close

४० करोड पुरस्कार राशि भएको पब्जी प्रतियोगिता खेल्दै नेपाली टिम डीआरएस

टेकपाना टेकपाना

असार २०, २०८० १३:०

४० करोड पुरस्कार राशि भएको पब्जी प्रतियोगिता खेल्दै नेपाली टिम डीआरएस

काठमाडौं । करिब ४० करोड नेपाली रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा नेपाली टिम ‘डीआरएस गेमिङ’ पनि खेल्ने भएकाे छ । हालै भएको अलस्टार्स स्टेज दक्षिण एसिया स्तरको भोटिङमा सबैभन्दा धेरै भोट पाएर यो टिमले पीएमडब्लूआई खेल्ने अवसर पाएको हो ।

पीएमडब्लूआई अलस्टार्स स्टेज र मेन टुर्नामेन्ट गरी दुई चरणमा हुँदैछ । यो प्रतियोगितामा ‘डीआरएस गेमिङ’ले जुलाई ११ देखि १३ सम्म चल्ने अलस्टार्स स्टेजको १८ खेल खेल्दैछ, जुन प्रतियोगिताको पहिलो चरण हो ।

यसमा ‘डीआरएस गेमिङ’ सहित १८ टिम सहभागी छन् । यो खेलको लागि १३ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि तोकिएको छ । ​अलस्टार्स स्टेजको खेल सकिँदा अङ्क तालिकाको शीर्ष पाँच टिमले मेन टुर्नामेन्टमा स्थानमा बनाउने छन्, जुन प्रतियोगिताको दोस्रो तथा प्रमुख चरण हो । यो चरणको खेल १४ जुलाई देखि १६ जुलाईसम्म चल्नेछ ।

मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कूल १६ टिमले भिड्नेछन् । दक्षिण एसिया क्षेत्रको विजेताको रुपमा ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप २०२३’ बाट मङ्गोलियन टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले यो प्रतियोगिताको मेन टुर्नामेन्टमा पहिले नै स्थान बनाइसकेको छ ।

‘डीआरएस गेमिङ’ले भने मेन टुर्नामेन्टमा स्थान बनाउनको लागि अलस्टार्स स्टेज पार गर्नुपर्ने हुन्छ । मेन टुर्नामेन्टका लागि २६ करोड रुपैयाँभन्दा बढी छुट्याइएको छ । यो प्रतियोगिता साउदी अरेबियाको रियादमा हुँदैछ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८० ११:५८