close

सुपर एप विच्याटमा मेरो अनुभव र एलन मस्कको ‘एक्स’

निरज भुसाल

साउन १८, २०८० १७:१३

सुपर एप विच्याटमा मेरो अनुभव र एलन मस्कको ‘एक्स’

हालै एलन मस्कले ट्वीटरलाई चीनको सुपर एप विच्याट जस्तै हरेक कुराका लागि एउटै एपको अवधारणामा विकास गर्ने योजना अगाडि सारेका थिए । चीनमा बसेको र दिनहुँजसो विच्याट प्रयोग गरेको अनुभवको आधारमा उक्त एप कसरी एकदमै सहज र लोभलाग्दो बन्यो भन्ने विषयमा यहाँ मेरा केही अनुभव राख्न चाहन्छु । 

चीनमा बस्दा विच्याटजस्तो सुपर एपले दैनिक जीवनलाई कसरी सहज बनाउँछ भन्ने कुराको अनुभव आफैंले गर्न पाएँ । मेसेजिङका अलावा विच्याटले भुक्तानी सेवा, ट्याक्सी बुकिङ, फुड डेलिभरी, युटिलिटी बिल पेमेन्ट, शपिङ, ट्राभल टिकेटिङ लगायतका थुप्रै सेवा दिँदै आएको छ । यो दैनिक जीवनका लागि एकै ठाउँमा सबै सामान पाउने पसल जस्तै हो ।

एपभित्रै रहेर साथीहरूसँग च्याट गर्न सकिन्छ, कफी मगाउन सकिन्छ, रेलको टिकेट बुक गर्न मिल्छ, बिजुलीको बिल तिर्न पाइन्छ अनि विश्वविद्यालयका समूहगत छलफलमा सहजै भाग लिन सकिन्छ । विच्याटबाट भुक्तानी गर्न एकदमै सजिलो छ, खाना, ट्याक्सी, वा अन्य कुनै किनमेलका लागि केवल क्यूआर कोड स्क्यान गरे पुग्छ ।

विच्याट पे यति राम्रोसँग प्रयोगकर्ताका बैंक खातासँग आवद्ध गरिएको कि, विच्याट पेमा ट्याप गरेकै भरमा तुरुन्तै रकम लोड हुन्छ । अहिले त यसमा अन्तर्राष्ट्रिय भिसा र मास्टरकार्ड समेत लिङ्क गर्न सकिन्छ । जसले  विच्याट पेलाई विश्व्यापी पहुँचमा पुर्‍याएको छ । चीनमा रहँदा म मेरो फोनमा रहेका डिफल्ट एपभन्दा बढी विच्याट प्रयोग गर्थें ।

त्यहाँ मान्छेहरूले मुस्किलसँग एक अर्काको फोन नम्बर सोध्छन्- बरु 'तपाईंको विच्याट आईडी के हो ?' भनेर सोध्ने प्रचलन छ । विच्याट त्यहाँको दैनिक सञ्चार सम्पर्कमा कति धेरै स्थापित छ भन्ने कुरा यसैबाट थाहा हुन्छ । सेन्सरशिप र गोपनीयता सरोकारको विषय बनिरहँदा एलन मस्कले त्यसैलाई बुझेर दैनिकीसँग सम्बन्धित सेवा र सामाजिक सञ्जाललाई एउटै प्लेटफर्ममा ल्याउनुका अपार सम्भावना देखेका छन् ।

यसका लागि केवल विच्याटका दैनिक एक अर्ब बढी मासिक सक्रिय प्रयोगकर्तालाई हेरे पुग्छ । डिजिटल भुक्तानीको सुविधा थप्ने कार्यले प्रयोगकर्तालाई एक्स (पहिलेको ट्वीटर) मा अडाइराख्न मुख्य भूमिका खेल्नेछ । चीनमा रहँदाको मेरो अनुभवले पनि के देखाउँछ भने निर्वाध किसिमको भुक्तानीले विभिन्न सेवाहरूलाई बाँधिराख्ने काम गर्छ ।

नियम तथा कानूनले विच्याटलाई जस्ताको तस्तै उतार्न चुनौतिको विषय हुन सक्छ । तर त्यसको पारिस्थितिक प्रणालीबाट अभिप्रेरित भएर अगाडि बढ्दा एक्सलाई अपरिहार्य एपको रूपमा स्थापित गर्न सक्छ । एक्स सुपर एप बनाउने एलन मस्कको योजनालाई लिएर म निकै उत्सुक छु । त्यसो भएको खण्डमा यसले विश्वभरका प्रयोगकर्ताका लागि अपार किसिमको उपयोगिता र सहजता ल्याउनेछ । त्यसका लागि कम्पनीसँग क्षमता छ, अब त्यसलाई कार्यान्वयनमा लैजाने बेला हो  ।  ​​​​​​​

प्रस्तुत ब्लग हालै अध्ययनकाे शिलशिलामा चीन गएर फर्किएका निरज भुसालको मिडियममा प्रकाशित सामग्रीको अनुवादित तथा सम्पादित रूप हो ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १३:२४