close

प्रविधि प्रयोग गरेर केही गर्न चाहनेका लागि ‘इनोभेटिभ घर नेपाल’

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ २०, २०८० १८:५८

प्रविधि प्रयोग गरेर केही गर्न चाहनेका लागि ‘इनोभेटिभ घर नेपाल’

काठमाडौं । कुरा १० वर्षअघिको हो । संसारभर नयाँ-नयाँ प्रविधि विकास हुने क्रम तीव्र गतिमा अघि बढिरहेको थियो । यसको प्रभाव नेपालमा पनि उत्तिकै थियो ।

क्याथफोर्ड इन्टरनेसनल कलेजमा 'इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ' अध्ययन गरिरहेका विक्रान्त कार्की र उनको टिम विभिन्न कार्यक्रममा सहभागी भइरहेका हुन्थे । उक्त टिममा सोही क्याम्पसको विभिन्न तहमा अध्ययन गरिरहेका रिजन श्रेष्ठ, चेतबहादुर थापा, पंकज नेपाल, अभिषेक कुमार शाह, देव खड्का र लुम्निमा श्रेष्ठ आबद्ध थिए । 

उनीहरूले प्रविधिलाई आत्मसात् गरेर त्यसमा गरिरहेका नयाँ काम तथा परीक्षणलाई प्रशंसा गर्नेहरू पनि उत्तिकै थिए ।

त्यही समयमा उक्त टिमलाई पोखरामा आयोजना हुन लागेको वर्कशपका लागि बोलाइयो । वर्कशपमा उनीहरूले काठमाडौंमा जस्तो प्राविधिक परीक्षण गरिरहेका थिए, त्यही प्रयोग तथा परीक्षण पोखरामा देखाउनुपर्ने थियो ।

"हामीले काठमाडौंमा सामान्य तरिकाले जसरी प्रविधिको परीक्षण गरिरहेका थियौं, पोखरामा त त्यो भयङ्कर ठूलो मानिने रहेछ," सुरुवाती दिन सम्झिँदै विक्रान्त भन्छन्, "त्यस्ताे देख्दा विश्वको तुलनामा नेपालमा 'टेक्नोलोजी ग्याप' धेरै छ भन्ने थाहा थियो । तर, नेपालभित्रै पनि प्रविधिमा मानिसहरू धेरै पछाडि रहेछन् भन्ने कुरा त्यो बेला थाहा भयो ।"

यता आफूले प्रविधिको प्रयोग गरी गरेका कामहरू कतै देखाउन उनीहरू उत्तिकै आतुर थिए । त्यसपछि उनीहरूले यस्तो संस्थाको परिकल्पना गरे, जसका माध्यमबाट नितान्त नवीनतम् प्रविधिमा काम गर्न सकियोस्, नयाँ पुस्ताले सिकेका प्रविधिका कुरालाई सबै वर्गमा पुर्‍याउन सकियोस् ।

त्यसपछि सुरु भयो 'इनोभेटिभ घर नेपाल'को यात्रा । 

के हो इनोभेटिभ घर नेपाल ?

नेपाली समाज प्रविधिको प्रयोग गर्ने कुरामा धेरै पछाडि परेको महसुस गरेको याे विद्यार्थी टिमले नेपालमा एउटा गैरनाफामुखी संस्था सञ्चालन गर्ने योजना बनायो ।

नवीनतम् सोच, ऊर्जा र जाँगरले ओतप्रोत टिमको घरका रूपमा विकास गर्न खोजिएको संस्थाको नाम नै इनोभेटिभ घर नेपाल राख्ने निधो गरियो । यतिबेलासम्म इनोभेटिभ घर नेपालको आइडिया परिकल्पनामा मात्र सीमित थियो ।

पोखराको वर्कशप सकिएपछि उनीहरू काठमाडौं फर्किए र आफ्नो पढाइ, काम र सँगसँगै नयाँ परियोजनालाई पनि अगाडि बढाउन थाले ।

"पोखराबाट फर्किसकेपछि हामीले विभिन्न सिरिज सञ्चालन गर्यौं," त्यसबेलाको परिस्थिति सम्झिँदै विक्रान्त भन्छन्, "हामीले हरेक हप्ता कलेजमा जे सिकेका वा जानेका थियौं, ती कुराहरू सिकाउन थालेका थियौं । इनाेभेटिभ घर नेपालबाट पनि यही कुरालाई निरन्तरता दिने हाम्रो योजना थियो ।"

