close

पढाउन आएका अमेरिकी साइबर अपराध अनुसन्धानकर्ताको नजरमा नेपालको आईटी

सञ्जीवन राई सञ्जीवन राई

भदौ २७, २०८० १४:४०

पढाउन आएका अमेरिकी साइबर अपराध अनुसन्धानकर्ताको नजरमा नेपालको आईटी

अमेरिकन नागरिक रोबर्ट भान्वे काठमाडौं स्थित सफ्टवेरिका कलेजमा साइबर सुरक्षा विषय पढाउँछन् । न्यूयोर्क स्टेट डिभिजन अफ क्रिमिनल जस्टिसका पूर्व वरिष्ठ प्राविधिक विश्लेषक र अन्वेषक हुन् उनी । उनले इन्टरनेट तथा विभिन्न डिजाइसको अनुसन्धान गर्न थुप्रै प्रमाणपत्र पनि प्राप्त गरेका छन् । औपचारिक अध्ययन कानून र इतिहास भए पनि अपराध अनुसन्धानमा अदालतका लागि भिडिओ तथा अडिओ प्रमाण जुटाउनु उनको काम थियो । यसका लागि उनले कम्प्युटर, मोबाइल लगायत अन्य डिजिटल डिभाइसको परीक्षण गर्थे । उनीसँग डिजिटल फरेन्सिक ल्याब तथा साइबर सुरक्षामा काम गरेको अनुभव छ । उनै भान्वेसँग नेपाली आईटी जनशक्ति र विद्यार्थीहरू विदेशिनुको कारण, बाहिरी प्रविधि जगतले नेपाललाई कसरी हेर्छ, यहाँको साइबर सुरक्षाको अवस्था, डिजिटल फरेन्सिक लगायतका विषयमा टेकपानाका लागि सञ्जीवन राईले गरेको कुराकानीको अनुवादित तथा सम्पादित सामग्री :
  

  • तपाईं नेपाल कहिले आउनु भएको थियो अनि बसाई कस्तो चल्दैछ ? 

म सन् २००८ मा पहिलो पटक नेपाल आएको थिएँ । त्यसपछि आउने जाने गर्न थालें । त्यसै बीच केही नेपाली साथीहरूसँग चिनजान भयो । सफ्टवेरिकाका साथीहरूलाई पनि त्यसरी नै चिनेको हुँ । पछि उनीहरूसँगको सम्बन्ध घनिष्ठ बन्यो ।

गत जुलाईदेखि त झन् कलेजसँग पनि जोडिएँ । तर त्यसअघि नै साइबर सेक्युरिटी तथा प्रविधिबारे म नेपालमा केही गरिरहेको हुन्थें । अहिले भने सफ्टवेरिकामा मात्र कार्यरत छु । नेपाल मलाई निकै शान्त देश लाग्छ । यस्तो देशमा काम गर्न पाइरहेको छु । सिकाउन र सिक्न पाइरहेको छु । जे होस्, बसाइ राम्रै भइरहेको छ ।

 

  •  नेपालमा पछिल्लो समय साइबर सुरक्षा, डेटा साइन्स जस्ता विशिष्टीकृत विषयको पढाइ समेत हुन थालेको छ । सफ्टवेरिका कलेजले नेपालमा पढाउने मान्छे नभेटेर तपाईंलाई बोलाएको हो अथवा विश्वविद्यालयको नीति नै त्यस्तै छ ?

त्यस्तो केही पनि होइन । नेपालमा साइबर सुरक्षा तथा प्रविधिको क्षेत्रमा काम गर्ने विज्ञहरू धेरै छन् । त्यसो हुँदा शिक्षण नै गर्न नसक्ने भन्ने हुँदैन । मैले त कलेजका साथीहरूलाई भेटेर त्यसको फाइदा न उठाएको हुँ । उनीहरूसँग आत्मीयता बढेपछि काम गर्ने अवसर पाएको हुँ ।

फेरि, मैले पढाउने विषयमा मेरो अनुभव र दक्षता पनि त अलि भिन्न नै छ । तर नेपालमा पढाउन भनेर न त विश्वविद्यालय (कोभेन्ट्री) ले मलाई पठाएको हो, न कलेजले नै नेपाली मान्छे नभेटेर मलाई राखेको हो । कुरा यति मात्र हो ।  

 

  • कतिपय नेपाली आईटी जनशक्तिहरू विदेश गइरहेका छन् । यस्तोमा तपाईंले नेपाल छान्नुको कारण के होला ?

