close

१० वर्षपछि याहूकी पूर्व सीईओ भन्छिन्- ‘टम्बलर किन्नु गल्ती भयो’

टेकपाना टेकपाना

जेठ ७, २०८० ११:८

१० वर्षपछि याहूकी पूर्व सीईओ भन्छिन्- ‘टम्बलर किन्नु गल्ती भयो’

काठमाडौं । याहूकी पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मारिसा मेयरले माइक्रोब्लगिङ प्लेटफर्म टम्बलर किनेकोमा पछुतो मानेकी छन् । टेक ब्रूसँगको अन्तर्वातामा उनले आफू याहूको कार्यकारी हुँदा गरेकाे निर्णयबाट पछुतो लागिरहेकाे बताएकी हुन् ।

सो अन्तर्वातामा उनले टम्बलरकाे सट्टामा नेटफ्लिक्स वा हुलु किन्नु उत्तम हुने थियाे भनेकी छन् । ती कम्पनी किनेको भए अहिले याहूकाे छवि राम्राे हुने उनकाे आशय छ ।

याहूले सन् २०१३ मा टम्बलरलाई १.१ अर्ब डलरमा अधिग्रहण गरेको थियो । तर २०१६ सम्ममा कम्पनीले धेरै क्षति व्यहोर्नु परेको थियो । यही कारण याहूले टम्बलरको मूल्य २३ कराेड डलरमात्रै तोकेको थियो । त्यसको एक वर्षपछि २०१७ मा भेरिजोनले याहूलाई नै ४.४८ अर्ब डलरमा (करिब ५८५ अर्ब ४५० करोड रुपैयाँ) अधिग्रहण गर्‍याे  । यहीबेला भेरिजोनले टम्बलरलाई २३० करोड डलरमा लिएको थियो ।

त्यसपछि २०१९ मा भेरिजोनले टम्बलरलाई वर्डप्रेसको स्वामित्वमा रहेको अटोमेटिकलाई ३० लाख डलरमा बेच्यो । यसरी याहूले टम्बलरमा गरेको लगानीमा १.०९७ अर्ब डलर गुमाएको थियो ।

त्यस्तै याहूको मुख्य अपरेटिङ अफिसरको रूपमा हेनरिक डे क्यास्ट्रोलाई नियुक्त गरेकोमा समेत पूर्व सीईओ मारिसाले पछुतो मानेकी छन् । उक्त भूमिकाका लागि हेनरिक उपयुक्त व्यक्ति नभएको उनकाे स्वीकारोक्ति छ ।

साथै याहूको  शेयरधनीहरूकाे पैसा बचाउन ‘ट्याक्स फ्री अलिबाबा स्पिनअफ’ बनाउन नसकेकोमा समेत उनले पछुतो मानिन् ।

याहूले सन् २००५ मा अलिबाबाको १५ प्रतिशत शेयर अधिग्रहण गरेको थियो । त्यसबाट स्पिनअफका रुपमा याहूले छुट्टै कम्पनी खडा गर्न सक्थ्यो । यदि त्यसो गर्न सकेको भए शेयरधनीको १० अर्ब डलर जोगिने र याहूलाई एक स्वतन्त्र कम्पनीको रूपमा जारी गर्न सकिने उनले बताइन् ।

मारिसा मेयर २०१२ देखि २०१७ सम्म याहूकी सीईओ बनेकी थिइन् ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० ११:८