यही परियोजनाका साथ संस्था स्थापना त भयो तर उक्त टिमलाई संस्था सञ्चालन गर्ने प्रक्रियाको जानकारी थिएन । जसले गर्दा 'इनोभेटिभ घर नेपाल'लाई औपचारिक संस्थाका रूपमा स्थापना गर्न उक्त टिमले दुई वर्षसम्म सङ्घर्ष गर्नुपर्‍यो । त्यसपछि मात्र इनोभेटिभ घर नेपाल संस्थाका रूपमा विकास भएको कार्की सुनाउँछन् । 

उनीहरूको यो परियोजनामा साथ दिन अन्य इन्जिनियरिङ कलेजका विद्यार्थीहरू पनि जोडिए । विस्तारै पोखरा, बिराटनगर जस्ता सहरबाट पनि विभिन्न मानिसहरू उनीहरूको परियोजनामा जोडिएका थिए ।

सुरुवाती चरणमा एकले अर्कालाई आफूले सिकेका कुरा सिकाउने प्लेटफर्मका रूपमा इनोभेटिभ घर नेपाललाई अगाडि बढाइयो । सिक्ने र सिकाउने काम अघि बढिरहँदा उनीहरूले विभिन्न उद्योगसँग सहकार्य गरेर विभिन्न प्रविधि नेपालमै विकास गर्ने योजना बनाएका थिए ।

"हामीले सिक्ने र सिकाउने कामलाई निरन्तरता दिँदै उद्योगसँग सहकार्य गरेर रिसर्च एण्ड डेभलपमेन्टको काम अघि बढाउने योजना बनायौं," विक्रान्त अगाडि भन्छन्, "हाम्रो मुख्य योजना नै संस्थालाई रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनका रूपमा अगाडि बढाउने थियो ।"

संस्थामा आएका विभिन्न मानिसहरूलाई उनीहरूले ड्रोन प्रविधि, थ्रीडी प्रिन्टिङ प्रविधि जस्ता विषयमा व्यवहारिक परीक्षण गरेर देखाउँथे ।

त्यसैबीच सन् २०१५ मा संस्था सुरु गर्ने टिम आ-आफ्नै बाध्यताले संस्थाबाट टाढिए । कोही विदेश गए । कोही नेपालमा नै नयाँ काम गर्ने प्रण गर्दै आफ्नै परियोजनामा काम गर्न थाले । त्यसपछि संस्था सम्हाल्ने जिम्मा विक्रान्तको काँधमा आयो । उनी सुरुवाती दिनदेखि अहिलेसम्म महासचिवका रूपमा इनोभिटभ घर नेपाललाई नेतृत्व गरिरहेका छन् ।

पहिले भएका सदस्य गएपनि संस्थामा दिनानुदिन नयाँ-नयाँ विद्यार्थीहरू केही सिक्न र आफूले सिकेका कुरालाई एक्सपेरिमेन्ट गर्न इनोभेटिभ घरमा आइरहेका हुन्थे । त्यही समयमा हाल संस्थामा अध्यक्ष रहेका रहेका सद्दाम हुसेन धोबी, उपाध्यक्ष विक्रम श्रेष्ठ र सचिव रामकृष्ण यादव जोडिएका हुन् ।

यसरी संस्थालाई समर्थन गर्न विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू आबद्ध हुन थाले ।

विक्रान्तका अनुसार सन् २०१७ मा उक्त संस्थामा ४५ जनाभन्दा बढी विद्यार्थी आबद्ध थिए । संस्थामा आउने सिक्ने र त्यहाँ सिकेको सीपलाई आफ्नै तरिकाले सुरु गर्नेहरू धेरै छन् ।

सय जना बढी लाभान्वित

इनोभेटिभ घर नेपालको परिकल्पनादेखि त्यसलाई वास्तविक स्वरूप सम्म ल्याउँदा ११ जना व्यक्ति आबद्ध थिए । विभिन्न समयमा विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी संस्थामा आबद्ध हुने क्रम अगाडि बढिरह्यो ।

