close

असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

टेकपाना टेकपाना

असार ४, २०८० १६:४८

असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले आउँदो असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले यसबारे जानकारी दियाे ।

साेल्टी क्राउन प्लाजामा हुने कन्क्लेभमा विभिन्न छ ओटा थिममा १५ बढी सेसन सञ्चालन हुने भएको छ । त्यस्तै ती सेसनमा दक्षिण कोरिया, सिङ्गापुर, भारत, बङ्गलादेश आदि देशका आईसीटी विज्ञसहित ७० बढी स्रोत व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रममा डिजिटल पूर्वाधार, डिजिटल आइडेन्टिटी, डिजिटल इनोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक आदि सेसन हुनेछन् ।

यो कार्यक्रमले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको आवश्यक नीति र कार्यान्वयनमा जोड दिने पनि आयोजककाे विश्वास छ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले मिनी मोबाइल वर्ल्ड कङ्ग्रेसको रूपमा ‘मोबाइल नेपाल कङ्ग्रेस’ समेत आयोजना गर्ने भएको छ । सहभागीले यस कार्यक्रममा फाइभजी, एआई जस्ता नयाँ प्रविधिहबारे जानकारी पाउने छन् ।

कन्क्लेभको प्रि-इभेन्टको रुपमा फाउन्डेसनले यसअघि नै सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम गरेको थियो । योसँगै सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजिटल प्रदेश परिदृश्यको दोस्रो संस्करण समेत कन्क्लेभमा सार्वजनिक गरिने भएको छ ।

इच्छुक व्यक्तिले कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी थप जानकारी लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार ४, २०८० १६:५०