close

यस्ता छन्, सफ्टवेरिका कलेजका विद्यार्थीले बनाएका रोबोटिक्स, एआई र र साइबर सेक्युरिटी प्रविधि

टेकपाना टेकपाना

साउन १३, २०८० ११:५८

यस्ता छन्, सफ्टवेरिका कलेजका विद्यार्थीले बनाएका रोबोटिक्स, एआई र र साइबर सेक्युरिटी प्रविधि

काठमाडौं । साउन ११ देखि सफ्टवेरिका कलेजमा टेक एक्स्पो २०२३ चलिरहेको छ । कलेजको आयोजनामा भइरहेको उक्त एक्स्पोमा रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सेक्युरिटी सम्बन्धी विद्यार्थीहरूले तयार पारेका विभिन्न परियोजनाहरू प्रदर्शनरत छन् । त्यहाँ राखिएका केही प्रविधिहरू यस प्रकार छन्:

स्मार्ट सहर (Smart City)

कोठाको मध्य भागमा टेबलहरू जोडेर ठूलो ठाउँ बनाइएको छ । जहाँ विभिन्न खेलौना जस्ता सामनहरूबाट एउटा आधुनिक सहर बनाइएको छ । त्यहाँ कतै अपार्टमेन्ट छन्, अस्पताल छन्, ट्राफिक लाइट, घरहरू, कलेजहरू र एयरपोर्ट छन् । नदि छन्, पहाड छन्, ट्रेन छन्, गाडीहरू छन् । यो भव्य सहर हो । स्मार्ट सहर हो । 

यो विश्वास अधिकारीको टोलीले बनाएको नमूना स्मार्ट सहर हो । यसलाई उनीहरूले स्मार्ट सहरको अवधारणामा रहेर बनाएका छन् । यो पूरै परियोजनामा काम गर्न उनीहरूले एक महिना बिताए । मानिसको जीवनस्तर उकास्न, स्वचालित बनाउन, प्रविधियुक्त बनाउन स्मार्ट सहरको आवश्यक भएर  त्यसबारे बुझाउन यो परियोजना तयार पारेको विद्यार्थी अधिकारी बताउँछन् । 

उनको टोलीले बनाएको यो सहरमा स्मार्ट पार्किङ, स्मार्ट ट्राफिक, स्मार्ट घर सबै छन् । यो सहरमा बस्ने मान्छेसँग एउटा मोबाइल एप्लिकेसन हुन्छ । जहाँ उसलाई चाहिने सबै सूचना दिइन्छ । जस्तो: फोहोरको गाडी कति बेला आउँछ, सडकको अवस्था कस्तो छ आदि ।

त्यस्तै एड्मिन (सरकार हुन सक्छ)सँग सहरको डेटा भएको ड्यास बोर्ड हुन्छ । त्यहाँ सहरमा बस्नेहरूको गतिविधि हेर्न सकिन्छ । त्यसको पहुँच सहरबासीसँग भने हुँदैन । यस एउटा सर्च गर्ने फिचर छ, जसमा सहरमा भएको कुनै पनि गाडीको नम्बर प्लेट राखेर त्यसलाई सर्च गर्न सकिन्छ । यसो गर्दा त्यो गाडी कुन स्थानमा छ भनेर त्यहाँको क्यामेराले देखाइन्छ । 

आफूहरूले यस परियोजनामा अत्यन्त सानो सानो कुराहरूलाई विचार गरेर काम गरेको उनले बताए । हुन पनि हो, एक्स्पोमा भएका सबै परियोजनाहरू मध्ये यो निकै ठूलो छ ।

नेपालमा स्मार्ट सहरको चर्चा खुबै हुने गर्छ । अहिलेसम्म बनेको छैन । तर यदि तपाईं स्मार्ट सहर कस्तो हुन्छ ? जिज्ञासा राखेर बसिरहनु भएको छ भने यस परियोजनाले त्यसलाई मेट्न सक्छ ।
 

म्यान इन द मिडल अट्याक (Man in the Middle Attack)

मानौं: दुई व्यक्तिहरूले कुराकानी गर्दा तपाईं बिचमा हुनुहुन्छ । अब उनीहरुले के के कुरा गरे? कस्तो कुरा गरे? भन्ने सबै कुरा तपाईंलाई थाहा हुन्छ । त्यसरी नै दुई कम्प्युटर बिच भएको सञ्चार बारे ह्याकरले थाहा पाउन सक्छन् ।

यो म्यान इन द मिडल अट्याक हो । एक प्रकारको साइबर आक्रमण । यसबारे प्रयोगात्मक रुपमा बुझाउन विद्यार्थीहरूले स्टल राखेका छन् ।  

वाई-फाई अट्याक (Wifi Attack)