कार्कीका अनुसार हालसम्म अनुसन्धान, खोज तथा विकासका लागि इनोभेटिभ घर नेपालमा १०० जनाभन्दा बढी आबद्ध भइसकेका छन् ।

"कलेजमा आफूले पढेका सैद्धान्तिक कुरालाई वास्तविकतामा परिणत गर्न यहाँ आउनेहरू धेरै हुनुहुन्छ," विक्रान्त भन्छन्, "यहाँ काम गरेको अनुभवले उहाँहरूलाई धेरै संस्थामा आबद्ध हुन, आफ्नै स्टार्टअप खोल्न, विदेशमा पढ्न जान सहयोग गरेको छ ।"

अहिले उक्त संस्थामा १० जनाले विभिन्न पदमा रहेर काम गरिरहेका छन् । आफैं अनुसन्धान गर्नेले आफ्नै तरिकाले काम गर्न पाउँछन् भने संस्थामा आएका परियोजनामा काम गर्नेले तलबसमेत पाउने उनी बताउँछन् ।

"यहाँ जो पनि आएर काम गर्न सक्नुहुन्छ । हामी सकेको सहयोग गर्छौं । रुचि हुनुपर्‍यो जसले जुनसुकै परियोजनामा काम गर्न पाउनुहुन्छ," कार्की अगाडि भन्छन्, "नयाँ आइडिया छ भने हामी उहाँहरूलाई गाइड गर्छौं । र, त्यसलाई वास्तविकतामा ल्याएर व्यावसायिक परियोजनाका रूपमा अगाडि बढाउन सहयोग गर्छौं ।"

संस्थाबाट लाभान्वित व्यक्तिहरू

गैरनाफामुखी संस्था भएकाले इनोभेटिभ घर नेपालको मुख्य उद्देश्य नै प्रविधिको प्रयोग गरी नयाँ एक्सपेरिमेन्ट, उपकरण निर्माण गर्नु र रिसर्च एन्ड डेभलपमेन्टलाई निरन्तरता दिनु हो । समग्रमा उक्त संस्था इनोभेसन तथा नयाँ प्रविधि विकास गर्ने कार्यमा केन्द्रित छ ।

यहाँ काम गर्नेहरू पनि यस्तै कार्यबाट लाभान्वित भएको कार्कीको भनाइ छ । संस्थापक सदस्यमध्ये विक्रान्त र अभिषेक बाहेक अन्य सबै विदेशमा छन् । जसले संस्थाकै अनुभवका आधारमा विभिन्न क्षेत्रमा उपयुक्त काम पाएका छन् ।

"हाम्रो संस्थामा आएर अनुभव बटुल्नेहरू अधिकांश बाहिर देशमा हुनुहुन्छ," कार्की भन्छन्, "संस्थामा गरेको कामले आफूलाई विदेशमा राम्रो कम्पनीमा जागिर पाउन मद्दत गरेको भन्दै धेरैले मेसेज पठाउनुहुन्छ । खुसी लाग्छ ।"

कार्कीका अनुसार सोही संस्थामा आबद्ध भएका दिवस खड्का मास्टर्स गर्न अमेरिका गए । उनले इनोभेटिभ घर नेपालमा गरेको कामले पीएचडी पढ्न छात्रवृत्तिका लागि योग्य बनाएको कार्की सुनाउँछन् । त्यस्तै अस्त्र प्रधानले पनि पीएचडीका लागि छात्रवृत्ति पाएको उनले जनाए ।

"यहाँबाट सिकेको कामले उहाँहरूलाई विदेशमा स्थापित गर्न सहयोग गरेको छ । यस्तो खबर सुन्दा खुसी लाग्छ," कार्की थप्छन् ।

त्यस्तै सोही संस्थाको अनुभव लिएर विशाल भण्डारीले अमेरिकामा फोटोन सम्बन्धी विज्ञता हासिल गरिरहेका छन् । आफूले उक्त क्षेत्रमा हासिल गरेको शिक्षा नेपालमा पनि उपलब्ध गराउने भण्डारीको लक्ष्य छ । यसरी विभिन्न नयाँ क्षेत्रमा अध्ययन गरिरहेका व्यक्ति नेपाल फर्किएर योगदान दिने सङ्कल्पले संस्थाको उद्देश्य पूरा भइरहेकोमा कार्की दङ्ग छन् ।

इनोभेटिभ घर नेपालमा कस्ता विद्यार्थी जाने ?

