close

भारतले अस्वीकार गर्‍यो १ अर्ब डलरमा ईभी फ्याक्ट्री खोल्ने बीवाईडीको प्रस्ताव

टेकपाना टेकपाना

साउन ८, २०८० १७:२१

भारतले अस्वीकार गर्‍यो १ अर्ब डलरमा ईभी फ्याक्ट्री खोल्ने बीवाईडीको प्रस्ताव

 

काठमाडौं । बीवाईडीले भारतमा एक अर्ब डलरमा म्यानुफ्याक्चरिङ प्लान्ट बनाउन गरेकाे प्रस्ताव भारतीय सरकारले अस्वीकार गरेकाे छ । गत हप्ता विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले भारतमा सवारी तथा ब्याट्री उत्पादनका लागि म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गर्ने प्रस्ताव पेस गरेको घोषणा गरेको थियो ।

कम्पनीले हैदराबादस्थित मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर्स लिमिटेडसँग सहकार्य गरेर स्थापना गर्ने भनिएको उक्त म्यानुफ्याक्चरिङ प्लान्ट भारतीय सरकारले अस्वीकार गरेको हो । टाइम्स अफ इन्डियाका अनुसार दुई कम्पनीले उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागलाई निवेदन दिँदै हैदराबादमा विद्युतीय सवारी प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेका थिए । सो विभागले अन्य विभागसँग लगानी प्रस्तावबारे राय मागेको थियो । 

भारतमा चिनियाँ लगानी ल्याउँदा त्यसले सुरक्षाका सवालहरू उठाउने भन्दै प्रस्ताव अस्वीकार गरिएको इन्डिया टाइम्सले उल्लेख गरेको छ ।

इन्डिया टाइम्सलाई स्रोतले भनेअनुसार अहिलेको अवस्थामा भारतको कानूनले चिनियाँ लगानीलाई अनुमति दिँदैन । विभागलाई दिइएको प्रस्तावमा कम्पनीले एक वर्षमा १० हजार देखि १५ हजार विद्युतीय गाडी उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने उल्लेख गरिएको थियो । यसका लागि बीवाईडीले भारतमा एक अर्ब डलर लगानी गर्ने बताइएको थियो ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८० १७:२१