close

साझा यातायातको नयाँ बिजुली बस अब पाटनढोका–रत्नपार्क–जोरपाटी रुटमा चल्ने

टेकपाना टेकपाना

जेठ १, २०८० १८:३

साझा यातायातको नयाँ बिजुली बस अब पाटनढोका–रत्नपार्क–जोरपाटी रुटमा चल्ने

काठमाडौं । साझा यातायातले लामाे रुटमा बिजुली बस सेवा सञ्चालनमा ल्याएकाे छ ।  साझाले  पाटनढोका–रत्नपार्क–चाबहिल–बौद्ध–जोरपाटी हुँदै दक्षिणढोकासम्म चल्ने बिजुली बस सञ्चालनमा ल्याएको हाे ।

साेमबार आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त रुटमा चल्ने बिजुली बसको उद्घाटन गरे ।

सो रुटमा हाल तीन ओटा बिजुली बस सञ्चालनमा आउने र भविष्यमा १५ ओटासम्म बस चलाउने योजना साझाको छ ।

पाटनढोका-जोरपाटी नयाँ रुटसहित साझा यातायातले उपत्यकाका अन्य पालिकासँग सहकार्य गर्दै बिजुली गाडीको प्रवर्द्धन गर्ने तयारी पनि गरेकाे छ । पालिकाहरूले आ-आफ्नो क्षेत्रमा चार्जिङ डिपो खडा गर्न सहयोग गर्ने साझाको अपेक्षा छ ।

"जनस्वास्थ्य, स्वदेशी इन्धन प्रयोग तथा सार्वजनिक यातायातलाई सुलभ र मर्यादित बनाउन बिजुली परिवहन अपरिहार्य भएको छ," साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले भने, "यातायातलाई विश्वास गरेर ब्याट्रीमा चल्ने बस खरिद गर्न रकम उपलब्ध गराएकोमा हामी सरकारप्रति आभारी छौं ।"
अर्को ६०-८० बस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत खरिद गर्न अध्ययन टोली गठन गरिसकेको साझा यातायातले सङ्घीय सरकारलाई चार्जिङका लागि डिपो उपलब्ध गराइदिन माग राखेकाे छ । सरकार मातहतका विभिन्न स्थानमा उपयुक्त जग्गा हुँदाहुँदै साझा यातायातलाई उपलब्ध हुन नसकेकोमा दीक्षितले दुःख व्यक्त गरे ।

"राजधानी उपत्यका लगायत मुलुकका अन्य सहरी क्षेत्रमा बिजुलीमा चल्ने सार्वजनिक यातायात आज र भोलिको माग हो । देशको सार्वजनिक यातायातका अधिकांश भाग निजी बस व्यवसायीद्वारा सञ्चालित हुने हुँदा निजी क्षेत्रलाई बिजुली परिवहनमा अग्रसर हुन सहुलियत ऋण तथा अन्य सुविधा चाहिने अवस्था छ," दीक्षितले भने ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १८:३