विक्रान्त भन्छन्, "प्रविधिको प्रयोग गरी कुनै स्टार्टअप गर्न खोज्नेहरूका लागि इनोभेटिभ घर नेपालको ढोका सधैं खुला छ । हामीसँग अनुभव छ, नेटवर्किङ छ । हामी उनीहरूलाई मार्गदर्शन दिन सक्ने सामर्थ्य छ । त्यसैले कुनै पनि स्टार्टअप गर्दै हुनुहुन्छ भने बजार अवस्था बुझ्न एक पटक यहाँ आउन सक्नुहुन्छ ।"

प्राविधिक विषय अध्ययन गरेर आफ्नो अध्ययनलाई व्यवहारमा ल्याउन चाहने व्यक्ति परीक्षणका लागि इनोभेटिभ घर नेपाल आउन सक्ने उनको भनाइ छ । "नेपालमा अधिकांश हार्डवेयर स्टार्अप असफल भएका छन् । हाम्रो अनुभव यस्ता स्टार्टअप गर्नेहरूका लागि उपयोगी हुनसक्छ," उनी थप्छन् ।     

इनोभेटिभ घर नेपालले हात हालेका परियोजनाहरू

इनोभेटिभ घर नेपालबाट सबैभन्दा पहिले सुरु भएको परियोजना हो 'मन्त्र इभेन्ट' । "हामीले सन २०१७ तिर राष्ट्रिय स्तरको कार्यक्रम गर्ने भनेर मन्त्र इभेन्ट सुरु गर्यौं," कार्की भन्छन्, "सबैभन्दा पहिले काठमाडौं, त्यसपछि विराटनगर र अन्त्यमा पोखरामा कार्यक्रम अगाडि बढाउने उद्देश्यका साथ उनीहरूले औपचारिक रूपमा मन्त्र इभेन्ट सुरु गर्‍यौं ।"

'मन्त्र, प्रविधिको जपना' नाराका साथ मन्त्र परियोजना सुरु भएको थियो । यसको मुख्य उद्देश्य 'नेपाल बन्छ जब नेपालमै बन्छ' थियो ।

"नेपाल बन्छ जब नेपालमै बन्छ एउटा उद्देश्य मात्र नभएर हाम्रो संकल्प थियो । बाहिरबाट आयात हुने प्रविधि हामी नेपालमै विकास गर्न चाहन्थ्यौं । यही विचारका साथ मन्त्र परियोजना अगाडि बढायौं," कार्की सुनाउँछन् ।

मन्त्र इभेन्टमा उनीहरूले काठमाडौंमा पेट्रोलमा चलिरहेको ब्रुमरलाई विद्युतीय ब्रुमरमा रूपान्तरण गर्ने सकिन्छ भन्ने नमुना प्रस्तुत गरे । यसरी सहरमा भएका विभिन्न समस्यालाई प्रविधिको प्रयोग गरी कसरी समाधान गर्न सकिन्छ भन्नेमा उनीहरू केन्द्रित थिए ।

पोखरमा उनीहरूले फेवा तालमा भएको जलकुम्भी हटाउन विद्युतीय 'लेक स्वीपर' बनाउने प्रस्ताव राखेका थिए । "तर, यसमा के समस्या आइदियो भने हामी त्यो स्तरमा पुगेर विभिन्न निकायलाई विश्वस्त बनाउन सक्ने लेभलमा थिएनौं," आफूले प्रोटोटाइप तयार पारेको भए पनि व्यवहारिक रूपमा काम गर्न नपाएको गुनासो पोख्दै कार्की सुनाउँछन् ।

नेपालमा ट्रेडलाई बढी प्राथमिकता दिँदा आफ्ना परियोजना सम्पन्न हुन नसकेको कार्कीको भनाइ छ ।

"जो सम्बन्धित निकायमा हुनुहुन्छ उहाँहरूले इनोभेसन वा भनौं प्रविधि निर्माणमा लगानी गर्न वा लगानीका लागि आह्वान गर्न डराउनु भयो । किनभने सोझै चीन वा भारतबाट आयात गर्न उहाँहरूलाई सहज र सस्तो हुन्थ्यो," उनी भन्छन् ।

