close

४५३ किमि रेञ्ज दिने नेक्सन ईभी म्याक्स नेपाली बजारमा, मूल्य साढे ४६ लाख

टेकपाना टेकपाना

बैशाख २७, २०८० १२:४९

४५३ किमि रेञ्ज दिने नेक्सन ईभी म्याक्स नेपाली बजारमा, मूल्य साढे ४६ लाख

काठमाडौं । टाटा मोटर्सको नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदीले याे विद्युतीय कार सार्वजनिक गरेकाे हाे ।

नौ सेकेन्डमै शून्यदेखि १०० किमि प्रति घण्टाको गति पकड्न सक्ने बताइएको गाडीमा मल्टिड्राइभ मोडदेखि आधुनिक सस्पेन्सन सिस्टमसम्मका सुविधा छन् । 

विश्वबजारमा सार्वजनिक हुँदा नेक्सन ईभी म्याक्सले अधिकतम ४५३ किलाेमिटरकाे रेन्ज दिने दाबी गरिएकाे थियाे ।

"रेञ्ज दिनका लागि ब्याट्री मात्र नभई अन्य कुराको पनि उत्तिकै भूमिका हुन्छ," टेकपानासँग कुरा गर्दै सिप्रदीका ईभी सेल्स इन्चार्ज सुजन कार्कीले भने, "तापक्रम, मौसम, बाटोको अवस्था आदिले गाडीको रेन्जलाई फरक पार्छ । नेपाली सडकमा यसको परीक्षण गर्न बाँकी छ । तर, केही परीक्षणलाई आधार बनाउने हो भने अफरोडमा यसको रेञ्ज ३०० किलोमिटर बढी छ ।"

यसमा साधारण एसी र डीसी दुवै प्रकारको चार्जर प्रयोग गर्न सकिन्छ । एसी चार्जरको सन्दर्भमा ३.३ किलोवाटको चार्जर र ७.२ किलोवाटको चार्जर प्रयोग गर्न सकिन्छ ।

३.३ किलोवाटको चार्जरले ब्याट्री फूल चार्ज हुन १५ घण्टा लाग्छ भने ७.२ किलोवाटले चार्ज गर्दा साढे छ घण्टामा फुल चार्ज हुने बताइएकाे छ ।

यस्तै डीसी चार्जरबाट यो गाडी एक घण्टामै फूल चार्ज हुने बताइएको छ ।

पहिलेका मोडेलभन्दा यसमा रेञ्ज नै आकर्षक पक्ष भएको कम्पनीले उल्लेख गरेको छ । "यसअघिका अन्य मोडेलमा हामीले प्राक्टिकल अफरोड रेञ्ज २०० किलोमिटर भनेका थियौं । यसमा चैं ३०० प्लस भनेका छौं," कार्कीले भने ।

यसमा ईएसपी टेरियन, मल्टिड्राइभ, इकोनोमी वा स्पोर्ट मोडमा चलाउने विकल्प छ । त्यस्तै गाडीमा सुरक्षालाई विशेष प्राथमिकता दिइएको कम्पनीले बताएको छ ।

ब्रेकका लागि पछिल्लो समयको अत्याधुनिक ब्रेक सिस्टम प्रयोग गरिएको कम्पनीको दाबी छ । यसअघिका मोडेलमा नभएको इलेक्ट्रोनिक पार्किङ ब्रेक पनि यसमा थपिएको छ ।

पहिलेका  मोडेलमा ‘हिल होल्ड सिस्टम’ थिएन भने यसमा विशेष प्राथमिकताका साथ यो फिचर उपलब्ध गराइएको छ । यो प्रणालीले उकालोमा रोकिँदा गाडीको पाङ्ग्रालाई अडिन मद्दत गर्ने बताइएकाे छ ।

त्यस्तै नेक्सन ईभी म्याक्समा ३५० लिटरको बुटस्पेससँगै सनरुफ पनि उपलब्ध गराइएको छ । ड्राइभर र कोड्राइभरको बीच भागमा सनरुफ राखिएको छ । 

याे गाडीले रेञ्ज बढी दिने भएकाले यसमा ब्याट्री प्याक पनि ठूलो नै प्रयोग गरिएको छ । यसअघिका गाडीमा २०५ एमएम ग्राउन्ड क्लियरेन्स थियो भने यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

त्यस्तै यस मोडेलमा डुअल एयर ब्याग सिस्टम पनि रहेको छ ।

"टाटा मोटर्सले सबैभन्दा बढी प्राथमिकता नै सुरक्षालाई दिएको हुन्छ । एयर ब्याग दुई ओटा भएपनि सेफ्टी रेटिङ भने उत्कृष्ट नै छ," उनले भने । यसमा भएको कुलिङ सिटले गर्दा लङ ड्राइभमा जाँदा कम्फर्टेबल हुने उनको भनाइ छ ।

साथै गाडीको सफ्टवेयर अपडेटमा पनि कम्पनीले विशेष ध्यान दिएको उनले बताए । टाटा नेक्सन ईभी म्याक्स खरिद गर्दा ग्राहकले ब्याट्री र मोटरमा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टी पाउनेछन् । त्यसबाहेक गाडीमा तीन वर्ष वा एक लाख २५ हजार किलोमिटरको वारेन्टी छ ।

"ब्याट्रीको सुरक्षाका सन्दर्भमा यसमा 'नेल पेनिट्रेसन टेस्ट' भइसकेको छ । ब्याट्री आगलागी हुने, पड्किने सम्भावना एकदमै न्यून हुन्छ । त्यस्तै टायरमा एक वर्षको वारेन्टी र हाई भोल्टको ब्याट्रीमा एक वर्षको वारेन्टी छ," कार्कीले भने ।

कम्पनीले नेक्सन ईभी म्याक्सको बुकिङ बुधबारदेखि खुलाएको छ । डेलिभरी भने एक महिनापछि सुरु हुने बताएको छ । कार्कीका अनुसार अग्रिम भुक्तानीका सन्दर्भमा खरिद गर्दा सिप्रदीले प्राइम इडिसनका लागि सात/आठ ओटा बैंकसँग सहकार्य गरेको छ ।

"त्यसमा तुलनात्मक रूपमा आईसी इन्जिन हेरेर रेट पनि सस्तो छ । अनि इजी फाइनान्सिङ छ । फाइनान्सिङको कुरा गर्दा ईभी गाडीमा ८० प्रतिशतसम्मको फाइनान्सिङ हुन्छ । त्यसमा २० प्रतिशतमात्र भुक्तानी गर्दा हुने भयो ।"

अर्थात् नौ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरी गाडी खरिद गर्न सकिन्छ । यसमा आकर्षक छुटको पनि व्यवस्था गरिएकाे कम्पनीकाे भनाइ छ ।

यो गाडीको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० १४:८