close

नेपालका यी स्थानमा १५ ओटा फास्ट चार्जिङ स्टेसन निर्माण गर्दै बीवाईडी

टेकपाना टेकपाना

भदौ २६, २०८० १३:१०

नेपालका यी स्थानमा १५ ओटा फास्ट चार्जिङ स्टेसन निर्माण गर्दै बीवाईडी

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले नेपालका विभिन्न १५ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । सोमवार राजधानीमा बीवाईडी डल्फिन सार्वजनिक गर्ने कार्यक्रममा बोक्दै साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले याे वर्षभित्र थप १५ ओटा चार्जिङ स्टेसन थप गर्न लागेको जानकारी दिए ।

श्रेष्ठका अनुसार हाल नेपालका २० ओटा स्थानमा बीवाईडीको फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन् । “अहिले हामीसँग २० ओटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन्,” उनले भने, “हामी छिट्टै नै २०२३ भित्र थप १५ फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउनेछौं ।”

श्रेष्ठका अनुसार हाल काठमाडौं, भक्तपुर, ललितपुर, बर्दिबास, इटहरी, विराटनगर, बिर्तामोड, चितवन, हेटौडा, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, पोखरा, बाग्लुङ र डुम्रेमा २० ओटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन् ।

कम्पनीले २०२३ भित्र भक्तपुर, सुर्खेत, बेनी, बिरगञ्ज, हेटौडा, जनकपुर वा लाहनमा १५ ओटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको छ । चार्जिङ स्टेसनसँगै कम्पनीले हाल आठ ओटा सेल्स नेटवर्क सञ्चालनमा ल्याएको छ भने यो सङ्ख्या बढाएर २०२३ भित्र १७ पुर्‍याउने लक्ष्य राखेकाे छ । 

कम्पनीका अनुसार नेपालमा ७०० भन्दा बढी बीवाईडीका विद्युतीय सवारीहरू बिक्री भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८० १३:२६