यसरी देशमै प्रविधि विकास गर्ने कुरामा सम्बन्धित निकायले क्षणिक फाइदा हेर्दा परियोजना सिद्धान्तमै सीमित भएको कार्कीले बताएका छन् ।

ठूला परियोजनाका काम नआए पनि उनीहरूलाई थोरै मात्रामा विभिन्न उपकरण बनाउने काम भने आइरहेको हुन्थ्यो । उनीहरूले मन्त्र परियोजना अन्तर्गत नै काठमाडौंमा स्मार्ट पार्किङ सुरु गरेको कार्कीको भनाइ छ । त्यसैगरी एभियसन म्युजियममा प्रविधि प्रयोग गरी दृष्टिविहीन व्यक्तिहरूलाई सङ्ग्राहलयभित्र भएका कुराको जानकारी दिने प्रविधि पनि उनीहरूले विकास गरेका हुन् ।

त्यस्तै उनीहरूले बनाएको इन्डोर नेभिगेसन प्रणाली (कुनै ठूलो मल वा होटेलमा जाँदा कुन ठाउँमा के छ भन्ने कुराको जानकारी) पनि आन्तरिक रूपमा अघि बढिरहेको परियोजना हो ।

विशेषगरी पर्यटकका लागि यस्तो सुविधा उपलब्ध गराउने कुरामा कार्की विश्वस्त छ । यसमा सरकारले सहयोग गरेको अवस्थामा पर्यटन विभागलाई एप उपलब्ध गराएर पर्यटनमा डिजिटल नेभिगेसन सिस्टम लागू गराउने उनीहरूको लक्ष्य छ । 

"विशेषगरी बाहिरी देशबाट सामान आयात गर्नुपर्दा हामीले धेरै समस्याको सामना गर्नुपर्यो," कार्की भन्छन्, "पछि विभिन्न निकायसँग पहल गरेर हामीले गैरनाफामुखी संस्थाका लागि आयात शुल्क कम लाग्ने बनायौं । अहिले पनि यसरी नै आयात गरिरहेका छौं ।"

यस्तै इनोभेटिभ घर नेपालले 'यान्त्री'का परियोजनामा समेत काम गरेको छ । उनीहरूले विभिन्न संस्थाहरूसँग मिलेर ह्युमनोइड रोबोर्ट बनाउने परियोजनामा काम गरे पनि विभिन्न असमझदारी हुँदा परियोजना असफल भएको कार्कीको भनाइ छ ।

यसैगरी इनोभेटिभ घर नेपालले विभिन्न सिमुलेटर निर्माणमा काम गरिरहेको छ । पछिल्लो समय सिमुलेटर अन्तर्गतका दुई ओटा परियोजना आएको उनले बताए । भन्छन्, "आर्मीले वास्तविक गाडी सिक्नुभन्दा पहिले सिमुलेटरमा सिक्नुपर्ने हुन्छ । हामी त्यही सिमुलेटर परियोजनामा काम गरिरहेका छौं । अर्को हामी अहिले पाइटल सिमुलेटर परियोजनामा पनि काम गरिरहेका छौं । जहाँबाट विद्यार्थीले वास्तविक विमान चलाएको अनुभव पाउन सक्छन् । यस्तो किसिमको सिकाइ पढाइमा काम लाग्छ ।"

यसैगरी क्याप्टेन रोबोर्ट, स्मार्ट ह्विलचियर, ड्रोनबाट नक्साङ्कनका काम यस संस्थाले गरिरहेका नयाँ परियोजना हुन् ।  

आम्दानीको अधिक रकम खोज तथा अनुसन्धानमा खर्च

इनोभेटिभ घर नेपालमा आएका विभिन्न परियोजनाबाट आम्दानी भएको अधिकांश रकम खोज तथा अनुसन्धानमा लगाउने गरेको संस्थाका अध्यक्ष सद्दाम हुसेन धोबी बताउँछन् । उनी भन्छन्, "गैरनाफामुखी संस्था भएकाले संस्था सञ्चालन गर्न जति खर्च चाहिन्छ त्योबाहेक बाँकी रकम हामी रिसर्चमा खर्च गर्छौं ।"

