close

अब ह्वाट्सएपमा मेसेज पठाएको १५ मिनेटसम्म एडिट गर्न सकिने

टेकपाना टेकपाना

जेठ ९, २०८० ९:१

अब ह्वाट्सएपमा मेसेज पठाएको १५ मिनेटसम्म एडिट गर्न सकिने

काठमाडौं । मेसेज पठाउँदा कहिलेकाही केही गलत कुरा जानसक्छ अथवा आफूले टाइपिङमा गल्ती पनि हुनसक्छ । यस्तोमा पठाएको पुरै मेसेज डिलिट गर्नुपर्छ अथवा पुन: अर्को मेसेज लेख्नुपर्ने हुन्छ । 

ह्वाट्सएपमा भने अब यो बाध्यता नरहने भएको छ । अब ह्वाट्सएपमा तपाईँले मेसेज पठाउँदा कुनै गल्ति भएमा यसलाई सच्याउनका लागि १५ मिनेटको समय दिइने भएको छ । ह्वाट्सएपमा प्रयोगकर्ताले आफूले पठाएको मेसेज १५ मिनेट भित्र एडिट गर्न सक्ने फिचर सार्वजनिक भएको हो । मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकमा एक पोस्ट शेयर गर्दै यो फिचरको विषयमा जानकारी दिएका हुन् । 

हुन त यो फिचरको बेटा भर्सन केही समय अगाडि केही प्रयोगकर्ताहरूको ह्वाट्सएपमा पनि देखा परेको थियो । यद्यपि कम्पनीले भने आधिकारिक रुपमा कुनै जानकारी दिएको थिएन । जुकरबर्गले पोस्ट शेयर गरेसँगै ह्वाट्सएपले पनि एक ब्लग सार्वजनिक गर्दै यस विषयमा जानकारी दिएको छ । 

उक्त ब्लगका अनुसार यो फिचर विश्वका सबै प्रयोगकर्ताको लागि उपलब्ध हुन सुरु भइसकेको छ । विस्तारै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने ब्लगमा उल्लेख छ ।

यो फिचर प्रयोग गर्नको लागि आफूले एडिट गर्न चाहेको मेसेजमा लामो समयसम्म प्रेस गर्नुपर्ने हुन्छ । यसपछि पपअपमा आएको 'एडिट' अप्सनमा क्लिक गरेर आफ्नो मेसेज एडिट गर्न सकिन्छ । 

यसरी प्रयोगकर्ताले पठाएको १५ मिनेटसम्म सो मेसेज एडिट गर्न सकिन्छ । यसरी एडिट गरिएको मेसेजको तल सानो अक्षरमा 'एडिटेड' भनेर देखाइनेछ । उक्त एडिटेड अप्सनमा क्लिक गर्दा पुरानो मेसेज भने देख्न सकिनेछ । 
  

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० ९:२