close

स्मार्ट टेलिकमले प्राधिकरणलाई बुझाएन आफ्नो सम्पत्ति, भोलि कब्जामा लिने तयारी

टेकपाना टेकपाना

बैशाख १९, २०८० १८:२८

स्मार्ट टेलिकमले प्राधिकरणलाई बुझाएन आफ्नो सम्पत्ति, भोलि कब्जामा लिने तयारी

काठमाडौं । नवीकरण गराउन नसकेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको सूचना प्रकाशित भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकणले लाइसेन्स खारेज भएको १५ दिनपछि मङ्गलबार मात्रै यस्तो सूचना जारी गरेको हो ।

सूचनामा नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको उल्लेख छ । "साथै उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालू अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न हुन समेत सूचित गरिएको छ," सूचनामा भनिएको छ । 

रोचक कुरा के छ भने यस अघि स्मार्ट टेलिकमकै जस्तो लाइसेन्स भएको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) समेत खारेजीमा परेको थियो । प्रकरण उस्तै भए पनि प्राधिकरणको व्यवहार तथा प्रक्रिया भने फरक देखिएको छ । यद्यपि यूटीएलको तर्फबाट सर्वोच्च अदालतमा मुद्दा परेपछि कम्पनीको लाइसेन्स कायमै छ ।

यूटीएलको लाइसेन्स खारेज गर्ने क्रममा बक्यौता रकम बुझाउने भाका तोकिएको थियो । साथै बक्यौता रकम दाखिला नगरेमा कानून बमोजिम हुने चेतावनी समेत जारी गरिएको थियो । 

तर करिब छ अर्ब रुपैयाँ बक्यौता रहेको स्मार्ट टेलिकमलाई भने प्राधिकरणले तिर्ने बुझाउने सम्बन्धी न कुनै भाका तोकेको छ न त कारबाही गर्ने चेतावनी नै दिएको छ । बरु सम्पत्ति भन्दा बढी भएको दायित्व समेत सरकारले नै व्यहोर्ने गरी बनाइएको नियमावली कार्यान्वयनको दिशामा गएको छ । 

यसअघि यही ४ वैशाखमा बसेको प्राधिकरण बोर्ड बैठकले लाइसेन्स स्वतः रद्द भएको जानकारी गराउँदै १५ दिनभित्र दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालू अवस्थामा हस्तान्तरण गर्न निर्देशन दिएको थियो । उक्त म्याद हिजो सोमबार १५ वैशाखमै समाप्त भइसकेको छ ।

अन्तिम दिन सार्वजनिक बिदा परेको भन्दै कम्पनीलाई थप एक दिन समय दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । “प्राधिकरणले आइतबार अर्को पत्रमार्फत कम्पनीको दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल हस्तान्तरण गर्न भनेका छौं,” उनले भने, “साथै कम्पनीको लेखापरीक्षण गरिएको वित्तीय प्रतिवेदन समेत बुझाउन भनेका छौं ।”

नियामकले तोकेको अन्तिम म्याद आज मङ्गलबार राति १२ बजे समाप्त हुँदैछ । तोकिएको म्याद समाप्त भएपश्चात् कम्पनीलाई नियन्त्रणमा लिइने बताइएको छ । तर त्यसको काम कारबाही र प्रक्रिया भने अझै स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १८:२८