हुसेनले ६० भन्दा बढी रिसर्च पेपर तयार पारिसकेका छन् । जसमध्ये १० ओटाभन्दा बढी रिसर्च पेपर संस्थामा आबद्ध भएपछि उनले तयार पारेका हुन् । यस्ता रिसर्च पेपर अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित हुने गर्छन् ।

"ती अन्तर्राष्ट्रिय जर्नलमा रिसर्च पेपर प्रकाशित हुँदाको एउटा रमाइलो कहानी छ," हुसेन भन्छन्, "हाभार्ड विश्वविद्यालयबाट त्यहाँका प्राध्यापकले मलाई मेल पठाउनु भएको थियो । मैले यही संस्थामा काम गर्दा हासिल गरेका उपलब्धिमध्ये यो पनि एक हो ।"

रोबोटिक्स एकेडेमी अफ नेपालको स्थापना

इनोभेटिभ घर नेपाललाई सार्वजनिक संस्थाका रूपमा विकास गरेको विक्रान्त नेतृत्वको टिमले निजी स्तरबाट रोबोटिक्स एकेडेमी अफ नेपाल स्थापना गरेको छ ।

विद्यार्थीहरूलाई सुपथ मूल्यमा औपचारिक रोबोटिक्स शिक्षा दिने उद्देश्यले एकेडेमी स्थापना गरिएको कार्की बताउँछन् । भन्छन्, ''निजी रूपमा हामी केही व्यक्तिहरू मिलेर रोबोटिक्स एकेडेमी अफ नेपाल स्थापना गरेका छौं । यसलाई औपचारिक रोबाेटिक्स शिक्षा उपलब्ध गराउने शैक्षिक संस्थाका रूपमा विकास गर्न काम गरिरहेका छौँ ।" 

लगानी भित्र्याएर खोज, अनुसन्धान तथा विकास गर्ने याेजना

संस्था वा कम्पनी सञ्चालन गर्नका लागि आर्थिक पक्ष निकै महत्त्वपूर्ण मानिन्छ । रिसर्च एन्ड डेभलपमेन्टका काम गर्दा खर्च धेरै लाग्ने कार्की बताउँछन् । "हामीले आफ्नो खर्चको बन्दोबस्त त कहाँकहाँबाट मिलाइरहेका हुन्छौं," कार्की अगाडि भन्छन्, "संस्थालाई चलायमान राख्न हामी विभिन्न ठाउँबाट लगानी भित्र्याउँछौं र त्यसैमा अनुसन्धान गर्छौं । हामी डोनेसन लिएर काम गर्दैनौं ।"

सोही अन्तर्गत उक्त संस्थाले स्मार्ट सिटीका लागि विभिन्न नगरपालिकाहरूसँग सहकार्य गरेर ड्रोन काम गरिरहेको छ । संस्थामा अनुसन्धानकर्ताका रूपमा जोडिएर अहिले सचिवको पद सम्हालिरहेका रामकृष्ण यादव भन्छन्, "हामीले विभिन्न नगरपालिकालाई स्मार्ट सिटी बनाउन ड्रोन म्यापिङको काम गरिरहेका छौं ।"

त्यस्तै वाटर प्लान्टेसन (पानीलाई स्वचालित रूपमा फिल्टर गरेर जारमा भर्ने प्रविधि) प्रविधिका लागि बाहिर ४० देखि ५० लाख रुपैयाँसम्म पर्ने भए पनि उक्त संस्थाले २० लाख रुपैयाँमा प्रोजेक्ट लिएर त्यसमा खोज तथा अनुसन्धान गरिरहेको छ ।

"हामी फाइदा नहेरेर विभिन्न परियोजनामा हात हालिरहेका हुन्छौं," यादव भन्छन्, "यस्ता परियोजना हाम्रा लागि नयाँ हुन्छन् । सिकाइका रूपमा हामी काम गरिरहन्छौं ।"

यादव ड्रोन निर्माण गर्ने काममा संलग्न छन् । फिल्मका साथै हाइटेन्सन तार तान्ने ड्रोन उपलब्ध गराउने जस्ता महत्त्वपूर्ण परियोजनामा यादवले काम गरिरहेका छन् । उनले इनोभेसन घर नेपालबाटै काम सुरु गरेका हुन् । 