निजी तथा सार्वजनिक वाई-फाईहरूमा कसरी आक्रमण हुन्छ भन्ने कुरा यस परियोजनाले बुझाउने प्रयास गरेको छ । अहिले धेरै ह्याकरहरूले वाई-फाई आक्रमण गर्ने कोसिस गरिरहेका हुन्छन् । त्यस्तो भए सबै वाई-फाईहरूको नाम देखिन्छ ।

त्यसमा जोडिएका डिभाइसहरूको नाम देखिन्छ । यसका साथै ह्याक गर्न नसके त्यस वाई-फाईमा नदिने बनाउन ह्याकरले सक्छन् । यी कामहरू कसरी हुन्छन् भन्ने कुरा परियोजनाबाट विद्यार्थीले बुझाउन प्रयास गरेका छन् । 

फिशिङ फर क्रेडेन्सियल (Phishing for Credentials)

ह्याकरहरूले फिशिङ आक्रमण कसरी गर्छन् भन्ने कुरा बुझाउन एक्स्पोमा यो स्टल राखिएको छ । जहाँ तपाईंले फिसिङ के हो, कसरी आक्रमण हुन्छ, कस्तो असर पर्छ, कसरी यसबाट बँच्चे भन्ने कुरा विद्यार्थीबाट बुझ्न पाउनुहुन्छ । 

यसका लागि उनीहरूले विभिन्न सामाजिक सञ्जालको लग इन पेज जस्तै देखिने पेज बनाएका छन् ।  जुन वास्तविक जस्तै देखिन्छ । तर त्यो फिशिङ आक्रमण प्रयोजनार्थ बनाइएको हुन्छ । गल्तीवश त्यहाँ प्रयोगकर्ताले आफ्नो डेटा राख्न पुग्छन्, जुन ह्याकरको पहँचमा पुग्छ । 

यसरी विद्यार्थीले फिशिङ आक्रमणको ‘डेमो’ देखाउँन् । यस्ता साइबर आक्रमणबारे जन‍चेतना फैलाउन यो परियोजना प्रदर्शन गरेको टिमको भनाइ हुन्छ । 
 

क्याटल मोनिटरिङ सिस्टम (Cattle monitoring system)

यो एउटा डिभाइस हो । जीपीएस ट्य्राकिङ गर्न, तापक्रम मापन गर्न, खाना खायो खाएन भनेर जाँच्न यसलाई गाईको गलामा बाँधिदिने गरिन्छ । अनि त्यसबाट आएको डेटाका आधारमा ती कुरा थाहा पाउन सकिन्छ ।  

विशेषत: गाईहरूको स्वास्थ्य कस्तो छ भनेर नियमित परीक्षण गर्न यो डिभाइस उपयोगी हुने यसको विकासकर्ता विद्यार्थीहरूको भनाइ छ । “धेरै गाई हुँदा सबैलाई हेरचाह गर्न सकिन्न  । त्यसो हुँदा यसले सहयोग गर्छ,”  उनीहरू भन्छन्, “यसबाट गाई बिरामी हुन अगाडि नै त्यसबारे थाहा पाउन सकिन्छ ।” 

यस डिभाइस विकास गर्ने टिमले प्रोटोटाइप तयार पारेर टेस्टिङ अवधिमा रहेको बतायो । लगानिकर्ता फेला पारे उसलाई उत्पादन गर्ने टिमको लक्ष्य छ ।

वाटर मनिटरिङ बोट  (Water Monitoring Boat)

यो एउटा स्मार्ट डुङ्गा हो । यसलाई नदी, ताल आदिमा त्यहाँको पानीको परीक्षण गर्न प्रयोग गर्न सकिने निर्माता अमुल बस्याल बताउँछन् । उनका अनुसार यस स्मार्ट डुङ्गालाई खोला, नदिमा पठाइन्छ । यसलाई रिमोर्टबाट नियन्त्रण गर्न सकिन्छ । साथै नतिजा पनि वायरलेस माध्यमबाट प्राप्त हुन्छ । 

स्मार्ट डुङ्गामा विभिन्न प्रकारका सेन्सर राखिएका छन् । त्यहीकारण यसबाट पानीमा कति/कस्तो रसायन छन्? त्यहाँ विरुवाहरू कति छन्? अक्सिजनको मात्रा कति छ? पानी खान लायक छ/छैन? त्यहाँ माछाहरू बस्न सक्छन्/सक्दैनन्र? भन्ने जस्ता कुरा थाहा पाउन सकिन्छ । 

यी बाहेक पनि विभिन्न परियोजनाहरू एक्सपोमा राखिएका छन् । साउन १४ सम्म चल्ने यस एक्सपो बिहान १० बजेदेखि बेलुका ५ बजे चल्ने छ । ती सबै निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८० १३:१७