close

सामुदायिक विद्यालयका कक्षाकोठामा डिजिटल बोर्ड राख्दै काठमाडौं महानगरपालिका

टेकपाना टेकपाना

जेठ ८, २०८० ८:५८

सामुदायिक विद्यालयका कक्षाकोठामा डिजिटल बोर्ड राख्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष  २०८०/०८१ मा काठमाडौं भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका सबै कक्षाकोठाहरूमा  डिजिटल बोर्ड राख्ने भएको छ । 

विद्यालयको प्रत्येक कक्षामा एउटा डिजिटल बोर्ड राख्ने गरी महानगरपालिकाले तयारी थालेको जानकारी दिएको हो । 

महानगरपालिकाले आगामी आ.व. को नीति, कार्यक्रम तथा बजेटमा यो कुरा समावेश गर्न गृहकार्य गरिरहेको मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय प्रमुख नुरनीधि न्यौपानेले जानकारी दिए । यो कामको लागि धेरै खर्च हुने भएकाले सङ्घीय सरकारसँग पनि बजेट माग गरिएको उनले बताए । 

“हरेक विद्यालयमा १० ओटा डिजिटल बोर्ड वितरण गर्दा पनि एक हजार बोर्ड चाहिन्छ,” उनले टेकपानासँग भने, “एउटा बोर्डलाई करिब चार लाख रुपैयाँ पर्छ । हामीले यही अनुरूप सङ्घीय सरकारसँग बजेट माग गरेका हौं ।”

सामुदायिक विद्यालय सङ्घीय सरकारको समेत भएकाले डिजिटल बोर्डका लागि बजेट छुट्याइने कुरामा आफूहरू विश्वस्त भएको उनले बताए । तर सरकारबाट बजेट नपाएको खण्डमा पनि यो योजना नरोकिने उनले दाबी गरे । “यदि सरकारबाट बजेट प्राप्त भएन भने पनि महानगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट नै बोर्ड वितरण गर्ने योजना बनाएको छ,” उनले भने, “विद्यालयलाई आवश्यक पर्ने प्रविधिका लागि अन्य स्रोत जुटाउन पनि महानगर तयार छ ।” 

हाल महानगर भित्र ९३ ओटा सामुदायिक विद्यालय छन् । ती मध्ये कतिपय विद्यालयहरूमा धेरै विद्यार्थी भएका कारण एउटै कक्षाको लागि पनि फरक-फरक कोठा (Section) हुने भएकाले सबै कक्षामा डिजिटल बोर्ड राख्न आफूहरू लागि परेको उनको भनाई छ । यो योजनाले शैक्षिक गुणस्तर उकास्न भूमिका खेल्ने महानगरको विश्वास रहेको उनले बताए ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० ९:१