close

१५ दिन भित्र अव्यवस्थित तार नहटाए काठमाडौं महानगरपालिका आफैले हटाउने चेतावनी

टेकपाना टेकपाना

बैशाख १२, २०८० ८:५५

१५ दिन भित्र अव्यवस्थित तार नहटाए काठमाडौं महानगरपालिका आफैले हटाउने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा पोलमा झुन्डिएर बसेका बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तार १५ दिन भित्र हटाउन सेवाप्रदायकलाई आग्रह गरेको छ । 

एक सूचना जारी गर्दै महानगरपालिकाले पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारहरूले सहरी सुन्दरतामा ह्रास पुर्‍याएको भन्दै १५ दिनभित्र सम्बन्धी संघ तथा संस्थाले सो तार व्यवस्थापन नगरे १६ औं दिनबाट आफैले हटाउने चेतावनी दिएको हो । 

अव्यवस्थित तारले आगलागीको जोखिम बढाएको र सार्वजनिक आवागमनमा पनि असर पुगेको उक्त सूचनामा उल्लेख छ । 

"यसबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको छ । छलफल र बैठकमा निर्णय कार्यान्वयन गर्न पटक पटक पत्र पठाएर ताकेता समेत गरिसकेको छ," सूचनामा उल्लेख छ । 

सेवा प्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि पनि महानगरले नियामक निकायहरूलाई अनुरोध गरेको छ । 

"यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार/केवल नहटाइएमा १६ (सोह्रौं) दिनपछि महानगरपालिकाले हटाउनेछ । यसबाट लाभग्राहीमा पर्नसक्ने असुविधाको जिम्मेवारी स्वयं सेवा प्रदायकको हुने व्यहोरा समेत यसैसाथ सूचित गरिन्छ ।"
 

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० ११:१६