close

'फेक लाइभ'मा समर्थक झुक्किएपछि गायक शिव परियार हैरान, भन्छन्ः गिरोह नै लागे जस्तो छ

टेकपाना टेकपाना

साउन १८, २०८० १२:५२

'फेक लाइभ'मा समर्थक झुक्किएपछि गायक शिव परियार हैरान, भन्छन्ः गिरोह नै लागे जस्तो छ

काठमाडौं । आफ्नो नाममा फेक आईडी बनाएर फेक लाइभ गर्दै ठगी हुने क्रम बढेपछि गायक शिव परियार हैरान भएका छन् । उनले आफ्ना समर्थकहरूलाई यस किसिमको ठगी धन्दाको पछाडि नलाग्न आग्रह गर्दै आफ्नो भेरिफाइड अकाउन्टमा मात्रै विश्वास गर्न भनेका छन् ।

पछिल्ला केही दिन यता गायक परियारको नाममा खोलिएका नक्कली अकाउन्टबाट फेसबुकमा फेक लाइभ गर्ने क्रम चलिरहेको छ । जसमा उनका पुराना लाइभ भिडिओ ब्लेन्ड गरी वास्तविक लाइभ जस्तो देखिने गरी सामान्य फेसबुक प्रयोगकर्तालाई ठग्ने कार्य भइरहेको हुन्छ ।

"यस किसिमका गतिविधिमा मेरो पुरानो लाइभ भिडिओ प्रयोग गरेको कुरामा घोर विरोध र भर्त्सना गर्दछु," उनले भनेका छन्, "ठगहरू हो, यो कार्य तुरुन्त बन्द गर, अन्यथा कानूनी बाटो रोज्न बाध्य हुनेछु ।"

उनले आफ्ना शुभ चिन्तकहरूलाई आँखा चिम्लिएर ठगी धन्दाको पछि हात पाउ फालेर दगुर्नु अघि फेक वा रियल अकाउन्ट के हो बुझ्न आग्रह गरेका छन् । "फेरि पनि यस्तै प्रकृतिका लाइभ भिडिओ आए त्यस्तो फेसबुक अकाउन्टलाई बन्द गर्न रिपोर्ट गर्नुहोस्, सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु ।"

आधिकारिक फेसबुक अकाउन्टबाटै सचेत गराएका गायक परियारले त्यसका बावजुत पनि आफ्ना शुभचिन्तक फेक लाइभमा लाइक, कमेन्ट र शेयर गर्दै बसेको देखेर चिन्ता व्यक्त गरेका छन् । "हे परम शुभ चिन्तक ज्यूहरू कम्तिमा फेक अकाउन्ट र रियल अकाउन्ट त चिन्नुहोस् । साइडमा पैसाको बिटो देख्ने बित्तिकै लाइभमा हाम नपाल्नुहोस् ।"

यस अघि यसैगरी काठमाडौं महानगरका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङको नाममा फेक अकाउन्ट खोलेर फेक लाइभ गर्ने प्रवृत्ति देखिएको थियो । अर्का गायक हेमन्त शर्माको कमेन्टको रिप्लाई दिंदै गायक परियारले गिरोह नै सक्रिय रहेको आशङ्का व्यक्त गरेका छन् । 

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १२:५२