"खर्चको हिसाब गर्ने हो भने त रिसर्च एन्ड डेभलपमेन्टमा धेरै हुन्छ," कार्की भन्छन्, "वर्षभर विभिन्न इन्जिनियरको टिम लगाएर अनुसन्धान गर्नुपर्‍यो । प्रडक्ट बाहिर आइसके पनि त्यसलाई बिक्री गर्ने भन्ने हुँदैन । किनभने त्यस्तो प्रडक्ट प्रोटोटाइप मात्र हुन्छ । त्यसैले हामी रिसर्च एण्ड डेभलपमेन्टका लागि आउने लगानी स्वीकार्छौँ ।"

नयाँ पुस्तालाई नवीनतम काममा सक्रिय बनाउन विश्वविद्यालयकाे भूमिका

महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्र, इनोभेटिभ घर नेपाल आविष्कार तथा अनुसन्धान कार्यमा बढी सक्रिय भएका संस्थाहरू हुन् ।

नेपालमा यस्ता धेरै निजी तथा सरकारी संस्था छन् । तर, यस्ता संस्थामा आएर अनुसन्धान तथा खोज गर्ने विद्यार्थी तथा अनुसन्धानकर्मीको सङ्ख्या न्यून भएको इनोभेटिभ घर नेपालका उपाध्यक्ष विक्रम श्रेष्ठ बताउँछन् ।

"इनोभेसन एन्ड रिसर्चमा नेपाल पछि पर्नुको कारण विश्वविद्यालय तहमा यसको व्यवहारिक प्रयोग नहुनु हो," श्रेष्ठ भन्छन्, "विद्यार्थीले आफूलाई उपयुक्त हुने टिम र समर्थनहरू विश्वविद्यालयमा नै पाउन सक्छन् । त्यस्तै प्रोफेसर पनि यस्ता कार्यमा अग्रसर हुन्छन् । तर नेपालमा विश्वविद्यालय तहबाट रिसर्च एन्ड इनोभेसनका कामहरूमा सहयोग नहुँदा नयाँ पुस्ता विदेशिन बाध्य छन् ।"

आफैं बुझेर यस्ता संस्थामा आउनेहरूले आर्थिक तथा अन्य समस्या सामना गर्नुपर्ने हुन्छ । त्यसको विकल्पमा विश्वविद्यालय तहबाटै उनीहरूलाई आवश्यक पर्ने सबै कुराहरूको व्यवस्था गर्न सकियो भने नयाँ पुस्ता इनोभेसनमा अगाडि आउँछ र देशको विकास हुन्छ ।

"विदेशतिर हेर्ने हो भने प्रोफेसरहरूलाई विभिन्न प्रोजेक्टहरू आउँछ । उनीहरूले उक्त प्रोजेक्टमा इच्छुक विद्यार्थीलाई राखेर काम अगाडि बढाइन्छ । यस्तो हुँदा विद्यार्थीहरू आफैं विभिन्न परियोजनामा सक्रिय हुन्छन्," श्रेष्ठ भन्छन् । 

सरकारले नीति परिमार्जन गर्नुपर्छ

सामग्री आयात, निर्यात गर्ने नीति असहज हुँदा आफूहरूलाई गाह्रो भएको कार्कीको गुनासाे छ । "हामीले कुनै पनि इलेक्ट्रोनिक्स पार्ट खरिद गर्दा चुनौती छ," कार्की भन्छन्, "भन्सार शुल्क पनि चर्को छ ।"

त्यस्तै आफूहरूले विकास गरेका प्रविधिलाई मान्यता दिने निकायको अभाव भएको उनले गुनासो पाेखे ।

"नेपाल गुणस्तर चिन्हको प्रमाणीकरण लिन हामीलाई धेरै सकस पर्छ । त्यस क्षेत्रमा विज्ञता हासिल गरेका कर्मचारी राख्नु पर्ने हो," उनी भन्छन् । ​यसैगरी आफूले आविष्कार गरेका नयाँ प्रविधिको पेटेन्ट दर्ता गर्न पनि याे टिमले समस्या भाेगिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८० २०:१७