काठमाडौं । राइड शेयरिङ सेवा प्रदान गर्ने एप 'इ-क्याब नेपाल'ले विद्यार्थीलाई लक्षित गर्दै 'बाइक हाम्रो, आम्दानी तपाईंको' सेवा सुरु गरेको छ । यस सेवामा कम्पनीले राइडरहरूलाई भाडामा बाइक उपलब्ध गराउनेछ ।
कम्पनीका अनुसार विद्यार्थीले आफूले चाहेको समयमा भाडामा लिएको बाइक प्रयोग गरेर राइड शेयरिङ सेवा दिन सक्छन् । कम्पनीको तर्फबाट कुनै पनि कमिसन नलिइने भएकोले सम्पूर्ण आम्दानी राइडरकै हुने व्यवस्था गरिएको छ ।
विद्यार्थीलाई पढ्दै कमाउने अवसर दिन यस्तो योजना ल्याएको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्डलले बताए । “पढ्दै कमाउने चाहना भएका विद्यार्थीहरूका लागि यो योजना निकै लाभदायक हुनेछ,” उनले भने ।
इ-क्याबले हालै लुम्बिनी प्रदेशमा पनि आफ्नो सेवा विस्तार गरेको छ । विगत दुई वर्षदेखि काठमाडौं केन्द्रित भएर सेवा दिइरहेको कम्पनीले हालै लुम्बिनी प्रदेशका लुम्बिनी, बुटवल, भैरहवा र पाल्पामा एकैसाथ सेवा सुरु गरेको हो ।
कम्पनीका अनुसार ३५० जना भन्दा बढी राइडरहरु एपमा आबद्ध भइसकेका छन् । सेवा सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले सुरुवाती ६ महिनाका लागि राइडरबाट कुनै पनि कमिसन लिने जनाएको छ ।
“हामीले यहाँ (लुम्बिनी प्रदेशमा) सेवा सुरुवात गरेको एक महिना बढी भयो । यो समयमा राइडर तथा यात्रुबाट उत्साहजनक समर्थन पाएका छौँ,” मण्डलले टेकपानासँगभने, “६ महिनासम्म राइडरबाट कुनै कमिसन लिने छैनौँ । त्यसपछि राइडरलाई मर्का नपर्ने गरी कमिसन लिने योजना छ ।”
सेवाग्राहीले इ- क्याबमा अन्य राइड शेयरिङ एपहरूभन्दा सुपथ मूल्यमा सेवा पाउने कम्पनीको दाबी छ । इ- क्याबमा बजारमा रहेका अन्य राइड शेयरिङ एपमा पाइने इन्स्योरेन्स, पार्सल डेलिभरी लगायतका सुविधाका साथै ‘शेड्युल राइड’ नामक सुविधा पनि छ ।
यस सुविधा अन्तर्गत सेवाग्राहीले पहिला नै आफ्नो राइडको 'पिक अप' लोकेसन र टाइम शेड्युल गर्न सक्छन् । जसका कारण 'इ- क्याब' ले अन्य राइड शेयरिङ एपभन्दा छिटो छरितो सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले आगामी दिनमा लुम्बिनी प्रदेशसँगै अन्य स्थानमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।