close

प्रयोगकर्ताको डेटा गोप्य नराखेको भन्दै फेसबुकलाई युरोपमा पौने २ खर्ब जरिवाना

टेकपाना टेकपाना

जेठ ९, २०८० १०:१०

प्रयोगकर्ताको डेटा गोप्य नराखेको भन्दै फेसबुकलाई युरोपमा पौने २ खर्ब जरिवाना

काठमाडौं । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो क्षतिपूर्ति तिराउने भएको छ ।

युरोपको डिजिटल गोपनीयता नीति विपरित युरोपेली नागरिकको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै संघले मेटालाई १ अर्ब ३० करोड डलर (१ खर्ब ७१ अर्ब ८९ करोड ९० लाख रुपैयाँ) जरिवाना तिराउने घोषणा गरेको हो । 

लामो समयको अध्ययनपछि आयरल्यान्ड डेटा प्रोटेक्सन कमिसनले तयार गरेको रिपोर्टको आधारमा संघले कारबाहीको घोषणा गरेको हो । अन्य देशको तुलनामा युरोपेली संघ अन्तर्गतका देशहरूमा डिजिटल अधिकार सम्बन्धि नियमहरू केही फरक र कडा पनि छन् । 

हुन त कुनै प्रविधि कम्पनीले कुनै देशको साइबर नीति तोडेकै कारणले जरिवाना तिर्नुपरेको यो पहिलो पटक होइन । तर संघले कुनै कम्पनीलाई यति धेरै रकम जरिवाना तिराउने घोषणा गरेको भने यो पहिलो पटक हो । 

जरिवानासँगै मेटालाई पाँच महिनाभित्र अमेरिकी सर्भरमा भएको डेटा युरोपेली सर्भरमा नै ट्रान्सफर गर्न पनि निर्देशन दिइएको छ । साथै आउने दिनमा युरोपका नागरिकको डेटा अमेरिकी सर्भरमा नराख्न चेतावनी पनि दिइएको छ ।  
 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० १०:१०