सबैभन्दा पहिला बुझ्नु पर्ने कुरा आईटी विश्वव्यापी हो । आईटी क्षेत्रका व्यक्तिले संसारभर गर्ने काम एउटै हुन्छ । चाहे त्यो अमेरिकामा होस् अथवा नेपालमा । आईटीका सिद्धान्तहरू, काम गर्ने शैलीहरू, प्लेटफर्महरू, प्रविधिहरू एउटै हुनाले आईटी विश्वव्यापी भएको हो ।

यसैको फाइदा उठाउँदै आज अमेरिकाबाट म नेपाल आएको छु । केही नेपाली विदेशमा गएका छन् । अब नेपाली जनशक्ति किन विदेश जान्छन् भनेर विश्लेषण गर्दा त्यसको पछाडि केही कारण हुन सक्छन् । हुन त मैले त्यस विषयमा त्यस्तो अध्ययन गरेको त छैन ।

त्यसको विज्ञ पनि म होइन । तर कारणहरू अनुमान गर्न सक्छु । पहिलो, आर्थिक कारण नै हो । काम एउटै भए पनि नेपाल र अमेरिकामा पाउने पारिश्रमिक फरक फरक हुन्छ ।

यसो हुँदा जहाँ बढी पारिश्रमिक दिइन्छ, काम गर्ने व्यक्ति त्यतै जान्छन् । यसै कारण कतिपय नेपाली विदेश गएका हुन सक्छन् । मैले यो एउटा उदाहरण मात्र दिन खोजें । 

अर्को कारण, अनुभव गर्नु पनि हो । यो कुरालाई म आफूसँग जोडेर बताउँछु । जस्तो: कमाइको हिसाबले सायद मलाई अमेरिकामै बस्दा राम्रो हुन्छ । तर मैले भनिसकें, मलाई नेपाल शान्त र रमाइलो लाग्छ ।

त्यस्तै अमेरिकाको जीवनभन्दा म केही नयाँ अनुभव गर्न चाहिरहेको थिएँ । अनि अहिले नेपालमा आएर आईटी सम्बन्धी काम गरिरहेको छु । ठ्याक्कै यस्तै कुरा नेपालबाट विदेशिने जनशक्तिमा पनि लागु हुन सक्छ ।

उनीहरू आफूभन्दा आधुनिक समाज, फरक संस्कार/संस्कृतिको अनुभव गर्न विदेश गएका हुन सक्छन् । अर्को कारण, यहाँ पर्याप्त अवसर नहुनु हो ।

नेपाल प्रविधि क्षेत्रमा विकसित भइरहेको देश हो । यहाँ ठुल्ठुला आईटी कम्पनीहरू धेरै छैनन् । उनीहरूले दक्ष जनशक्तिहरूलाई राम्रो अवसर दिन नसकेका हुन सक्छन् । यही कारणले पनि नेपाली जनशक्ति विकसित देशमा अवसरको खोजीमा गएका हुन सक्छन् । 

त्यस्तै अर्को कारण गुणस्तरीय जीवन जिउनका लागि विदेश जानेहरू पनि होलान् । हामीलाई थाहा छ, नेपाल विकासशील देश हो र यो पनि थाहा छ, त्यसरी विदेश जाने अधिकांश नेपालीहरू विकसित देशमा गइरहेका छन् ।

विकासशील देशको तुलनामा विकसित देशमा गुणस्तरीय जीवन हुन्छ । शिक्षा, स्वास्थ्य, सुरक्षा राम्रो हुन्छ । यो कारण पनि नेपाली आईटी जनशक्ति विदेश गइरहेका हुन सक्छन् । यी बाहेक देशको अस्थिर राजनीति, पारिवारिक दबाब, पेसागत विकास आदि कारण पनि हुन सक्छन् । 

तर जनशक्ति विदेश जानु नराम्रो भने होइन । त्यहाँ उनीहरूले जे अनुभव गर्छन्, नेपाल फर्केर त्यसलाई उपयोग गर्न सक्छन् । मैले भनिसकें, आईटी विश्वव्यापी क्षेत्र हो । यसो हुँदा जता बसेर पनि उनीहरूले यस क्षेत्रमा काम गर्न सक्छन् ।

तर उनीहरू नेपाल फर्कन्छन् कि फर्कदैनन् त्यो महत्त्वपूर्ण हुन्छ । म आफैं आफ्नो काममा सेवा निवृत्त भएर नेपाल आएको हुँ । यहाँ (सफ्टवेरिकामा) जोडिएको त सम्बन्धका कारणले मात्र हो ।

 

  • अहिले नेपालमै राम्रा आईटी कलेज खुलिरहेका छन् । तपाईं आफू पनि विदेशबाट आएर अध्यापन गराइरहनु भएको छ । यस्तोमा नेपाली विद्यार्थी आईटी पढ्न विदेश जाने कुरामा के भन्नु हुन्छ ?

सायद यसको एउटा मात्र नभएर धेरै कारणहरू हुन सक्छन् । मुख्य त साइबर सुरक्षा जस्ता आईटी कोर्सलाई सरकारले प्राथमिकता नदिएको हुन सक्छ । यी विषयबारे सरकारको स्पष्ट दृष्टिकोण नहुँदा अन्य देशमा राम्रो अवसर पाइन्छ भन्ने लोभले विद्यार्थीहरू बाहिर जाने गरेको हुनु पर्छ ।

यो पूर्ण नभई अर्ध सत्य मात्रै हो । त्यस्तै विद्यार्थीहरू आफूले सोचे जस्तो नलागेर ‍अन्य देश गएका हुन सक्छन् । तर यो आफैंमा नराम्रो भने होइन । विदेशमा पढ्न जाँदा उनीहरूले यहाँको तुलनामा बढी सिक्न सक्छन् । 

यद्यपि यो कुरालाई रोक्न भने सफ्टवेरिका जस्ता कलेजहरू नेपालभर हुनु पर्छ । जसले साँच्चिकै दक्ष प्राविधिक उत्पादन गर्न सकून् । साथै सरकारले पनि यो कुरालाई गम्भीरता पूर्वक लिनु पर्छ  ।

 

  • तपाईंले यहाँ पढाउन थालेको छ महिना जति भयो क्यारे । यहाँका विद्यार्थीहरूमा नयाँ प्रविधि सिक्ने रुचि र उत्सुकता कस्तो पाइरहनु भएको छ ?

