close

भारतमा कारखाना खोल्न टेस्लाको संवाद सुरु, २० लाख भारु मूल्यका ईभी उत्पादन गर्ने योजना

टेकपाना टेकपाना

असार २८, २०८० १४:२

भारतमा कारखाना खोल्न टेस्लाको संवाद सुरु, २० लाख भारु मूल्यका ईभी उत्पादन गर्ने योजना

काठमाडौं । एलन मस्कको टेस्ला कम्पनीले भारतमा कार फ्याक्ट्री खोल्ने प्रस्तावको विषयमा त्यहाँको सरकारसँग संवाद अगाडि बढाएको छ । २० लाख भारुमाथि मूल्य पर्ने विद्युतीय कार वार्षिक पाँच लाख युनिट उत्पादन गर्ने योजनाका साथ टेस्लाले छलफल थालेको हो ।

चीनमा उल्लेखनीय उपस्थिति रहेको टेस्लाले भारतमा उत्पादित बिजुली गाडी हिन्द-प्रशान्त  क्षेत्रमा निर्यात गर्ने बताएको छ । "टेस्ला महत्त्वाकाङ्क्षी योजनाका साथ हामीकहाँ आएको छ र स्थानीयका उत्पादनका साथै निर्यातको विषय समेत आएकाले यस पटक यो विषय सकारात्मक रूपमा अगाडि बढ्नेमा हामी विश्वस्त छौं," सरकारी स्रोतले बताएको कुरा टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयले यो कुराकानीका लागि नेतृत्व गरेको र भारत सरकार यसबाट एउटा राम्रो डिल तय हुनेमा विश्वस्त छ । गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणका दौरान टेस्लाका सीईओ मस्कसँग भेटघाट गरेको केही सातामै टेस्लाले भारतमा  लगानी गर्ने योजना अगाडि सारेको हो ।

त्यतिखेर मस्कले आफूलाई भारतमा लगानी गर्न जोड दिएको उल्लेख गर्दै आफू मोदीको फ्यान भएको समेत बताएका थिए । टेस्लाले वर्षौँदेखि भारतीय बजारमा आँखा लगाउँदै आएको छ ।

तर त्यहाँको सरकारले आफ्ना कारलाई न्यून भन्सार महसुलमा आयात गर्न नदिएपछि कम्पनी उक्त योजनाबाट पछि हटेको थियो । भारत सरकारले चीन लगायतका देशबाट आयात गर्नुको साटो स्थानीय रूपमा आफ्नै देशमा विद्युतीय कार उत्पादन गर्नुपर्ने अडान राख्दै आएको थियो ।

स्थानीय कार बजारका लागि उच्च सम्भावना रहेको भारत चीन, अमेरिका र जापानपछि विश्वको चौथो ठूलो बजार हो । जहाँ गत वर्ष मात्रै करिब ३९ लाख युनिट कार बिक्री भएका थिए । 

पछिल्लो अध्यावधिक: असार २८, २०८० १४:२