close

सोभियत सङ्घ तर्साउन अमेरिकाले बनाएको थियो चन्द्रमामा हाइड्रोजन बम बिस्फोटको योजना

टेकपाना टेकपाना

बैशाख २७, २०८० १३:१०

सोभियत सङ्घ तर्साउन अमेरिकाले बनाएको थियो चन्द्रमामा हाइड्रोजन बम बिस्फोटको योजना

काठमाडौं । सन् १९५० को दशकमा सोभियत सङ्घ अन्तरिक्षमा सफलता प्राप्त गर्ने दौडमा अगाडि थियो । त्यसै क्रममा अमेरिकाका वैज्ञानिकहरूले एक अनौठो परियोजनाको बारेमा सोच्न सुरु गरे ।

त्यो सोभियत सङ्घलाई तर्साउन चन्द्रमामा हाइड्रोजन बम बिस्फोट गराउने परियोजना थियो । अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको सन् १९६९ मा चन्द्रमाको सतहमा पाइला टेक्ने क्षण मानव इतिहासकै सबैभन्दा यादगार क्षण मध्ये एक हो ।

तर यदि आर्मस्ट्रङले पाइला टेकेको चन्द्रमामा ठूला ठूला खाल्डा हुँदा हुन् र हाइड्रोजन हमलाका कारण त्यहाँको वातावरण विषालु हुँदो हो ते के हुन्थ्यो ? अहिले एक शोधपत्रमा समावेश भएको विषय चर्चामा छ ।

'अ स्टडी अफ लुनार रिसर्च फ्लाइट्स' नामक उक्त शोधपत्रमा एउटा एटम बम तथा मसरुम क्लाउड (परमाणु बिस्फोट पश्चात धुवाँ उठ्ने विशेष काल्पनिक तस्वीर) राखिएको छ । जसको मुनी लेखकको नाम छः एल राफेल अर्थात ल्यानर्ड राफेल ।

उनी एक प्रसिद्ध अमेरिकी परमाणु वैज्ञानिक मानिन्छन् । ती भौतिक विज्ञानिकले एनरिको फर्मीसँग मिलेर काम गरेका थिए, जसले विश्वको पहिलो न्युक्लियर रिएक्टर बनाएका थिए ।

एनरिको फर्मा न्युक्लियर बमका जनक समेत मानिन्छन् । प्रोजेक्ट ए ११९ को नामबाट बनेको उक्त परियोजनामा यो प्रस्ताव टप सिक्रेट अर्थात अति गोप्य रहस्यको रुपमा पेश गरिएको थियो ।

जसमार्फत चन्द्रमामा हाइड्रोजन बम खसाल्ने विषयको योजना परियोजना प्रस्तुत गरिएको थियो । स्मरणीय रहोस्, हाइड्रोजन बमलाई सन् १९४५ मा जापानमा खसालिएको परमाणु बमभन्दा पनि निकै शक्तिशाली मानिन्छ ।

वरिष्ठ अधिकारीहरूको तर्फबाट यो योजनालाई चाँडोभन्दा चाँडो मूर्त रूप दिन निर्देशन प्राप्त भएपछि राफेलले मे १९५८ र जनवरी १९५९ को बीच परियोजना सम्भव हुने विषयमा कयौं प्रतिवेदन पेश गरिएका थिए । 

संयोगको कुरा के छ भने जो वैज्ञानिक उक्त अत्यन्त विनाशकारी परियोजनाको योजनामा सामेल थिए, उनी पछि गएर एक प्रसिद्ध भएका कार्ल सेगन थिए । वास्तवमा यस प्रकारको प्रोजेक्ट रहेको विषयमा सन् १९९० मा पहिलो पटक जानकारी बाहिर आएको थियो ।

जब सेगनले एक नामी विश्वविद्यालयमा आफ्नो आवेदनमा यो विषय उल्लेख गरेका थिए । उक्त परियोजनाको एउटा उद्देश्य चन्द्रमाका केही आधारभूत सवालको जवाफ प्राप्त गर्नु थियो भने अर्को प्रोजेक्ट ए ११९ को मूल उद्देश्य शक्ति प्रदर्शन गर्नु थियो ।

उक्त बम टर्मिनेटर लाइनमा गएर बिस्फोट हुने वाला थियो, जुन चन्द्रमाको उज्यालो र अँध्यारो किनारा जोडिने सीमा रेखा हो । यसको उद्देश्य प्रकाशको एक यस्तो तीब्र चहक पैदा गर्नु थियो, जुन बिना कुनै उपकरण मानवको खुला आँखाले धर्तीको कुनै पनि कुनाबाट देख्न सकियोस्, खासगरी रूसबाट देखियोस् ।

चन्द्रमामा वातावरणको अनुपस्थितिमा मसरुम क्लाउड बन्ने सम्भावना थिएन । यो अत्यन्तै भयावह परियोजना पेश गर्नुको सायद एउटै उद्देश्य बुझिन्छ, त्यो तत्कालीन समयको रुसभन्दा राम्रो गर्न नसक्दाको अवस्थामा उत्पन्न असुरक्षा र बेचैनी थियो ।

सन् १९५० मा अमेरिकाले जारी शीत युद्ध जितिरहेको छ भन्ने जस्तो लाग्दैन थ्यो । अमेरिकामा राजनीतिक तथा आम बुझाई यो थियो कि सोभियत सङ्घ परमाणु हतियार बनाउने कुरामा अमेरिकाभन्दा अगाडि छ ।

विशेषगरी उसको परमाणु हतियारको विकास, परमाणु बम र मिसाइलको सङ्ख्या अमेरिकाभन्दा कयौं धेरै थियो । सन् १९५२ मा अमेरिकाले पहिलो हाइड्रोजन बम प्रयोग गरेको थियो ।