संसारका जुनसुकै ठाउँमा कुनै पनि विषय पढ्ने विद्यार्थीहरूको स्वभाव एउटै हुन्छ । चाहे त्यो सिक्नमा होस्, सहकार्य गर्नमा होस् वा अन्य कुरामा । म उनीहरूलाई पढाइरहँदा मेरो कलेज जीवन सम्झन्छु । त्यसबेला म पनि उनीहरू जस्तै थिएँ ।

कुनै समय म पनि विद्यार्थी भएकाले उनीहरूको भाव बुझ्न सक्छु । तर म कलेज जाँदा र उनीहरू अहिले कलेजमा पढिरहँदाको अवस्था परिवर्तन भएको छ । यही कारण हुनु पर्छ, उनीहरूले स्वअध्ययनलाई निकै प्राथमिकता दिएको पाउँछु । 

इन्टरनेटको सहज पहुँच भएकाले पनि उनीहरूलाई स्वअध्ययन गर्न सहयोग पुगेको हो । कुनै पनि कुरा पढाउनु अघि नै विद्यार्थीहरूले त्यसरी अध्ययन गरेर कक्षामा आउने भएकाले पढाउन पनि सहज भएको छ ।

कक्षामा नबुझेको कुरा कतिपय विद्यार्थीले स्वअध्ययनबाट बुझ्ने गरेको बताउने गर्छन् । यसले पनि साइबर सुरक्षा जस्तो नवीन विषयमा उनीहरूको रुचि भएको पुष्टि गर्छ । उनीहरू नयाँ कुरा सिक्न निकै उत्साहित भएको म पाउँछु । सायद म अहिले युवा भएको भए फेरी उनीहरू जस्तै हुन्थे होला । 

  

  • यहाँको शिक्षण शैली, पाठ्यक्रम र समग्र शैक्षिक अवस्था कस्तो पाउनु भएको छ ? 

मैले नेपालमा पढाएको त्यति धेरै समय त भएको छैन । तर यहाँको शिक्षण अवस्थाबारे भने मैले केही बुझ्ने मौका अवश्य पाएँ । यस मानेमा मैले पढाइरहेको कलेजको आधारमा भन्नुपर्दा पढाउने शैली, भौतिक पूर्वाधार, शैक्षिक अवस्थामा निकै राम्रो पाएको छु ।

तर अवश्य पनि एउटा कलेजलाई मात्र हेरेर नेपालको पूरै शैक्षिक अवस्थाको बारेमा भन्न सक्दिनँ । मैले नेपाली विश्वविद्यालयको पाठ्यक्रम, शैक्षिक अवस्था हेरेको छैन ।

नेपालको शिक्षाबारे मैले त्यस्तो गहिरिएर अध्ययन पनि गरेको छैन । मैले थाहा पाउने भनेको पत्रपत्रिकामा आएका विभिन्न समाचारहरूबाट हो । तिनको आधारमा अन्य सूचक जस्तै समग्र नेपालको शैक्षिक अवस्था पनि सुधार भइरहेको छ भन्न सक्छु । 

तर सत्य यो हो कि सूचना प्रविधि यस्तो विषय हो, जुन संसारका सबै देशमा एउटै हुन्छ । नेपालमा पढे पनि अमेरिका पढे पनि एउटै हो । फरक भनेको पढेपछिको अवसर कति छ ? कस्तो छ ? उद्योगको आकार कत्रो छ ? भन्ने नै हो ।

त्यस मानेमा अमेरिकासँग तुलना गर्दा नेपाल अवश्य पनि केही कमजोर छ । त्यस्तै मलाई लागेको अर्को कुरा म कलेज पढ्दा ६० प्रतिशत अमेरिकन र ४० प्रतिशत विदेशी हुन्थे । कलेज पढ्दापढ्दै विभिन्न देशका संस्कार, संस्कृति, भाषाबारे बुझ्न पाइन्थ्यो ।

उनीहरूसँग ज्ञान साटासाट हुन्थ्यो । एक प्रकारको नेटवर्क बन्थ्यो । जुन नेपालका कलेजहरूमा छैन जस्तो लाग्छ । सफ्टवेरिकाको नै कुरा गर्ने हो भने पनि त्यस्तो अवस्था छैन ।

