close

३५० रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा दाबी गर्न सकिने ‘खल्ती सुरक्षा’

टेकपाना टेकपाना

बैशाख २१, २०८० ९:२५

काठमाडौं । डिजिटल वालेटले वस्तु तथा सेवा खरिदलाई सजिलो बनाउँदै आएको छ । रिचार्ज, बिजुलीको बिल, इन्टरनेटको महसुल, अनलाइन टिकट, बैंक ट्रान्सफरलगायत विभिन्न सेवाको भुक्तानीमा डिजिटल वालेटहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

यसलाई थप सेवामुखी र प्रभावकारी बनाउन सेवा क्षेत्र विस्तारमा पनि वालेटहरुबीच प्रतिस्पर्धा बढ्दो छ। त्यसैको एउटा उदाहरणको रुपमा खल्ती डिजिटल वालेटले ‘खल्ती सुरक्षा’ योजना सञ्चालन गरिरहेकाे छ । याे योजना अनुसार जम्मा ३५० रुपैँयामा वार्षिक दुई लाख ३० हजारसम्मको स्वास्थ्य एवं दुर्घटना बीमा पाउन सकिन्छ ।

खल्ती सुरक्षा अन्तर्गत हुने बीमाको नीति हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेडबाट जारी हुन्छ । वार्षिक ३५० रुपैयाँको यो बीमा योजना खरिद गरेपछि दुई लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य र दुर्घटना बीमा सुविधा पाउन सकिन्छ ।

यसबाहेक आँखा परीक्षण, ल्याब परीक्षण र औषधि खरिदमा विशेष छुट पाउन सकिन्छ । साथै निःशुल्क हेयर केयर, स्किन केयर जस्ता फाइदा उठाउन सकिन्छ ।

यस योजनामा खल्तीसँग हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेड, सम्यक डायग्नोस्टिक, दृष्टि आई केयर सेन्टर, इजी केयर, फोलिडर्म हेल्थकेयर प्रा. लि र एलारा क्लिनिक्स गरी छ पार्टनर जोडिएका छन् ।

३५० रुपैँयाको यो बीमा योजना खरिद गरिसकेपछि दुर्घटनामा परेर उपचार गर्दा एक लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त गर्न सकिन्छ । मृत्यु वा अशक्त भएको खण्डमा अर्को एक लाख रुपैयाँसम्म दाबी गर्न सकिन्छ ।

त्यस्तै १० हजारसम्म अस्पतालको बेड चार्ज र मृत्यु भएमा अन्त्येष्टि यातायात खर्च स्वरुप १० हजार र अन्त्येष्टी खर्चका लागि १० हजार रुपैँया गरी कुल दुई लाख ३० हजारसम्मको बीमा रकम दाबी गर्न सकिन्छ । 

त्यस्तै सम्यक डायग्नोस्टिकमा ल्याब परीक्षण गराउँदा वार्षिक तीन पटकसम्म सबै ईन-हाउस र हेल्थ प्याकेजमा ३० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । दृष्टि आई केयर सेन्टरमा वार्षिक एक पटक आँखा जचाउँदा ओपीडीमा ५० प्रतिशत छुटसँगै इजी केयरबाट औषधी खरिद गर्दा १२ प्रतिशतसम्म छुट पाउन सकिन्छ ।

साथै फोलिडर्म हेल्थकेयरमा वार्षिक एक पटक पहिलो १००० जनालाई कपाल सम्बन्धी नि:शुल्क परामर्श र एलारा क्लिनिक्समा वार्षिक एक पटक स्किन केयरमा ४००० रुपैयाँसम्मको छुट पनि यसै योजनामा समावेश गरिएको छ । साथमा ७०० खल्ती पोइन्टस् स्वत खल्ती अकाउन्टमा जम्मा पनि हुनेछ ।  

कसरी किन्ने ‘खल्ती सुरक्षा’?

यो स्वास्थ्य योजना किन्न सबैभन्दा पहिले खल्ती एपमा जानुहोस् । होम स्क्रिनमा नै खल्ती सुरक्षा देख्न सकिन्छ । नभए ‘इन्स्याेरेन्स सर्भिस’ भित्र गए पनि खल्ती सुरक्षा अप्सन फेला पर्छ। अब ‘खल्ती सुरक्षा’ मा थिच्नुहोस् । 

यहाँ खल्ती अकाउन्टमा उपलब्ध गराए अनुसार तपाईंको विवरण र रकम स्वतः भरिनेछ । यसपछि उपर्युक्त भुक्तानी प्रक्रिया छनोट गरि भुक्तानी गर्न सक्नुहुन्छ ।

रकम भुक्तानी भए पश्चात हिमालयन एभरेष्ट इन्स्याेरेन्स साथै खल्ती एसएमएस मार्फत तपाईको सेवा सुचारु भएको जानकारी प्राप्त हुनेछ । तर एकपटक खरिद गरिसकेको प्याकेज रिफण्ड भने हुँदैन । 

यो प्याेकज खरिद गरेपछि खल्ती सुरक्षा प्याकेजसँग जोडिएको सबै को पार्टनरहरूको प्रोमो कोड खल्ती एपमा आउँछ र छुट दाबी गर्न एपमा आएको प्रोमो कोड आवश्यकता पर्छ । 

खल्ती सुरक्षाका केही नियम र सर्त

यो स्वास्थ्य तथा दुर्घटना बीमा रकम दाबी गर्न नेपाल सरकार अन्तर्गत दर्ता भएका अस्पतालमा मात्र मान्य हुनेछ । त्यस्तै बिरामी कम्तिमा एक रातका लागि अस्पताल भर्ना भएको हुनुपर्नेछ । साथमा १८ देखि ६० वर्षसम्मकाले बीमा रकम दाबी गर्न पाउनेछन् ।

त्यसैले यही उमेर समूह मात्रै यो योजनामा सहभागी हुँदा उपयुक्त हुन्छ । अर्थात् १८ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिकाले यो योजना खरिद गर्नु बेकार देखिन्छ। अर्को भनेको अस्पतालमा भर्ना भएको ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेड लाई जानकारी गराउनुपर्ने हुन्छ । 

त्यस्तै यसरी खल्ती सुरक्षा प्याकेज खरिद गरेपछि बीमा रकम भुक्तानीका लागि हिमालयन एभरेष्ट इन्स्याेरेन्सको कार्यालयमा गएर अस्पताल डिस्चार्ज समरी, सक्कल बिल, दाबी फारम र बिमितको नागरिकताको प्रतिलिपि बुझाउनु पर्छ । 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १०:४३