close

नपुगेका ठाउँमा फोरजी सेवा दिन एनसेलले थप्यो नयाँ ३३८ ओटा बीटीएस टावर

टेकपाना टेकपाना

साउन २५, २०८० २२:४०

नपुगेका ठाउँमा फोरजी सेवा दिन एनसेलले थप्यो नयाँ ३३८ ओटा बीटीएस टावर

काठमाडौं । माेबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा देशभर ३३८ ओटा टावर थपेको छ । आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा एनसेलले नयाँ बीटीएस अर्थात् मोबाइल टावरहरू जडान गरेको हो ।

यसअन्तर्गत कम्पनीले नेपालका तराई, पहाड र हिमाली भेगका ५५ ठाउँमा उक्त सङ्ख्यामा टावर थपेको छ । उत्तरगया गाउँपालिका रसुवा, ठाटीकाँध गाउँपालिका दैलेख, दुर्गाथली गाउँपालिका बझाङ, जन्तेढुङ्गा गाउँपालिका खोटाङका ग्रामीण इलाकाहरू र इनरुवा नगरपालिकाका नयाँ स्थानमा कम्पनीले पहिलो पटक बीटीएस टावर जडान गरेको जनाएको छ ।

“एनसेलका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो," एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, "हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौं । आफ्नो नेटवर्कमार्फत हरेक नेपालीलाई जोड्ने हाम्रो लक्ष्यमा हामी प्रतिबद्ध छौं । उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरू र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न हामी निरन्तर काम गरिहेका छौं ।”

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै एक हजार ४५० मोबाइल टावरहरूको स्तरोन्नति पनि गरेको छ । यसबाहेक एनसेलले देशका विभिन्न महानगरपालिका र उपमहानगरपालिकामा रहेका आफ्ना टावरहरूको स्तरोन्नति गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ ।

ग्राहकहरूलाई फोरजी अन्तर्गत उच्च गतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभर एनसेलको चार हजारभन्दा बढी फोरजी टावरहरू सञ्चालनमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८० २२:४०