यस्तै अर्को भनेको अमेरिकाका धेरै जसो कलेजहरूमा कर्पोरेट अभ्यास हुन्छ । म पढेको कलेजमा पनि त्यो हुन्थ्यो । कलेज उत्तीर्ण नहुँदै विभिन्न कम्पनीसँग कुराकानी हुन्थ्यो । उनीहरूसँग एकतहको सम्बन्ध बनि सकेको हुन्थ्यो ।

हुन त त्यो अभ्यास सफ्टवेरिकामा पनि भइरहेको छ । कोही पनि विद्यार्थीलाई उद्योगको अनुभव दिन, उनीहरूको विकास गर्न कर्पोरेट अभ्यास निकै महत्त्वपूर्ण हुन्छ । यस्तो कुरा देख्दा नेपालको आईटी शिक्षाबाट पनि आशावादी हुन भने सकिन्छ ।

 

  • आईटीमा भर्खरै पाइला  सार्दै गरेको देशमा आउनु भएको छ । यहाँको आईटी क्षेत्र चाहिं कस्तो पाउनु भयो ?  

देशको अवस्था सुधार हुन हरेक पक्षको आआफ्नै महत्त्व हुन्छ । अहिले इन्टरनेटको युगमा त प्रविधिको विकास हुनु अपरिहार्य नै छ । अमेरिका किन विकसित छ भन्दा त्यहाँ प्रविधि विकासको स्तर निकै माथि छ ।

मलाई लाग्छ, नेपाल पनि त्यो बाटोमा छ । किनकी यहाँ आईटी कलेजहरू छन् । आईटी कम्पनीहरू छन् । धेरै नहोलान्, तर अहिलेको अवस्था मात्र हेर्ने हो भने यो धेरै हो । 

अर्को अर्थ नलागेमा मलाई नेपालको अहिलेको अवस्था आजभन्दा २० वर्ष अघिको भारतको बैङ्लोर जस्तै लाग्छ । त्यतिखेरको बैङ्लोर ठ्याक्कै अहिलेको नेपाल जस्तै थियो ।

आईटी कलेज, आईटी जनशक्ति, भौतिक पूर्वाधार, अवसर यी सबैको तुलना गर्दा मलाई यस्तो लाग्छ । तर बैङ्लोरले यी क्षेत्रमा निकै राम्रो विकास गर्‍यो र अहिले धेरै माथि उठ्यो ।

शायद नेपाल पनि त्यो तहमा कुनै दिन पुग्न सक्छ । हुन त म पाँच वर्ष अघि नेपाल आउँदाको तुलनामा अहिले आईटी क्षेत्रमा धेरै विकास भइसकेको छ ।

मलाई लाग्छ, नेपालले त्यसका लागि अहिले गृहकार्य गरिरहेको छ । आईटी क्षेत्रमा फड्को मार्न अहिले नेपालसँग केही अब्बल पक्ष छन् । जस्तो: अमेरिकाको तुलनामा यहाँ काम गराउँदा शुल्क निकै कम लाग्छ ।

त्यसलाई नेपालले राम्ररी उपयोग गर्न सक्छ । यसबाट विदेशी साना कम्पनीहरूले नेपालमा काम दिन सक्छन् । त्यसो भएको खण्डमा यहाँका जनशक्तिले नेपालमै काम पाउँछन् । मैले सुनेको छु अहिले थुप्रै नेपाली आईटी कम्पनीले विदेशी ग्राहकका लागि काम गरिरहेका छन् । 

यसकारण भविष्यमा सेवा, वस्तु, अथवा दुवै कुरामा नेपालले विश्वमा आफ्नो नाम कोर्न सफल हुनेमा म धेरै आशावादी छु । तर यो कुरामा सरकारबाट, स्वतन्त्र संस्थाहरूबाट, व्यापारिक क्षेत्रबाट आईटी क्षेत्रलाई सहयोग भने हुनुपर्छ । अहिले नेपालको यो ‘ट्रान्जिट’को समयमा यहाँ हुन पाएकोमा ‍आफूलाई सौभाग्य ठान्छु ।

 

  • नेपालले वीर गोर्खाली भनेर विश्वमा एउटा बहादुर योद्धाको पहिचान बनाएको छ । के अब साइबर सुरक्षामा पनि वीर गोर्खाको पहिचान बन्न सक्ला ?

विश्व युद्धमा साहस र वीरताका साथ लडेर नेपालीहरूले जुन पहिचान बनाए, त्यो ऐतिहासिक छ । तर अब इन्टरनेटको युगमा फेरि त्यो पहिचान नेपालले बनाउन सक्छ/सक्दैन ठ्याक्कै भन्न गाह्रो छ ।

इन्टरनेट र रणभूमिमा गरिने आक्रमण फरक हो । युद्ध जित्न प्रतिरक्षासँगै आक्रमण गर्न माहिर हुनु पर्छ । साइबर सुरक्षामा आक्रमण गर्नमा भन्दा सुरक्षा गर्नमा बढी माहिर हुन आवश्यक छ ।

हुन त साइबर आक्रमण आफैंमा युद्धभन्दा कम छैन । तर यसमा देशको सेना बाहेक इन्टरनेटमा जोडिएका सबै नागरिकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।

