close

स्मार्ट लाइसेन्स हात नपरेसम्मका लागि अब अस्थायी कार्ड दिइने

टेकपाना टेकपाना

साउन ७, २०८० १४:२२

स्मार्ट लाइसेन्स हात नपरेसम्मका लागि अब अस्थायी कार्ड दिइने

काठमाडौं । सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीहरूले अब स्मार्ट लाइसेन्स नआउँदासम्म अस्थायी कार्ड पाउने भएका छन् । 

आइतबार राजधानीमा आयोजित ‘सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो तयारी भइरहेको जानकारी दिएका हुन् । 

“लाइसेन्सका बारेमा, स्मार्ट लाइसेन्स कार्डका बारेमा धेरै गुनासाहरू छन्,” मन्त्री ज्वालाले भने, “हामी यो समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड वितरण गर्ने गरी तयारी पनि गरिरहेका छौं ।”

हाल अन्य व्यवस्था नहुँदा बिल बिजकलाई नै लाइसेन्सको रुपमा प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा पनि व्यवसायीलाई रुचि देखाउन अनुरोध गरेका छन् ।

“इम्बोस्ड नम्बर प्लेट प्रणालीलाई इग्नोर गर्ने होइन । अब त्यसलाई अनिवार्य पनि गर्नुपर्नेछ । सुरक्षा र सरकारको महत्त्वपूर्ण आयोजनाका रूपमा अगाडि बढेको यो कार्यक्रमलाई पनि हामीले सम्पन्न गर्नुपर्छ,” उनले अगाडि भने । 

यातायातका सम्पूर्ण कामहरू क्याशलेस सिस्टम लागू गर्नुपर्ने काम भइरहेको मन्त्रीले जनाएका छन् ।

उनले थपे, “हामी आम रूपमा सबै अनलाइन पेमेन्ट सिस्टममा लैजाँदैछौं । त्यस्तै तपाईं हामी मिलेर अनलाइन टिकेटिङमा पनि जाऔँ । एयरलाइन्स जस्तै लोकल बसमा सम्भव नहोला कमसेकम लामो दुरीका बसहरूमा हामीले त्यो सेवा पनि उपलब्ध गराउन सक्छौं ।” 

पछिल्लो अध्यावधिक: साउन ७, २०८० १४:२८