close

कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर, अनलाइनबाट यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असार २८, २०८० ८:३७

कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर, अनलाइनबाट यसरी दिनुहोस् आवेदन

काठमाडौं । संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै महानगरले शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको हो । यसअन्तर्गत आगामी साउन १२ गतेसम्म महानगरको वेबसाइटमार्फत इच्छुक विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

महानगरका अनुसार साउन २० गते विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन् ।

 

कसरी भर्ने छात्रवृत्ति परीक्षाका लागि अनलाइन फारम ?

- सबैभन्दा पहिले यहाँ क्लिक गरी काठमाडौं महानगरको वेबसाइटमा जानुहोस् ।

- त्यसपछि होजपेजमा रहेको ‘स्टार्ट रजिस्ट्रेसन’को बटनमा क्लिक गर्नुहोस् । 

- यति गरिसकेपछि छात्रवृत्तिका लागि आवश्यक योग्यताबारे उल्लेख गरिएको पेज खुल्छ । 

महानगरपालिकाका अनुसार अनलाइन फारम भर्दा तल उल्लेख गरिएका कागजात आवश्यक पर्नेछन् । 

-अनलाइन फाराम भर्न चाहिने आवश्यक कागजात (स्क्यान/फोटो)

- एसईई प्रवेश पत्र

- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो

- नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र

- एसईई वा सो सरहको मार्कसिट र चारित्रिक प्रमाण पत्र

- सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको सिफारिस

- संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको सिफारिस

- आरक्षणका लागि आवश्यक प्रमाण कागजात

यति गरिसकेपछि पेजको अन्तिममा रहेको नेक्स्ट (Next)को बटनमा थिच्नुहोस् । यसपछि खिल्ने पेजमा पनि फारम भर्दा कुन विवरण कसरी राख्ने भन्ने जानकारी दिइएको । फारम पठाइसकेपछि सुधार गर्ने व्यवस्था नभएकाले सुरुमै ध्यान दिएर फारम भर्न महानगरले अनुरोध गरेको छ ।

यति भइसकेपछि पुनः अन्तिममा रहेको नेक्स्ट (Next)को बटनमा ट्याप गर्नुहोस् । यसपछि खुल्ने पेजमा पनि फोटो तथा अन्य कागजात कसरी राख्ने भन्ने सिकाइएको छ । त्यहाँ उल्लेख गरे अनुसार फोटोको साइज र तरिका मिलाउनुहोस् । 

महानगरका अनुसार आवेदन दिँदा बुझाउनुपर्ने फोटो जेपीईजी फर्म्याटमा २०० केबीभन्दा कम साइजको हुनुपर्छ । त्यस्तै अन्य कागजात भने ५०० एमबीभन्दा कम पीडीएफ फर्म्याटमा हुनुपर्छ । यति बुझिसकेपछि पुनः नेक्स्टको बटनमा क्लिक गर्नुहोस् । 

अनलाइन आवदेनको पेजमा आइसकेपछि के गर्ने ?

माथि उल्लेख गरिएका सबै प्रक्रिया पूरा गर्दै जानुभयो भने ‘स्कोलरशिप एक्जामिनेसन एप्लिकेसन फर्म’ लेखिएको पेज खुल्छ । 

सो पेजमा तपाईंले एसईईको सिम्बोल नम्बर, ग्रेड र जन्ममिति राख्नुपर्ने हुन्छ । 

यति भइसकेपछि अन्तिममा रहेको 'कन्टिन्यु' बटनमा क्लिक गर्नुहोस् । त्यसपछि माग गरिएका कागजात पठाउनुपर्ने हुन्छ । यसरी छात्रवृत्ति परीक्षाका लागि आवेदन दिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८० १२:२१