फेरि यस क्षेत्रमा अन्य विकसित देश निकै अगाडि पुगिसकेका छन् । त्यसले पनि उत्तर दिन गाह्रै छ । तर नेपालले त्यो पहिचान बनाउन लाग्ने हो भने नसकिने भन्ने छैन । त्यसका लागि भने निकै गृहकार्य गर्नु पर्छ ।

 

  • नेपालमा स्वअध्ययन गरेर विद्यार्थीहरूले बग पत्ता लगाउने, इथिकल ह्याकिङ सिक्ने गर्ने गरेका छन् । कतिपय त कलेज पनि जाँदैनन् । त्यस्तोमा तपाईंलाई के लाग्छ, साइबर सेक्युरिटीको क्षेत्रमा काम गर्न विश्वविद्यालयको प्रमाणपत्र नै चाहिन्छ ?

सुरुमा यो भनौं कि औपचारिक रूपमा मैले पनि आईटी पढेको छैन । मैले विश्वविद्यालयमा पढेको विषय त कानून र इतिहास हो । तर रुचि प्रविधितिर भएकाले आफैं सिकेर यो क्षेत्रमा आएँ ।

आईटीको प्रशंसा गर्नुपर्ने अर्को कारण यो स्वअध्ययनबाट सिक्न सकिन्छ । मैले पनि कतिपय कुरा युट्युब भिडिओ हेरेरै सिकेको छु । केही कम्पनीहरूले काम गर्न विश्वविद्यालयको प्रमाणपत्र नचाहिने बताउने गर्छन् ।

सायद कतिले त्यसरी काम पनि गरिरहेका होलान् । आईटीमा त्यसरी काम गर्न नसकिने भन्ने हुँदैन । तर विशुद्ध अनुभव र सीप भने चाहिन्छ । सीप पनि छैन, प्रमाणपत्र पनि छैन भने काम पाउने सम्भावना न्यून हुन्छ ।

तर मैले सल्लाह दिनु परे विश्वविद्यालय जान भन्छु । किनकी स्वअध्ययन गर्न निकै कडा मेहेनत गर्नु पर्छ । अनुशासन चाहिन्छ । जो कोहीले त्यसरी अध्ययन गर्न सक्दैनन् । जबकी कलेज जाँदा निर्देशन दिने शिक्षक हुन्छन् ।

हौस्याउने साथी भाइ भेटिन्छन् । केही समस्या आउँदा तत्कालै समाधान पाउन सकिन्छ । प्रतिस्पर्धा हुने भएकाले आफ्नो स्तर पनि थाहा पाइन्छ । तर आफैं सिक्दा यी केही चिज हुँदैनन् ।

स्वअध्ययन गरेर बग पत्ता लगाउनु, साइबर सुरक्षामा काम गर्नु निकै चुनौतीपूर्ण काम हो । किनकी कसरी सिक्ने भनेर उचित दिशानिर्देश हुँदैन । त्यही दिशानिर्देशको काम नै विश्वविद्यालयले गर्ने हो ।  

खासमा यस्तो कुरा गर्नु भनेको अनुभव र प्रमाणपत्रको द्वन्द्व बाहेक केही होइन । स्वअध्ययन गर्दा अनुभव धेरै हुने एउटा तर्क छ भने विश्वविद्यालय जाँदा अनुभव कम हुन्छ भन्ने अर्को तर्क । कहिलेकाहीं अनुभवसँगै प्रमाणपत्र पनि महत्त्वपूर्ण भइदिन्छ ।

यसो सोचौं न, अनुभव वा प्रमाणपत्र मध्ये एउटा मात्र भएको राम्रो कि यी दुवै भएको राम्रो ? मलाई लाग्छ, यी दुवै दिने भनेको विश्वविद्यालय शिक्षाले हो । यसकारण मेरो छनोट स्वअध्ययन भन्दा पनि विश्वविद्यालय हुन्छ ।

 

  • तपाईं त कम्प्युटर फरेन्सिक तथा अनुसन्धानको क्षेत्रमा पनि काम गरिसकेको मान्छे । त्यो अनुभव र विज्ञताबाट विद्यार्थीले के के लाभ लिन सक्छन् ? 

ममा भएको ज्ञान सकेसम्म विद्यार्थीलाई दिउँ जस्तो लाग्छ । त्यसै अनुसार म मेरा अनुभव विद्यार्थीलाई खुबै सुनाउँछु । जुन पाठ्यक्रममा कतै हुँदैनन् । यसो हुँदा विद्यार्थीहरूले मेरो व्यवहारिक अनुभवबाट फाइदा उठाउन सक्छन् जस्तो लाग्छ ।

म जागिरमा हुँदा कसरी काम गर्थें ? कस्ता चुनौतीहरू आउँथे ? कसरी समाधान गर्न लाग्थें ? कस्ता प्रविधि प्रयोग गर्थें ? आफ्नो अनुभव सुनाउँदा यस्तै कुरा समेट्छु । यसले कक्षा रमाइलो हुनुका साथै विद्यार्थीले चाख दिएर सुन्छन् ।

