकीमा आफ्नै इन्टरनेट विस्तार गरेको छ । अब कुनै पनि सेवा प्रदायकको इन्टरनेटमा समस्या आउँदा वडामा इन्टरनेट सेवा प्रभावित नहुने ढकालले सुनाए ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० १८:०