close

रिब्रान्डिङ सहित पुनः सञ्चालनमा आयो बन्द भइसकेको टुटल, भोलिदेखि राइड लिन सकिने

टेकपाना टेकपाना

भदौ १९, २०८० १६:४९

रिब्रान्डिङ सहित पुनः सञ्चालनमा आयो बन्द भइसकेको टुटल, भोलिदेखि राइड लिन सकिने

काठमाडौं । नेपाली राइड शेयरिङ प्लेटफर्म टुटल नयाँ व्यवस्थापन टोलीका साथ बजारमा आएको छ । ज्याप सर्भिसेस प्रालिले टुटल ब्रान्डमा पुनः बजारमा राइड शेयरिङ सेवा ल्याएकाे हाे ।

डेलिभरी सेवा उपलब्ध गराउने कम्पनीका रूपमा परिचित ज्यापले राइड शेयरिङ बजारमा टुटलको पुनरागमन भएको जानकारी दिएकाे छ । “टुटल व्यवसायमा फर्किएको छ,” कम्पनीकाे विज्ञप्तिमा लेखिएको छ, “पुन: जीवन्त र यसको परिमार्जन गरिएको एप तथा परिष्कृत सेवाहरूका साथ सहरी गतिशीलतालाई पुन: परिभाषित गर्न टुटल तयार छ ।”

नयाँ व्यवस्थापन टिममार्फत टुटलले राइड शेयरिङको अनुभव थप परिष्कृत र किफायती बनाउने प्रतिवद्धता जनाएको छ । यसका लागि कम्पनीले गत शुक्रबार राइडरहरूका लागि टुटल ड्राइभ एप सार्वजनिक गरेको थियो ।

टुटल प्रयोग गर्ने सेवाग्राहीले भने भोलि अर्थात् भदाै २० गतेदेखि एपमार्फत राइड सेवा लिनसक्ने ज्याप सर्भिसेस प्रालिका सहसंस्थाक रुबिक जाेशीले बताए । उनका अनुसार हालसम्म दुई हजार बढी राइडर सिस्टममा जोडिएका छन् । औपचारिक रूपमा सेवा सुरु गरेपछि राइडहरू थप जोडिने उनको भनाइ छ । साथै टुटललाई राइड शेयरिङ प्लेटफर्मका अतिरिक्त समुदाय लक्षित विभिन्न सेवामा प्रयोग गर्ने योजना ल्याएको उनले सुनाए ।

टुटलमा हाल राइडरहरूकाे प्राेत्साहनका लागि निःशुल्क दर्ताकाे सुविधा दिइएकाे छ । एप सार्वजनिक भएको अवसरमा कम्पनीले सुरुवाती एक महिनाका लागि बाइक राइडरबाट १५ प्रतिशत र क्याब ड्राइभरबाट १२ प्रतिशतमात्र कमिसन लिने निर्णय गरेकाे कम्पनीका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेयस कृष्ण श्रेष्ठले बताए ।

एक महिनापछि भने बाइकबाट २० प्रतिशत र क्याबबाट १५ प्रतिशत कमिसन लिने बताइएकाे छ । पूर्णकालीन राइड सेवामा संलग्न राइडहरूबाट कम कमिसन लिने र कम्पनीमार्फत राइडरहरूलाई विशेष स्किम प्रदान गर्ने याेजना ल्याएकाे सीईओ श्रेष्ठले सुनाए ।

"सहरी आवागमनलाई रूपान्तरण गर्ने नयाँ जोशका साथ टुटललाई पुन: प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौं," श्रेष्ठले भने, "हाम्रो नयाँ व्यवस्थापन टोलीले प्रयोगकर्ताको सन्तुष्टि र सुविधालाई अग्रस्थानमा राखेर परिष्कृत अनुभवलाई सावधानीपूर्वक तयार गरेको छ ।” 

टुटलको पुनरागमनले प्रयोगकर्ताहरूको आवश्यकतालाई वास्तवमै बुझ्ने र अनुमान गर्ने उत्कृष्ट सवारी साझेदारी सेवा प्रदान गर्ने आफ्नो समर्पणलाई प्रतिनिधित्व गर्ने उनले बताए । 

नयाँ व्यवस्थापनसँगै आएको टुटलले युजर एक्सपिरियन्सलाई बढावा दिएकाे र सवारी बुकिङ सहज बनाउने कम्पनीकाे दाबी छ । नयाँ एपमार्फत सेवाग्राहीले बिना कुनै झन्झट सवारी बुक गर्न सक्ने कम्पनीका सहसंस्थापक चिफ अपरेटिङ अफिसर केयुष श्रेष्ठले बताए ।

उनका अनुसार प्रयोगकर्ताले राइड बुक गरिसकेपछि धेरै समय पर्खिनु नपर्ने, राइडरले छिटो पिकअप गर्ने, सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्ने गरी एप विकास गरिएकाे छ । 

टुटल नयाँ व्यवस्थापनकाे स्वामित्वमा आएसँगै राइडर र ग्राहकले पुरानाे टुटल एप अपडेट गरी नयाँ एप प्रयाेग गर्न सक्नेछन् । नयाँ प्रयाेगकर्ताले भने गुगल प्लेस्टाेर र आईओएस एपस्टोरबाट टुटल एप इन्स्टल गर्नुपर्छ ।

ज्याप सर्भिसेस प्रालिले टुटलका लागि पुरानो कम्पनीको फेसबुक पेज तथा वेबसाइट आफ्नो पहुँचमा लिएको छैन । त्यसको सट्टामा डटकम डटएनपी डोमेन एक्सटेन्सनको वेबसाइट र टुटल एनपी युजरनेम सहितको सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर र इन्स्टाग्राम) अकाउन्ट खोलिएको छ ।

त्यसबाहेक पनि ज्यापले पुरानो लोगोलाई परिमार्जन गरी नयाँ लोगो बनाएको छ । पुरानो लोगोलाई परिमार्जन गरी बीचका दुई ओटा ‘ओ’ (O) अक्षरलाई छड्के इन्फिनिटीको साइन राखिएको छ । त्यस्तै ‘टी’ (T) र ‘ई’ (E) को अक्षरमा पनि नयाँ डिजाइन राखिएको छ ।

यसैगरी पुनाको ट्यागलाइन ‘टुगेदर वि मुभ’ (Together we move) थियो भने नयाँ ट्यागलाइन ‘टुवार्ड्स योर डेस्टिनेसन’ (Towards your destination) राखिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १७:२०