मैले लगातार पाठ्यक्रममा भएको सैद्धान्तिक कुरा पढाए भने सबै विद्यार्थी निदाउने सम्भावना हुन्छ । उनीहरूले मलाई राम्ररी नसुन्न सक्छन् । तर अनुभवसहित कक्षा लिंदा साँच्चै रमाइलो हुन्छ । मलाई पनि एक जनाले भन्ने र अरुले सुन्ने कक्षा मनै पर्दैन ।

यसले गर्दा कोही भविष्यमा कम्प्युटर फरेन्सिकको क्षेत्रमा काम गर्न जान्छन् वा साइबर सुरक्षामा काम गर्न जान्छन् भने सायद मैले सुनाउने अनुभवहरू पाठ्यक्रमभन्दा बढी उपयोगी हुन्छ जस्तो लाग्छ । किनकी अनुभव व्यावहारिक हुन्छ । 

फेरि म नेपाल आएर पढाउनुलाई कतिपयले ‘अन्तर्राष्ट्रिय एक्सपोजर’ मान्छन् । केही अर्थमा त्यो कुरामा म पनि सहमत छु । किनकी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय जगतमा यो क्षेत्रमा काम कसरी हुन्छ भनेर थाहा पाउँछन् ।

अध्ययन पछि कोही विदेशमा गएर काम गर्लान् । उनीहरूलाई त झन् त्यो अनुभवले निकै सहयोग पुग्छ । अमेरिकामा मेरो एउटा आफ्नै सानो आईटी कम्पनी पनि छ । विद्यार्थीले कतै अवसर पाएनन् भने मैले त्यहाँ ठाउँ दिन सक्छु । 

अहिले सफ्टवेरिकामा म साइबर सुरक्षाको कक्षा लिन्छु । विशेष गरेर मेरो कक्षा ‘भविष्य केन्द्रित’ हुन्छ । उनीहरूलाई भविष्यमा चाहिने सीप सिकाउन म कोसिस गरिरहेको हुन्छु ।

साइबर सुरक्षाको परम्परागत सीप भन्दा पनि उनीहरूले ती सीपलाई कसरी आफू अनुकूल बनाएर जागिर पाउन र त्यसमा टिकिरहन सक्छन् भन्ने कुरा सिकाइरहेको हुन्छु । छोटकरीमा बुझ्दा काम गर्न योग्य बनाउन कक्षा दिन्छु ।

अब भविष्यमा केही विशेष सीप सिकाउने र सर्टिफिकेसन ‍तहको ‍कक्षा लिने सोच छ । सायद मबाट विद्यार्थले यस्तै यस्तै लाभ लिन सक्लान् । विद्यार्थीले मबाट जतिसक्दो लाभ लिऊन् भन्ने पक्षमा छु ।

 

  • कम्प्युटर फरेन्सिक तथा अनुसन्धान जस्ता क्षेत्रको अनुभवको आधारमा नेपालमा भइरहेका साइबर अपराधलाई कसरी हेरिरहनु भएको छ ? के अमेरिकामा हुने साइबर अपराध र यहाँ भइरहेका अपराध एउटै प्रकृतिका छन् ?

नढाँटी भन्दा म यसै क्षेत्रको व्यक्ति भए पनि नेपालको अवस्थाबारे त्यति बुझेको छैन । तर पनि पत्रपत्रिकाबाट मैले केही कुराहरू भने हेरेको छु ।

साइबर अपराध त्यस्तो अपराध बनिसक्यो कि इन्टरनेट जबसम्म रहन्छ, त्यस बेलासम्म यो रहिरहन्छ । नेपालमा पनि इन्टरनेटको पहुँच बढिरहेको छ । यसो हुँदा ढुक्कका साथ भन्न सकिन्छ कि नेपालमा पनि साइबर अपराध बढिरहेको छ । 

सिद्धान्तत: तपाईं हामीले चलाउने फोन, कम्प्युटर र इन्टरनेट प्रयोग गरेर गरिने अपराध साइबर अपराध हो । अब सोच्नुस् नेपालमा कतिले फोन, कम्प्युटर र इन्टरनेट प्रयोग गरिरहेका छन् ? के ती प्रयोग गर्ने सबैको सोच सधैं सकारात्मक मात्रै हुन्छ त ?

हामीले राम्रो उद्देश्यले चलाउने डिभाइस  केही क्षणमै अपराधको साधन हुन सक्छ । नेपालमा कस्ता खालका साइबर अपराध भइरहेका छन् भनेर विश्लेषण गर्न मसँग पर्याप्त तथ्याङ्क छैन ।

सायद अमेरिका र नेपालमा हुने साइबर अपराधमा केही समानता र भिन्नता हुन सक्छन् । साइबर बुलिङ, फिशिङ, मालवेयर, ह्याकिङमा केही समानता हुन सक्छन् ।

कति परिणाममा भइरहेको छ भन्ने कुरामा चाहिं भिन्नता हुन सक्छ । अथवा साइबर अपराध गर्नेको मानसिकतामा भिन्नता होला । यसबाट बच्न कति सतर्कता अपनाइएको छ भन्ने फरक हुन सक्छ ।