तीन वर्षपछि सोभियत युनियनले आफ्नो हाइड्रोजन बम प्रयोग गरेर वासिङ्टनलाई हैरान पारिदियो । सन् १९५७ मा सोभियत सङ्घले अन्तरिक्षको दौडमा वर्चस्व प्राप्त गर्दै स्पुतनिक १ प्रक्षेपण गर्‍यो, जुन पृथ्वीको चारैतिर चक्कर लगाउने पहिलो कृत्रिम उपग्रह  थियो ।

स्पुतनिक प्रक्षेपण अघि सोभियत सङ्घको तर्फबाट इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल छोडिएको थियो र अमेरिकाको तर्फबाट कृतिम चन्द्रमा प्रक्षेपण गर्ने सम्बन्धी प्रयोग एउटा ठूलो बिस्फोटसँगै नराम्ररी असफल बनेको  थियो ।

उक्त बिस्फोट तथा त्यसको वेङ्गार्ड रकेटमा आगो लागेको भिडिओ विश्वभर देखाइएको थियो । त्यस समय एक बेलायती रिलमा भनिएको कुरा निकै चस्काउने किसिमको थियो... "द वेङ्गार्ड असफल भएको छ.. यो निसन्देह एक ठूलो धक्का हो, विशेषगरी प्रोपगान्डा तथा प्रतिष्ठाको लडाईमा ।"

त्यस दौरान अमेरिका स्कुलमा पढ्ने बालबालिकालाई प्रसिद्ध 'डक एन्ड कभर' इन्फरमेसन फिल्म देखाइरहेको थियो । जसमा बर्ट नामको एनिमेटेड कछुवा बालबालिकालाई परमाणु हमलाको स्थितिमा के गर्ने भन्ने बारेमा जानकारी दिन सहयोग गर्छ ।

त्यसै वर्ष अमेरिकी अखबारहरूमा एक वरिष्ठ खुफिया स्रोतको हवाला दिँदै एक समाचार प्रकाशित भयो । जसमा लेखिएको  थियो कि सोभियत सङ्घ ७ नोभेम्बरको क्रान्तिको वार्षिकोत्सवको अवसरमा चन्द्रमामा हाइड्रोजन बम खसाल्ने योजना बनाइरहेको छ ।

त्यो समाचार द डेली टाइम्स, न्यु फिलाडेल्फिया र ओहायोमा छापिएको थियो । त्यसपछि सोभियत सङ्घले अमेरिकाको सबैभन्दा नजिकको छिमेकीमाथि परमाणु हतियारबद्ध रकेटमार्फत हमला गर्ने योजना बनाइरहेको खबर आयो ।

शीत युद्धसँग सम्बन्धित अक्सर अफवाह जस्तै यो कसरी फैलियो र त्यसको सुरुवात कहाँबाट भयो भन्ने कुरा कसैलाई थाहा थिएन । अचम्मको कुरा त के छ भने यो भयले सोभियत सङ्घलाई पनि यस बारे योजना बनाउन बाध्य पारिदियो ।

उक्त योजनाको कोड नाम 'ई फोर' राखिएको  थियो र उक्त परियोजना अमेरिकाको योजनाको कार्बन कपी थियो । पछि सोभियत सङ्घले पनि विफल हुँदाको अवस्थामा बम सोभियत सङ्घको जमिनमा खस्न सक्ने देखिएपछि उक्त योजनालाई रद्द गरिदियो ।

उनीहरूले यसबाट अत्यन्तै अनावश्यक अन्तर्राष्ट्रिय दुर्घटना हुने खतरा रहेको निष्कर्ष निकाले । सायद त्यसबाट उनीहरूलाई चन्द्रमामा पुग्नु त्यसभन्दा ठूलो चमत्कार हो भन्ने कुराको अन्दाज उनीहरूले गरिसकेका थिए ।

यद्यपि प्रोजेक्ट ए ११९ समेत सफल हुन सक्थ्यो । सन् २००० मा राफेलले उक्त परियोजना प्राविधिक तवरमा सम्भव थियो र धर्तीबाट समेत स्पष्ट रुपमा देख्न सकिन्थ्यो भन्ने कुराको पुष्टि समेत गरेका थिए ।

वैज्ञानिकहरूको आशङ्काको बावजुद अमेरिकाको हवाई सेनालाई भने त्यसबाट चन्द्रमाको सफा वातावरण खराब हुने कुराको खासै चिन्ता थिएन । विज्ञान तथा परमाणु प्रविधिको इतिहासमा काम गर्ने एलेक्स वेलर्सटिनको भनाई छ कि प्रोजेक्ट ए ११९ स्पुतनिकको प्रक्षेपण विरुद्ध सामने आउने कतिपय विचार मध्ये एक थियो ।

उनले भनेका छन्, "ती मध्ये स्पुतनिकलाई प्रहार गर्ने योजना समेत थियो । जुन सुन्दा पनि निकै खराब लाग्छ । त्यसलाई उनीहरू यस्तो कल्पनाको रुपमा हेरिरहेका थिए, जो मानिसहरूलाई प्रभावित गर्नका लागि प्रयोग हुनेछ ।"

यो सन् १९५०को अन्त्य र सन् १९६० को सुरुवातमा अन्तरिक्ष सम्बन्धित एक पागलपनको समय थियो । त्यसबेला अन्तरिक्ष युगको भविष्य के हुनेछ भन्ने कुरा कसैलाई थाहा थिएन ।

प्रोजेक्ट ए ११९ को विस्तृत जानकारी आज समेत एक पहेलीकै रुपमा रहेको  छ । यस्तो लाग्छ कि त्यसका अधिकांश दस्तावेज नष्ट गरिसकिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० १३:१०