close

स्मार्ट टेलिकमका कर्मचारीले पाएनन् ५ महिनादेखिको तलब, भविष्य अन्यौलमा

टेकपाना टेकपाना

असार ५, २०८० १८:७

स्मार्ट टेलिकमका कर्मचारीले पाएनन् ५ महिनादेखिको तलब, भविष्य अन्यौलमा

काठमाडौं । नवीकरण हुन नसकी स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमका कर्मचारीले पाँच महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । कम्पनीमा कार्यरत ७० जना कर्मचारी गत माघदेखि तलब विहीन बनेका हुन् । 

व्यापार, प्रशासन, प्राविधिक, आर्थिक प्रशासन र खरिद विभागमा कार्यरत सबै कर्मचारीहरूले कम्पनीको नेटवर्क र सेवा समेत बन्द भइसकेको अवस्थामा पनि कार्यालय आउन भने छोडेका छैनन् । “दैनिक एक डेढ घन्टाकै लागि भए पनि साथीहरू कार्यालय आइरहनु भएको छ,” स्मार्ट टेलिकमका एक कर्मचारीले भने, “नेटवर्क र टावर छैन । काम पनि केही भइरहेको छैन ।” 

बाँकी समय भने कतिपय कर्मचारीहरू अन्य विकल्पको खोजीमा लागेका छन् । “सबैलाई बाँच्नु छ । कम्पनी बन्द भएपछि केही न केही त गर्नैपर्छ,” कम्पनीका अर्का कर्मचारीले भने । 

स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले २१ बैशाखसम्मको पारिश्रमिक दिने मौखिक आश्वासन कर्मचारीहरूलाई दिएका छन् । अध्यक्षसँग बैठक तथा छलफल भए पनि आफूहरूले अहिलेसम्म पैसा नपाएको कम्पनीका कर्मचारीको गुनासो छ ।

“प्राधिकरणले नियन्त्रणमा लिनु अघिसम्मको पारिश्रमिक म दिन्छुु,” जोशीले कर्मचारीलाई आश्वासन दिंदै भन्ने गरेका छन्, “त्यसका लागि मलाई केही समय दिनुहोस् ।”

२१ बैशाखमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो । त्यससँगै कम्पनीको बैंक खाता फ्रिज भएको छ । 

यद्यपि एक सूचना जारी गर्दै २१ वैशाखअघिको सम्पूर्ण दायित्व कम्पनीकै हुने प्राधिकरणले स्पष्ट पारिसकेको छ । 

स्मार्ट टेलिकमलाई आफ्नो नियन्त्रण लिएको घोषणा गरेको प्राधिकरणले त्यसलाई व्यवस्थापन गर्न भन्दै बोर्ड सदस्य गोकर्ण सिटौलाको नेतृत्वमा व्यवस्थापन समूह गठन गरेको थियो । तर उक्त समूह नै निष्क्रिय भएपछि कर्मचारी मात्र नभएर सिङ्गो स्मार्ट टेलिकमकै व्यवस्थापन अन्यौलतामा धकेलिएको हो । 

२१ बैशाखपछि कार्यालय आउने वा नआउने भन्ने विषयमा कम्पनीका कर्मचारीलाई कसैले कुनै जानकारी दिएको छैन । उनीहरू स्वविवेककै भरमा कार्यालयमा हाजिर लगाइरहेका छन् । 

“हाम्रो जागिर कसको हातमा छ र कसले तलब दिने हो, त्यो पनि थाहा छैन । पारिश्रमिक पाउने वा नपाउने त्यो पनि थाहा छैन,” कम्पनीका कर्मचारी सबैको अन्यौल एउटै छ । प्राधिकरणले पनि आफूहरूलाई कुनै स्पष्ट जवाफ नदिएको उनीहरूको गुनासो छ ।  

स्मार्ट टेलिकमका कर्मचारीहरू तत्काल २१ बैशाख अघिको पारिश्रमिक पाउनुपर्ने माग राखिरहेका छन् । “हामीले बोनस वा अन्य कुनै सुविधा मागेको होइन, त्यो हाम्रो परिश्रमको मूल्य हो,” कम्पनीका एक कर्मचारी भन्छन्, “२१ बैशाखमा सरकारी नियन्त्रणमा गएपछिको सन्दर्भमा भने श्रम कानून अनुसार अगाडि बढ्ने सोचिरहेका छौं ।”

पछिल्लो अध्यावधिक: असार ५, २०८० १८:७