प्राय: ह्याकरहरूले पैसा लुट्न, राजनीतिक एजेन्डा फैलाउन, आफ्नो अस्तित्व देखाउन गैरकानूनी क्रियाकलाप गर्ने गर्छन् । समग्रमा भन्दा विश्वमा हुने सबै साइबर अपराधको प्रकृति समान हुन्छ, तर उद्देश्य फरक हुन सक्छ ।

हामीले बुझ्नु पर्ने अर्को कुरा, साइबर अपराध अमेरिका वा नेपालको मात्र समस्या होइन । यो इन्टरनेट प्रयोग गर्ने सबैको साझा समस्या हो । सार्वजनिक इन्टरनेट चलाउने जो कोही जतिखेर पनि यसको सिकार बन्न सक्छन् । यसकारण सबैको साझा मुद्दा यसबाट कसरी जोगिने र नियन्त्रण गर्ने भन्ने हुनु पर्छ । 

  • नेपालमा साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब, साइबर ब्युरो जस्ता निकायहरू छन् । तपाईं त्यतातिरको सम्पर्क कत्तिको ?

दु:खका साथ भन्नु पर्दा ‍यस क्षेत्रका कोहीसँग पनि मेरो प्रत्यक्ष चिनजान छैन । सम्पर्क नै छैन । म त यस क्षेत्रको सेवा निवृत्त मान्छे हुँ । म यही क्षेत्रमा नै काम गर्छु भनेर यहाँ आएको पनि होइन । म त अर्कै उद्देश्यले यहाँ आएको हुँ ।

यदि डिजिटल फरेन्सिकको क्षेत्रमा नै काम गर्ने भनेर आएको भए सम्पर्क हुन्थ्यो कि ! तर यदि कोही मकहाँ आएर नेपालका लागि यस क्षेत्रमा केही गरौं भन्छन् भने म तयार नै छु । तर म आफैं खोजेर भने जोडिन जान्न ।

अब विद्यार्थीलाई सिकाउने मामिलामा म डिजिटल फरेन्सिकबारे विभिन्न कार्याशाला गराइरहेको हुन्छु । महँगो प्रविधि भएकाले उनीहरूलाई प्रत्यक्ष सिकाउन त तत्काललाई सम्भव छैन । तर अहिलेको अवस्थामा मैले सकेको गरिरहेको छु । 

 

  • डिजिटल फरेन्सिकको क्षेत्रमा नेपालको अवस्था कस्तो रहेको पाउनु भएको छ ? कुनै पनि अपराध अनुसन्धानमा यो कत्तिको महत्त्वपूर्ण हुन्छ?

मैले अघि पनि भनें, विभिन्न उद्देश्यले अपराध गरिन्छ । यसको तह दैनिक उकालो चढिरहेको छ । यस्तो अवस्थामा कुनै पनि देशका लागि डिजिटल फरेन्सिक ल्याब अपरिहार्य जस्तै हुन्छ ।

अब नेपालमा यस क्षेत्रका कोही सँगपनि चिनजान नभएकाले ठ्याक्कै अवस्था के छ भनेर भन्न सक्दिनँ । तर नेपालमा अपराध सम्बन्धी अनुसन्धान गर्न यो आवश्यक छ ।

सामान्यतया एउटा डिजिटल फरेन्सिक ल्याबमा साइबर अपराधी विरुद्ध प्रमाण जुटाउने काम गरिन्छ । तर यो निकै महँगो प्रविधि हो । सायद नेपालमा पनि यसको अवस्था राम्रै भएको हुनुपर्छ ।

इन्टरनेटको पहुँच बढ्दै जाँदा यस्ता ल्याब र त्यसका लागि दक्ष जनशक्ति निकै आवश्यक छ । किनकी कुनै पनि अपराधीलाई सजाय दिन यसले अदालतलाई सहयोग गर्छ । 

विशेषत: डिजिटल फरेन्सिक परीक्षण तीन प्रकारले गरिन्छ । पहिलो, अदालतले डिजिटल प्रमाण मागेपछि कानूनी हिसाबले ल्याबमा काम सुरु गरिन्छ । धेरै जसो कम्प्युटर फरेन्सिक ल्याबमा यसरी नै काम हुन्छ । 

दोस्रो, डिजिटल डिभाइसलाई परीक्षण गर्न चाहेका व्यक्तिहरू ल्याबमा आउँछन् । प्राविधिकले उनीहरूको आवश्यकता अनुसार सेवा दिन्छन् ।  

तेस्रो, निजी रूपमा कुनै पनि कम्पनी वा संस्थाले त्यस्ता ल्याब सञ्चालन गर्छन् । उनीहरूले अध्ययन/अनुसन्धान गर्ने बाहेक ग्राहकका लागि काम गर्न सक्छन् । मलाई थाहा छैन, नेपालमा कसरी काम भइरहेको छ ।

 

  • यस क्षेत्रमा आउन चाहने विद्यार्थीहरूको भविष्य कस्तो छ ?

