close

अमेरिकाको ठूलो चिप कम्पनी माइक्रोनमाथि चीनको प्रतिबन्ध

टेकपाना टेकपाना

जेठ ८, २०८० ९:२७

अमेरिकाको ठूलो चिप कम्पनी माइक्रोनमाथि चीनको प्रतिबन्ध

काठमाडौं । चीनले अमेरिकी चिप कम्पनी माइक्रोन टेक्नोलोजीको उत्पादनमाथि प्रतिबन्ध लगाएको छ । कम्पनीले उत्पादन गरेको चिपले राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको भन्दै चीनले यो अमेरिकी कम्पनीको उत्पादनमा प्रतिबन्ध लगाएको हो । 

देशको साइबरस्पेस नियामकले आइतबार  यस्तो घोषणा गरेको हो । यसको अर्थ विश्वको दोस्रो ठूलो अर्थतन्त्रको प्रमुख पूर्वाधार परियोजनाहरूमा माइक्रोनका उत्पादनहरूलाई प्रतिबन्ध लगाइनेछ। पछिल्लो समयमा अमेरिका र चीनको बीचमा बढिरहेको विवादबीच अमेरिकी चिप निर्माताविरुद्ध चीनको यो पहिलो प्रतिबन्ध हो । 

अमेरिकाले चीनका धेरै उत्पादनहरूमा प्रतिबन्ध लगाइसकेको छ भने थप प्रतिबन्ध लगाउने क्रम जारी छ । चीनले भने अमेरिकी कम्पनीमाथि पहिलो पटक प्रतिबन्ध लगाएको हो । 

"समीक्षामा माइक्रोनका उत्पादनहरूमा गम्भीर नेटवर्क सुरक्षा जोखिमहरू पाइएको छ, जसले चीनको महत्वपूर्ण सूचना पूर्वाधार आपूर्ति शृङ्खलामा सुरक्षा जोखिमहरू निम्त्याउन सक्छ । यसले चीनको राष्ट्रिय सुरक्षालाई असर गर्छ," साइबर स्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा कम्पनीले भने आफ्नो उत्पादनमा जोखिम नभएको र आफूहरू चिनियाँ निकायसँग छलफल गर्न तयार रहेको बताएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० ९:२७