यसै क्षेत्रको एउटा प्राविधिक भएकाले  ढुक्कका साथ भन्न सक्छु, कुनै पनि विद्यार्थीले यस क्षेत्रमा आउन चाहे उसको भविष्य उज्ज्वल हुन्छ । तर यो क्षेत्र पूरै प्रा‍विधिक मात्र नभई केही अन्य विषयसँग जोडिएकाले उनीहरूले ती विषयमा पनि ज्ञान राख्नु पर्छ ।

उदाहरणका लागि: गोपनीयता सम्बन्धी जानेको राम्रो हुन्छ । अहिले यस्ता थुप्रै निजी कम्पनीहरू छन्, जसले जागिर दिन्छन् र राम्रै पारिश्रमिकमा राख्छन् । तर बुझ्नु पर्ने अर्को कुरा के छ भने विद्यार्थीहरूले तत्कालै काम नपाउन सक्छन् । जागिर पाउन केही समय लाग्न सक्छ । 

त्यस्तै प्रविधि परिवर्तन भइरहने भएकाले त्यसमा अपडेट भइ रहनु पर्छ । यो क्षेत्रमा आफूलाई स्थापित गर्न उनीहरूले आफ्नो नेटवर्किङ बढाउनु पर्छ । त्यसो हुँदा तपाईंको बारे अरुले थाहा पाउँछन् । त्यो निकै फाइदाजनक हुन्छ ।

  • यो क्षेत्रमा विद्यार्थीहरू कसरी आउन सक्छन् ? यस क्षेत्रमा राम्रो गर्न उनीहरूलाई तपाईंका केके सुझाव हुन सक्छन् ?  

कोही पनि व्यक्ति डिजिटल फरेन्सिक क्षेत्रमा तीन तरिकाबाट आउन सक्छ । पहिलो, यस सम्बन्धी औपचारिक कार्यक्रममा भर्ना हुनु । तर समस्या के छ भने ठ्याक्कै यही कोर्स पढाउने विश्वविद्यालयहरू थोरै छन् । 

अमेरिकामा पनि केही विश्वविद्यालयहरूले मात्र यस्तो कोर्स सञ्चालन गर्छन् । तर साइबर सुरक्षा, कम्प्युटर साइन्स जस्ता कोर्स अध्ययन गरेर पनि यस क्षेत्रमा आउन सकिन्छ । दोस्रो, सर्टिफिकेसन प्राप्त गर्नु । मैले पनि यही गरेको हुँ । 

तर यो अलि चुनौतीपूर्ण पनि छ । किनकी आत्मप्रेरित व्यक्तिले मात्र यस्तो गर्न सक्छन् । यो भनेर मैले आफ्नै प्रशंसा गरेको होइन । किनकी त्यहाँ सिकाउनका लागि कुनै पनि प्रशिक्षक हुँदैनन् ।

आफैं सीप विकास गरेर त्यसलाई परीक्षण गर्नुपर्ने हुन्छ । अहिले त्यस्ता थुप्रै सर्टिफिकेसन उपलब्ध छन् । तेस्रो, यस क्षेत्रका कोही कर्मचारीसँग नजिक हुनु हो । उनीहरूलाई केही सहयोग गर्दै यस क्षेत्रको अनुभव बटुल्न सकिन्छ । 

फेरि डिजिटल फरेन्सिक आफैमा विशाल क्षेत्र हो । ठुल्ठुला डिजिटल फरेन्सिक ल्याबमा फरक फरक विषयका लागि फरक फरक विज्ञ हुन्छन् । जस्तो: मैले विन्डोजमा आधारित कम्प्युटर सिस्टम बारे फरेन्सिकको कक्षा लिएँ ।

अब मलाई म्याकको परीक्षण गर्नु परे गाह्रो हुन्छ । तर अपरेटिङ सिस्टमले कसरी काम गर्छ ? कम्प्युटरको आधारभूत सिद्धान्त के हो ? कम्प्युटरमा सूचनाहरू कसरी भण्डारण हुन्छन् ? भन्ने जस्ता बुझाइ भने साझा हुन्छन् । यसो हुँदा म्याकमा पनि काम गर्न केही सहज त हुन्छ । तर विज्ञ भने भइँदैन ।

यसकारण हरेक विषयको विज्ञ हुनु ती विषयबारे आधारभूत ज्ञान लिनु राम्रो मानिन्छ । त्यसो हुँदा फरक फरक विधाबारे थाहा पाउन सकिन्छ । सिद्धान्तत: एउटै हुन्छन् । मुख्य फरक भनेको गहिराइ मात्र हुन्छ । यो कुरा लागु गरे राम्रो गर्न सकिन्छ ।

 

  • अबको योजना के छ ? यतै बसेर शिक्षणमै लागिरहने कि आफ्नो देश फर्कनु हुन्छ ?

अहिले म यहाँ आफ्नै कर्म गरेर बाँचिरहेको छु । यसकारण जहाँ छु, खुसी छु । अहिले कलेजसँग पनि एक प्रकारको सम्झौता छ । त्यो सम्झौताले मलाई अर्को वर्षसम्म पनि नेपालमा राख्न सक्छ । जहिले त्यसको समय सकिन्छ, सायद त्यसपछि मात्र म अर्को योजना सोच्छु । 

 

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १४:४१